Technology Khabar १३ आश्विन २०८२, सोमबार
काठमाडौं ।
वैज्ञानिकहरूले २ हजार वर्षभन्दा पुरानो गणितीय समस्या च्याटजीपीटी लाई सोध्दा आएको उत्तरले उनीहरूलाई आश्चर्यचकित बनाएको छ।
ग्रीक दार्शनिक प्लेटोले करिब इ.पू. ३८५ मा शुकरातले एक विद्यार्थीलाई “वर्ग दोब्बर गर्ने” समस्यासँग चुनौती दिएको उल्लेख गरेका थिए।
जब विद्यार्थीलाई वर्गको क्षेत्रफल दोब्बर बनाउन भनियो, उनले हरेक भुजालाई दोब्बर लम्ब्याए। तर वास्तविक समाधान भने मूल वर्गको कर्णलाई नयाँ भुजा बनाउनुपर्ने हो।
क्याम्ब्रिज विश्वविद्यालय र जेरुशेलमस्थित हिब्रु विश्वविद्यालयका वैज्ञानिकहरूले यो समस्या च्याटजीपीटीमा सोध्ने निर्णय गरे। उनीहरूको भनाइमा यसको समाधान सामान्यतया प्रस्ट नहुने भएकाले यसलाई छनोट गरिएको थियो। प्लेटोले लेखेको समयदेखि आजसम्म यो समस्या मानिसभित्र गणितीय ज्ञान पहिल्यै हुन्छ वा अनुभवबाट मात्र सिकिन्छ भन्ने बहसमा प्रयोग हुँदै आएको छ।
लाइभसाइन्सका अनुसार च्याटजीपीटी जस्ता ठूला भाषा मोडलहरू प्रायः लेख्य सामग्रीमा तालिमप्राप्त हुने भएकाले यस्तो समाधान प्रशिक्षण डाटामा नै पाइन्छ भन्ने सम्भावना न्यून थियो। त्यसैले यदि यसले आफैं समाधान निकाल्यो भने गणित सिकिने प्रक्रिया सीप र अनुभवमा आधारित हुन्छ भन्ने तर्क गर्न सकिन्थ्यो।
तर जब वैज्ञानिकहरूले यसलाई आयतको क्षेत्रफल दोब्बर गर्न सोधे, च्याटजीपीटीले कर्ण प्रयोग गरेर आयतलाई दोब्बर गर्न सकिँदैन भन्दै समाधान नै छैन भन्ने जवाफ दियो।
यद्यपि क्याम्ब्रिज विश्वविद्यालयका अतिथि अनुसन्धानकर्ता नादाव मार्को र गणित शिक्षा प्राध्यापक आन्द्रेयास स्टाइलियनिडेसले यसका लागि ज्यामितीय समाधान रहेको बताएका छन्।
मार्कोका अनुसार च्याटजीपीटीको गलत दावी तालिम डाटामा भेटिने सम्भावना “लगभग शून्य” थियो, जसले यसले अघिल्ला छलफलमा आधारित भएर आफ्नै जवाफ बनाएको जस्तो देखाउँछ। उनले भने, “जब हामी नयाँ समस्यासँग सामना गर्छौं, प्रायः अघिल्ला अनुभवलाई आधार बनाएर विभिन्न तरिका प्रयास गर्छौं। हाम्रो परीक्षणमा च्याटजीपीटी ले पनि त्यस्तै गर्यो—मानौँ कुनै विद्यार्थी वा विद्वानले आफ्नै अनुमान र समाधान निकालिरहेको हो।”
यस अध्ययनले कृत्रिम बुद्धिमत्ता (एआई) ले कसरी “सोच्ने” वा “तर्क गर्ने” जस्तो देखिन्छ भन्ने प्रश्नमा नयाँ दृष्टि दिएको वैज्ञानिकहरूको भनाइ छ। शुकरातको विद्यार्थीले गल्ती गरेझैं च्याटजीपीटी ले पनि गल्ती गरेको देखेर, उनीहरूले यसलाई शिक्षा क्षेत्रमा प्रयोग हुने “जोन अफ प्रोक्सिमल डेभलपमेन्ट (जेडपीडी)” सँग तुलना गरेका छन्, जसले सिकाइको हालको स्तर र सम्भावित स्तरबीचको अन्तरलाई जनाउँछ।
शोधकर्ताहरूका अनुसार एआईले प्रशिक्षण डाटामा प्रत्यक्ष नभएका समस्यासमेत सही निर्देशन पाए समाधान गर्ने क्षमता देखाएको छ। तर यसले ल्याएको नतिजा व्याख्या गर्दा अत्यधिक निष्कर्षमा नपुग्न सावधानी अपनाउनुपर्ने उनीहरूको चेतावनी छ।
स्टाइलियनिडेसले भने, “प्रमाणित पाठ्यपुस्तकमा पाइने प्रमाणझैं विद्यार्थीहरूले च्याटजीपीटी को प्रमाणलाई सधैं मान्य ठान्न सक्दैनन्। त्यसैले एआई–द्वारा सिर्जित प्रमाणलाई बुझ्ने र मूल्याङ्कन गर्ने क्षमता गणित शिक्षामा अनिवार्य हुन थालेको छ।”
अनुसन्धान टोलीले यसलाई शिक्षामा प्रयोग गर्दा विद्यार्थीलाई एआई सँग सहकार्य गरेर समस्या पत्ता लगाउने तरिका सिकाउनुपर्ने बताएको छ। उनीहरूका अनुसार भविष्यमा अझ नयाँ मोडलहरूमा विभिन्न गणितीय समस्याको परीक्षण गर्न सकिन्छ र च्याटजीपीटी लाई ज्यामितीय प्रणाली वा प्रमेय प्रमाणकसँग संयोजन गरेर अझ प्रभावकारी शैक्षिक उपकरण बनाउन सकिन्छ।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार