Technology Khabar १ पुष २०८२, मंगलवार
काठमाडौं ।
रुम्बा भ्याकुम क्लिनर बनाउने कम्पनी आईरोबोटले आइतबार दिवालियापन संरक्षणका लागि निवेदन दिएको छ। कम्पनीले आफ्नो प्रमुख उत्पादन साझेदार पिसिया रोबोटिक्सले किनेपछि निजी कम्पनीका रूपमा जाने जनाएको छ।
मार्चमै व्यवसाय सञ्चालन जारी राख्न सक्ने क्षमताबारे चिन्ता व्यक्त गरेको आईरोबोट ले डेलावेयरको दिवालियापन अदालतमा च्याप्टर ११ अन्तर्गत निवेदन दिएको हो। कम मूल्यका प्रतिस्पर्धी कम्पनीहरूबाट बढ्दो चुनौती र नयाँ अमेरिकी भन्सार शुल्कका कारण कम्पनी दबाबमा परेको अदालतका कागजातमा उल्लेख छ।
आईरोबोटले सन् २०२४ मा करिब ६८२ मिलियन डलर आम्दानी गरेको थियो। तर चिनियाँ प्रतिस्पर्धी इकोभाक्स रोबोटिक्सजस्ता कम्पनीहरूको दबाबका कारण नाफा घट्दै गएको छ। अमेरिकाका साथै जापानजस्ता मुख्य बजारमा अझै आईरोबोटको बलियो उपस्थिति रहे पनि प्रतिस्पर्धाका कारण मूल्य घटाउनुपर्ने र प्रविधि सुधारमा ठूलो लगानी गर्नुपरेको अदालतका कागजातमा उल्लेख छ।
रोयटर्सका अनुसार नयाँ अमेरिकी भन्सार शुल्कले पनि कम्पनीलाई ठूलो असर पारेको छ। विशेषगरी भियतनामबाट आयात हुने सामानमा लगाइएको ४६ प्रतिशत शुल्क ले असर गरेको हो, जहाँ आईरोबोट ले अमेरिकी बजारका लागि भ्याकुम क्लिनर उत्पादन गर्छ। सन् २०२५ मा मात्रै यी शुल्कका कारण कम्पनीको लागत २३ मिलियन डलरले बढेको र भविष्यको योजना बनाउन कठिन भएको आईरोबोटले जनाएको छ।
एक समय अमेजन डट कमले १.४ अर्ब डलरमा किन्न खोजेको तर असफल भएको यो कम्पनीमाथि हाल करिब १९० मिलियन डलर ऋण छ। यो ऋण २०२३ मा अमेजन सम्झौता युरोपेली प्रतिस्पर्धा अनुसन्धानका कारण रोकिएपछि सञ्चालन पुनर्वित्तीयकरण गर्न लिइएको थियो।
अमेजनसँगको सम्झौता असफल भएपछि र पिसियालाई भुक्तानी गर्न नसकेपछि, चीनमा आधारित पिसियाले कार्लाइल ग्रुपले व्यवस्थापन गरेका लगानी कोषहरूबाट आईरोबोटको ऋण खरिद गरेको अदालतका कागजातमा उल्लेख छ।
दिवालियापन योजनाअनुसार पिसिया रोबोटिक्सले आईरोबोटको १०० प्रतिशत सेयर स्वामित्व लिनेछ र २०२३ को ऋणअन्तर्गत बाँकी १९० मिलियन डलर तथा उत्पादन सम्झौताअन्तर्गत थप ७४ मिलियन डलर ऋण खारेज गरिनेछ। अन्य ऋणदाता र आपूर्तिकर्तालाई भने पूर्ण भुक्तानी गरिने बताइएको छ। आईरोबोटले यो प्रक्रियाले आफ्नो एप सेवा, ग्राहक कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी, आपूर्ति शृंखला वा उत्पादन समर्थनमा कुनै अवरोध नआउने स्पष्ट पारेको छ।
महामारीका कारण माग बढ्दा २०२१ मा कम्पनीको मूल्यांकन ३.५६ अर्ब डलर पुगेको थियो। तर एलएसईजीको तथ्यांकअनुसार हाल यो करिब १४० मिलियन डलर मा झरेको छ। १९९० मा एमआईटीका तीन जना रोबोटिक्स विज्ञहरूले स्थापना गरेको आईरोबोटले सुरुमा रक्षा र अन्तरिक्ष क्षेत्रमा काम गर्थ्यो।
सन् २००२ मा रुम्बा रोबोटिक भ्याकुम सार्वजनिक गरेपछि कम्पनीले ठूलो सफलता पायो। कम्पनीका अनुसार हाल आईरोबोटसँग अमेरिकामा ४२ प्रतिशत र जापानमा ६५ प्रतिशत बजार हिस्सा छ।
आईरोबोटको मुख्यालय म्यासाचुसेट्सको बेडफोर्डमा छ र कम्पनीमा हाल २७४ कर्मचारी कार्यरत छन्।
प्रकाशित: १ पुष २०८२, मंगलवार