Technology Khabar २१ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
नयाँ प्राज्ञिक अनुसन्धानले “बन्द ढोकाभित्र लुकेको मानवीय त्रासदी”को रूपमा दक्षिण एसियाभर फैलिएको बाल यौन शोषण र दुर्व्यवहारको वास्तविकता उजागर गरेको छ। उक्त अध्ययनका अनुसार दक्षिण एसियाका लाखौँ बालबालिका यौन शोषणको जोखिममा छन्।
चाइल्डलाइट ग्लोबल चाइल्ड सेफ्टी इन्स्टिच्युटले जनाएअनुसार र उपलब्ध जानकारी अनुसार दक्षिण एसियाका करिब आठमध्ये एक जना बालबालिका १८ वर्ष पुग्नुअघि बलात्कार वा यौन दुर्व्यवहारमा पर्ने गरेका छन्।
अध्ययनले देखाएको छ कि दक्षिण एसिया क्षेत्रका तीन देशहरू -भारत, नेपाल र श्रीलंकामा प्रतिनिधि सर्वेक्षण तथ्यांक उपलब्ध छन्। सर्वेक्षणका तथ्यांकअनुसार १२.५ प्रतिशत बालबालिकाले १८ वर्ष नपुग्दै बलात्कार वा यौन दुर्व्यवहारको सामना गरेको बताएका छन्। तीमध्ये १४.५ प्रतिशत बालिकाहरू र ११.५ प्रतिशत बालकहरू रहेको पाइयो । यो तथ्याङ्कअनुसार यी तीन देशहरूमा मात्र करिब ५ करोड ४० लाख बालबालिका प्रभावित भएको अनुमान गरिएको छ।
चाइल्डलाइट, संयुक्त अधिराज्यस्थित युनिभर्सिटी अफ एडिनबरा र अस्ट्रेलियास्थित युनिभर्सिटी अफ न्यूसाउथ वेल्समा आधारित तथ्याङ्क अनुसन्धान संस्थान हो। यस संस्थाले विश्वभर बाल यौन शोषण र दुर्व्यवहारको परिमाण र स्वरूपमा प्रकाश पार्दै बालसुरक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै आएको छ।
यस संस्थाको नयाँ “इन्टु द लाइट” शीर्षकको प्रतिवेदन आज (मंगलबार) सार्वजनिक गरिएको छ। प्रतिवेदनले प्रविधिको माध्यमबाट अनलाइन हुने बाल यौन शोषण र दुर्व्यवहारको नयाँ परिमाण र स्वरूपबारे ताजा तथ्याङ्क प्रस्तुत गरेको छ। यसमा कृत्रिम बुद्धिमत्ताबाट बनाइएका यौनजन्य चित्र वा “डीपफेक” लगायतका हानिकारक सामग्रीमा गत वर्ष मात्रै १,३२५% वृद्धि भएको उल्लेख छ।
यो अनुसन्धान भारतमा यो हप्तै नयाँ दिल्लीमा भइरहेको ट्रस्ट एन्ड सेफ्टी सम्मेलनमा र केरला राज्यमा हुने एशियाको सबैभन्दा ठूलो साइबर सुरक्षा सम्मेलनमा प्रस्तुत हुँदैछ। त्यहाँ चाइल्डलाइटले भारतका प्रहरीहरूसँग मिलेर प्रविधिको माध्यमबाट अपराधीहरू पहिचान गर्ने र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने कार्य गरिरहेको छ।
दक्षिण एसियामा बाल यौन दुर्व्यवहार सामग्री (सीएसएएम) को दर
दक्षिण एसियाभित्र, भारत, बंगलादेश र पाकिस्तानमा होस्ट गरि कम्प्युटरमा भण्डारण गरिने वा साझा गरिने बाल यौन दुर्व्यवहार सामग्रीको सबैभन्दा ठूलो संख्यामा पाइन्छ।
यी तथ्याङ्क विश्वव्यापी निगरानी संस्थाहरू नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन र इनहोपले सङ्कलन गरेका हुन्। यी तीन देशहरूले मिलेर उक्त क्षेत्रका करिब सबै रिपोर्टहरूमा योगदान पुर्याएका छन् ।
सन् २०२४ मा एनसीएमईसीले भारतमा रिपोर्ट वा होस्ट गरिएका २२,५२,९८६ वटा सीएसएएम घटनाहरू, बंगलादेशमा ११,१२,८६१, र पाकिस्तानमा १०,३६,६०८ घटनाहरूको जानकारी प्राप्त गरेको थियो।
चाइल्डलाइटको प्रतिवेदनले इनहोप र एनसीएमईसीका तथ्याङ्क र देशको जनसंख्या आकारका आधारमा सीएसएएम उपलब्धता दर निकालिएको बताउँछ।
दक्षिण एसियाभित्र सबैभन्दा उच्च दर माल्दिभ्समा भेटियो हरेक १०,००० जनामा ९४ वटा घटना, त्यसपछि बंगलादेश (६४.१) र पाकिस्तान (४१.३) । चौथो स्थानमा भुटान (४१), त्यसपछि अफगानिस्तान (२८.९), श्रीलंका (२७.८) र नेपाल (१९.४) रहेका छन् । भारतमा सबैभन्दा कम दर १५.५ घटना प्रति १०,००० व्यक्ति रहेको पाइएको छ।

चाइल्डलाइटका प्रमुख कार्यकारी अधिकारी पल स्टानफिल्डले भने: “दुर्व्यवहार मानिसहरूले सोचेभन्दा नजिक छ। विश्वभर हामी लाखौँ युवा जीवनहरू भौतिक र अनलाइन यौन दुर्व्यवहारका कारण नष्ट हुँदै गएको मानवीय त्रासदी देखिरहेका छौँ, जुन प्रायः एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्।”
उनले थपे: “यो रोक्न सकिने समस्या हो, र हामी सबैले यसमा सहयोग गर्नुपर्छ। जब हामी दुर्व्यवहार रोक्छौं, हामी स्वस्थ जीवनको मार्ग खोल्छौं — मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र बालबालिकालाई विद्यालयमा र भविष्यको जीवनमा सफल बनाउने सम्भावनासहित, जसले सम्पूर्ण समाज र अर्थतन्त्रमा फाइदा पुर्याउँछ।”
चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले भने, “प्रमाण स्पष्ट छ। बालबालिका अनलाइन दुर्व्यवहार र शोषणको बढ्दो जोखिममा छन्। उनीहरुलाई अनलाइनमा समेत सुरक्षित राख्न सरकारहरू र प्रविधि कम्पनीहरूले ठोस तथा प्रभावकारी सुरक्षात्मक पहल र पर्याप्त लगानी गर्न ढिलो भइसक्यो। बालबालिकाको सुरक्षा गर्न असमर्थ हुनु भनेको उनीहरुले आफ्ना जिम्मेवारी पूरा गर्न असफल हुनु पनि हो। अब हामीसँग धेरै समय छैन, हरेक सेकेन्ड महत्त्वपूर्ण छ। त्यसैले हामीलाई वाचा होइन, कर्म चाहिन्छ।”
मुम्बईकी सानिका कोडियाल १४ वर्षकी हुँदा सामाजिक सञ्जालमार्फत डिजिटल यौन दुर्व्यवहारको सिकार बनेकी थिइन्। अहिले उनी ब्रेभ मुभमेन्टमार्फत बाल यौन हिंसा अन्त्यका लागि अभियान चलाउँदैछिन्।
उनले भनिन्: “म निर्दोष पीडित थिएँ, जुन कुरामा मेरो कुनै नियन्त्रण थिएन। बाँचेकाहरूलाई प्रायः वरपरका मानिसहरूले, अपराधीहरूले र कहिलेकाहीँ कानुनले समेत लज्जित र दोषी महसुस गराउँछन्। उनीहरूले बुझ्नुपर्छ कि आवाज उठाउनुले उनीहरूलाई ‘खराब मानिस’ बनाउँदैन। तिनीहरूलाई विश्वास गर्ने, समझने र सहानुभूति प्रकट गर्ने मानिसहरू सधैं हुनेछन्।”
