Technology Khabar ४ पुष २०८२, शुक्रबार
काठमाडौं ।
अष्ट्रेलियाका मोबाइल सेवा प्रदायकहरूले आगामी केही वर्षमा म्याद सकिने मोबाइल स्पेक्ट्रम लाइसेन्स नवीकरणका लागि अधिकतम ७.३ अर्ब अष्ट्रेलियन डलर तिर्नुपर्ने भएको छ। यो रकम उनीहरूले अपेक्षा गरेकोभन्दा केही अर्ब डलर बढी हो।
लामो समयसम्मको छलफल र बहसपछि अष्ट्रेलियन कम्युनिकेसन्स एन्ड मिडिया अथोरिटी (एसीएमए) ले बुधबार देशका तीनवटा मोबाइल नेटवर्क अपरेटर र एनबीएनको वायरलेस भागले प्रयोग गर्दै आएका हालका लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ। यसका लागि स्पेक्ट्रमको उचित बजार मूल्य लागू गरिने एसीएमएको भनाइ छ।
सैद्धान्तिक रूपमा लाइसेन्स नवीकरणले अपरेटरलाई निलामीको अनिश्चितताबाट जोगाउने भएकाले सकारात्मक मानिन्छ। तर समस्या के हो भने एसीएमएले तय गरेको रकम यसअघि संकेत गरिएको भन्दा धेरै बढी छ।
सार्वजनिक परामर्श र स्पेक्ट्रम अर्थशास्त्रसम्बन्धी संस्था डटइकनको समीक्षापछि एसीएमएले कुल ७.३ अर्ब डलरको मूल्यांकन गरेको हो। यो प्रारम्भिक अनुमान गरिएको ५ अर्बदेखि ६.२ अर्ब डलरभन्दा धेरै हो। न्यूनतम अनुमानसँग तुलना गर्दा मात्रै पनि यो २.३ अर्ब डलरले बढेको छ।
एसीएमएका अनुसार मूल्यांकन विधि परिवर्तन र तुलना गरिने डाटासेट विस्तार गरिएकाले रकम बढेको हो जुन डटइकनको सुझावमा आधारित छ।
एसीएमएकी अध्यक्ष नेरिडा ओ’लफलिनले लाइसेन्स नवीकरणले उद्योग र उपभोक्तालाई निश्चितता दिने र नयाँ प्रविधि समेट्दै हालको मोबाइल सेवा निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने बताएकी छन्। उनले यो निर्णय उपभोक्ता, समुदाय र अर्थतन्त्रको हितमा रहेको दावी गरेकी छन्। तर उद्योग पक्षको चासो भने उनको भनाइमा उल्लेख गरिएको छैन।
यस निर्णयप्रति टेलिकम कम्पनीहरू असन्तुष्ट देखिएका छन्। हालसम्म औपचारिक प्रतिक्रिया नआए पनि टेल्स्ट्रा, अप्टस र टीपीजी टेलिकमले उच्च शुल्कले नेटवर्क विस्तार, सेवा गुणस्तर र नवप्रवर्तनमा लगानी घट्ने प्रतिक्रिया दिएका छन्।
टीपीजी टेलिकमका प्रवक्ताले भनेका छन्, “बढाइएको स्पेक्ट्रम शुल्कमा खर्च हुने प्रत्येक डलर राम्रो कभरेज, विश्वसनीयता वा नवप्रवर्तनमा लगानी हुन पाउँदैन।”
टेलिकम्स डटकमका अनुसार अष्ट्रेलियन टेलिकम्युनिकेसन्स एलायन्सका प्रमुख कार्यकारी लुक कोलम्यानले पनि एसीएमएको प्रारम्भिक अनुमान नै अपेक्षाभन्दा ५० प्रतिशत बढी रहेको भन्दै अहिलेको वृद्धिले सरकारलाई बढी आम्दानी भए पनि उपभोक्तालाई कम कभरेज मिल्ने बताए।
मोबाइल उद्योगमा स्पेक्ट्रम शुल्क घटाउनुपर्ने बहस नयाँ होइन। अपरेटरहरूले सधैं कम शुल्क भए बढी लगानी हुने र उच्च शुल्कले नेटवर्क विकासमा असर पार्ने तर्क गर्दै आएका छन्।
एसीएमएले भने केही लाइसेन्सधारीले बजार मूल्यभन्दा कम तिर्न चाहेको स्वीकार गर्दै सार्वजनिक सम्पत्तिको उचित मूल्य लिनु उचित भएको बताएको छ। परामर्शका क्रममा केही पक्षले नवीकरणको सट्टा निलामी गर्नुपर्ने सुझाव पनि दिएका थिए। तर एसीएमएले वर्तमान बजारमा निलामीले लाभदायक नतिजा नदिने र प्रतिस्पर्धामा असर पर्न सक्ने निष्कर्ष निकालेको छ।
एसीएमएका अनुसार नयाँ खेलाडी बजारमा प्रवेश गर्ने संकेत नभएकाले नवीकरण प्रक्रिया नै उपयुक्त छ, जसले प्रतिस्पर्धा कायम राख्ने र सेवा अवरोधबाट जोगाउनेछ।अब अपरेटरहरूले अन्तिम मूल्यांकनबारे प्रतिक्रिया दिन सक्नेछन्। सरोकारवालाहरूले फेब्रुअरी २७ सम्म सुझाव पेश गर्न पाउनेछन्। तर नियामकले आफ्नो अपेक्षा घटाउने सम्भावना कम देखिएको छ।
प्रकाशित: ४ पुष २०८२, शुक्रबार