Technology Khabar १५ चैत्र २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । दूरसंचार सेवा प्रदायकबाट बाँकी बक्यौता असुल गर्न नेपाल दूरसंचार प्राधिकरणले कम्पनीहरुलाई पटक पटक भन्दै आएकोमा कम्पनीहरुले सो बाँकी बक्यौता अझै तिर्न सकेका छैनन् । बाँकी बक्यौता भएका टेलिकम कम्पनीहरु युनाईटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम लिमिटेड र नेपाल स्याटेलाइट टेलिकम प्रालिले यसअघि दिईएको फागुन मसान्तसम्मको अवधिमा तिर्न नसक्ने कारणसहित प्राधिकरणमा निवेदन दिएका थिए ।
तर त्यसैमध्येको एक कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिको आधारभुत दूरसंचार सेवाको अनुमतिपत्र प्राधिकरणले नविकरण गरेको छ । हालै बसेको प्राधिकरणको बोर्ड बैठकले नेपाल स्याटेलाइट टेलिकमको आधारभुत दूरसंचार सेवाको अनुमतिपत्र नविकरण गर्ने निर्णय गरेको हो ।
सो कम्पनीले आफ्नो आधारभुत दूरसंचार सेवाको अनुमतिपत्र २०७४ साल फागुन ५ गते सकिने मिति अगाडि नै आवेदन दिएकोमा प्राधिकरणले सो कम्पनीको आधारभूत लाइसेन्स नविकरण गरेको हो ।
नेपाल स्याटेलाइट टेलिकमले २०६४ फागुन ५ गते लाइसेन्स पाएको थियो, जुन पहिलो पटक १० वर्षमा नविकरण गर्नुपर्ने कानूनी प्रावधान रहँदै आएको छ । अब भने कम्पनीले प्रत्येक ५ वर्षका लागि अनुमतिपत्र पाएको हो ।
समयभित्रै बाँकी बक्यौता नतिर्ने कम्पनीमध्ये नेपाल स्याटेलाइट टेलिकमले भने आफ्नो बाँकी बक्यौता एकैपटक तिर्न नसक्ने भन्दै गएको फागुनमा नै ८ वर्षे किस्ताबन्दीमा तिर्ने सुविधा माग गरेको थियो ।
प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले बाँकी बक्यौता तिर्न कम्पनीहरुलाई थप समय दिएको हुँदा नेपाल स्याटेलाइट टेलिकमको पनि लाइसेन्स नविकरण भएको बताए ।
‘कम्पनीको सेवा सुचारु छ र सेवा प्रयोगकर्ताहरुले सेवा पाउने अधिकार भएको तथा हामीले असारसम्म बाँकी बक्यौता तिर्ने समय दिएको हुँदा अनुमतिपत्र नविकरण गरिएको हो,’ उनले टेक्नोलोजीखबरसँग भने ।
यसअघि नै प्राधिकरणले टेलिकम कम्पनीहरुको माग अनुसार तथा दूरसंचार ऐन, २०५३ अनुसार असार मसान्तसम्म बाँकी बक्यौता तिर्न र सो समयभित्र नतिरेमा खारेज नै गर्ने प्रकृया शुरु गर्ने निर्णय गरेको थियो ।
प्रकाशित: १५ चैत्र २०७५, शुक्रबार