बालसुरक्षाका लागि कानुनी, प्रविधि र शैक्षिक पहल
चाइल्डलाइट, जसले भारतमा भइरहेको कार्यक्रममा सह-आयोजन गरेको छ, बाल यौन दुर्व्यवहार सामग्री पत्ता लगाउने, हटाउने र नियन्त्रण गर्ने कार्यमा प्रविधि कम्पनीहरूलाई थप सक्रिय भूमिका खेल्न आग्रह गर्छ।
संस्थाले यसका साथै विद्यालय, समुदाय र पेशागत समूहहरूलाई बालबालिकासँग प्रत्यक्ष काम गर्ने क्रममा शिक्षण र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहित गरेको छ, ताकि बालसुरक्षामा ठोस सुधार ल्याउन सकियोस्।
दक्षिण एसियामा अझै पनि प्रतिनिधिमूलक सर्वेक्षण तथ्याङ्कको कमीका कारण ठूलो सूचनाको कमी रहेको चाइल्डलाइटले जनाएको छ। विशेष गरी आफन्तद्वारा बालबालिकामाथि हुने दुर्व्यवहार सम्बन्धी तथ्याङ्क अत्यन्त सीमित छन्।
भारतीय तथ्याङ्कअनुसार, प्रहरीमा दर्ता भएका सीएसईए मामिलाहरू निरन्तर बढ्दै गएका छन् — सन् २०२१ मा ५४,३५९ घटना दर्ता भएका थिए भने सन् २०२२ मा यो संख्या ६४,४६९ पुगेको छ। साथै, अभियोजन दर पनि ९० प्रतिशतभन्दा बढी पुगेको छ।
पाकिस्तानका तथ्याङ्कहरूले पनि प्रहरीमा दर्ता भएका सीएसईए घटनाहरू झण्डै दोब्बर पुगेको देखाउँछन्। यो संख्या सन् २०२१ मा १,५४६ थियो र सन् २०२२ मा २,९५४ पुगेको छ।
चाइल्डलाइटका प्रमुख कार्यकारी पल स्टानफिल्ड, जो पहिल्यै इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी संगठन) का निर्देशक रहिसकेका हुनले भने: “यो समस्याको परिमाण चिन्ताजनक छ, तर तथ्याङ्कले देखाएको चित्रले हामीलाई रिपोर्टिङ बढाउन र कानुन कार्यान्वयन निकायको प्रतिकार्यलाई प्राथमिकतामा राख्न अवसर प्रदान गर्छ।”
रियानन-फे म्याकडोनाल्ड, जो १३ वर्षको उमेरमा अनलाइनबाट ठगी गरी भेट गर्न आएका व्यक्तिद्वारा दुर्व्यवहारको सिकार बनेकी थिइन्, अहिले मारी कोलिन्स फाउन्डेशनमार्फत अनलाइन सुरक्षाका लागि अभियान चलाउँछिन्।
उनले भनिन्: “धेरै लामो समयदेखि प्रविधि कम्पनीहरूले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएका छन्। बालबालिकामाथि हुने दुर्व्यवहारको बढ्दो संख्या यसको प्रत्यक्ष परिणाम हो। अधिकांश पीडितका लागि, सहयोग पाएको भएता पनि, त्यसको असर गहिरो र दीर्घकालीन हुन्छ। हामी आत्मदोष, डर र आफ्नो दुर्व्यवहारका तस्बिर वा भिडियो देखेकाहरूले चिनेको हुनसक्ने त्रासका साथ बाँचिरहेका हुन्छौं। ‘यो त केवल एउटा फोटो मात्र हो’ भन्ने सोचाइ अत्यन्त गलत हो।”
प्रकाशित: २१ आश्विन २०८२, मंगलवार