Technology Khabar २८ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
नयाँ अध्ययन अनुसार धातुयुक्त ग्रहीय पिण्ड साइकीमा एक समय पग्लिएको धातु फ्याँक्ने भेन्टहरू रहेका हुन सक्छन् — तर यस्तो सम्भावना केवल त्यस अवस्थामा हुन्छ जब यसको रासायनिक संरचना दुर्लभ र धातु-समृद्ध उल्कापिण्डहरूसँग मिल्दोजुल्दो हुन्छ।
जर्नल अफ जियोफिजिकल रिसर्च: प्लानेट्समा जुलाई ३१ मा प्रकाशित यो अध्ययनले सायकीको सतहमा देखिने असामान्य धातुयुक्त आवरण किन बनेको हो भन्ने कुरा स्पष्ट गर्न सक्छ।
मंगल र बृहस्पति ग्रहबीचको मुख्य क्षुद्रग्रह बेल्टमा पर्ने आलु आकारको साइकी क्षुद्रग्रह अत्यधिक चम्किलो छ। राडार मापन अनुसार यसले आफ्ना सतहमाथि पर्ने सूर्यको झन्डै एक तिहाइ प्रकाश परावर्तित गर्छ, जसले यसलाई अधिकांश क्षुद्रग्रहहरूभन्दा कम्तीमा दोब्बर चम्किलो बनाएको छ।
यस चमकका कारण वैज्ञानिकहरूले साइकीलाई केवल धातुयुक्त मात्र नभई सम्भवतः कुनै प्रारम्भिक ग्रहको खुला फलामयुक्त केन्द्र (कोर) भएको अनुमान गरेका छन्।
एरिजोना स्टेट युनिभर्सिटीका ग्रह वैज्ञानिक सामुएल कोरभिलले साइकीलाई “सौरमण्डलको सुरुवाती युगको अवशेष” भनेका छन्। केहीले यसको धातुको मूल्य करिब १ लाख क्वाड्रिलियन अमेरिकी डलर हुने अनुमान गरेका छन्।
तर यसको चमक सतही मात्र हुनसक्छ। सन् २०२० मा गरिएको अध्ययनले सायकीको घनत्व प्रति घनमिटर ३,७०० देखि ४,१०० किलोग्राम रहेको देखाएको थियो — जसले यसलाई अधिकांश क्षुद्रग्रहभन्दा गह्रौं बनाउँछ, तर यदि यो पूर्ण रूपमा फलाम र निकेलबाट बनेको हुन्थ्यो भने अपेक्षित घनत्वको केवल आधा मात्र हो।
यसले यसको भित्री भाग धातु-न्यून भए पनि सतहमा धातु-समृद्ध आवरण रहेको देखाउँछ।
साइकीले यस्तो आवरण कसरी प्राप्त गर्यो भन्नेमा वैज्ञानिकहरू अझै निश्चित छैनन्। सबैभन्दा चर्चित सिद्धान्त भने ‘फेरोभोल्कानिज्म’ हो — जसमा सामान्य ज्वालामुखीको जस्तै विस्फोट हुन्छ, तर पग्लिएको ढुंगा होइन, पग्लिएको धातु सतहमा निस्कन्छ।
सन् २०१९ मा प्रस्तावित यो अवधारणाअनुसार, साइकीको प्रारम्भिक अवस्थामा यसको धातुयुक्त केन्द्र बाहिरबाट भित्रतर्फ ठोस बन्दै गयो, जसले गर्दा भित्री भागमा हल्का तत्वहरू बढी हुने र त्यसले आन्तरिक दबाब बढाउने अवस्था सिर्जना भयो। यही दबाबले पग्लिएको धातु सतहमाथि आउँदा भेन्टहरू बनेका हुनसक्छन्।
तर यो प्रक्रिया केवल निश्चित रासायनिक संरचनामा मात्रै सम्भव हुन्छ। त्यसैले अनुसन्धानकर्ताहरूले उल्कापिण्डहरूबाट प्राप्त रासायनिक तथ्यांक प्रयोग गरेर सम्भावित संयोजनहरू परीक्षण गरेका थिए।
नेदरल्यान्ड्सका डेल्फ्ट टेक्नोलोजी विश्वविद्यालयका पीएचडी विद्यार्थी जाप जोर्रिट्स्मा र भ्रिज युनिभर्सिटीका भूविज्ञान प्राध्यापक विन भान वेस्ट्रेनेनले सायकीको रासायनिक संरचना अनुमान गर्न कम्प्युटर मोडेल तयार पारेका थिए।
उनले तीन प्रकारका उल्कापिण्डको संरचना तुलना गरे —एएच-कोन्ड्राइट (कम फलामयुक्त), एच-कोन्ड्राइट (मध्यम फलामयुक्त) र मेसोसिडेराइट (धेरै फलामयुक्त)।
सिमुलेसन परिणाम अनुसार साइकीको भित्री भाग फलामयुक्त हुनुपर्छ, किनकि कम फलाम भएका संरचनामा पर्याप्त आन्तरिक दबाब उत्पन्न नहुने र पग्लिएको धातु सतहसम्म नपुग्ने देखिएको छ।
यसले देखाउँछ कि साइकीमा ‘फेरोभोल्कानिज्म’ त्यतिबेला मात्र सम्भव थियो जब यसमा मेसोसिडेराइट -जस्तै उच्च फलामयुक्त तत्वहरू थिए।
अनुसन्धानकर्ताहरूले नासाको हाल चलिरहेको साइकी मिशनले यी निष्कर्षहरू पुष्टि गर्ने अपेक्षा गरेका छन्। यो अन्तरिक्ष यान सन् २०२९ को जुलाईसम्म साइकीमा पुग्नेछ र दुई वर्षसम्म यसको सतहका तस्बिर तथा स्पेक्ट्रोस्कोपिक डाटा सङ्कलन गर्नेछ।
कोरभिलका अनुसार ती तस्बिरहरूले सतहमा ठूला धातुका तह वा प्रवाहहरू देखाए भने, त्यो सायकीको अतीतमा पग्लिएको धातु निस्कने ‘फेरोभोल्कानिज्म’ भएको प्रमाण हुनेछ।
प्रकाशित: २८ आश्विन २०८२, मंगलवार