एआईका पर्यावरणीय जोखिम

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

एआईका पर्यावरणीय जोखिम

काठमाडौं ।

-कुलचन्द्र अर्याल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले हाम्रो ज्ञानको भोक मेटाउने, हरेक खालका उत्सुकता शान्त पार्ने र सिर्जनशीलतालाई मूर्त रूप दिने सर्वाधिक सहज साधन बनिरहेको छ।

एआईले विश्व अर्थतन्त्र, राजनीतिक प्रणाली, सामाजिक सम्बन्ध, प्रविधि प्रयोग तथा ज्ञानको विकास र प्रवाहमा आमूल रूपान्तरण गरिरहेको छ। हामीले आज ससाना कुरा जान्नेदेखि गहन शोधका लागि सहयोगीका रूपमा समेत च्याट जिपिटी जस्ता एआई टुलहरूमा भर पर्न थालेका छौँ।

एआई च्याट प्लेटफर्महरूको व्यापक प्रयोगको एउटा ज्वलन्त प्रमाण त च्याट जिपिटी नै हो, जसले दिनहुँ दुई अर्ब  जिज्ञासाको समाधान गरिरहेको हुन्छ तर जसरी एआईको विकास, विस्तार र प्रयोग व्यापक बनिरहेको छ उसै गरी यसका चुनौती र जोखिम प्नि टड्कारो बनिरहेका छन्।

एआईले मानिसको बौद्धिक तथा तार्किक क्षमतामा ह्रास ल्याइरहेको र मानवतामै सङ्कट सिर्जना गर्ने खतरा बढिरहेको कुरा यसकै निर्माताहरूले बताउन थालेका छन्। अर्कोतर्फ एआईले पृथ्वीको पर्यावरणमा असर पारिरहेको र अझ त्यसमा पनि सबैभन्दा महत्वपूर्ण तथा संवेदनशील प्राकृतिक स्रोत पानीको चरम दोहन गरिरहेको तथ्य निकै चिन्ताजनक छ।

एआई प्रविधिका नकारात्मक वातावरणीय प्रभावहरूको बारेमा विश्वव्यापी रूपमा बहसको सिर्जना भइसकेको छ। एआई प्रविधिले अत्यधिक ऊर्जाको खपत गर्ने हुनाले ऊर्जा उत्पादनका लागि कार्बन उत्सर्जन बढ्नुका साथै डेटा सेन्टरको तापमान नियन्त्रणका लागि करोडौँ लिटर पानीको दोहन हुँदा र अत्याधुनिक एआई प्रविधि तथा उपकरण निर्माणका व्रmममा सिर्जित विद्युतीय फोहोर र स्रोतको क्षयीकरणले गम्भीर पर्यावरणीय प्रभाव पार्ने निश्चित छ।

विश्वको आधा जनसङ्ख्याले अहिले नै पानीको अभाव झेलिरहेको छ। यसमा जलवायु परिवर्तनका कारण भइरहेको स्रोतको विनाश र जनसङ्ख्या वृद्धि र प्रविधिसँगै पानीको बढ्दो मागका कारण भविष्यमा पानीको अभाव झनै चर्किने र आगोमा घिउ थप्ने काम गरिरहेको अवस्था छ।

एआई प्लेटफर्म तथा च्याटबटहरूले प्रयोगकर्ताका प्रश्नहरूको जवाफ दिन तथा माग अनुसारका एआई सामग्री तयार गर्न भीमकाय अनि अत्याधुनिक डेटा सेन्टरमा रहेका हजारौँ कम्प्युटर सर्भरको उपयोग गर्छन्। ती डेटा सेन्टरमा व्यापक मात्रामा ऊर्जा खपत हुँदा तापमान उच्च हुने हुनाले चिस्याउनका लागि ठुलो मात्रामा पानीको आवश्यकता पर्छ।

एआई च्याटबटले पारम्परिक सर्च इन्जिनले भन्दा अत्यधिक बिजुली खपत गर्छन् र यस्तो विद्युत् खपतले अधिक ताप उत्सर्जन गर्छ। फलतः चिस्याउने प्रणाली तथा ऊर्जाको आवश्यकतामा वृद्धि हुन्छ। डाटा सेन्टरलाई चिसो बनाउनका लागि मात्र नभै एआईको सर्भर सञ्चालन र प्रयोगका लागि चाहिने बिजुली उत्पादनमा समेत पानीकै खपत हुन्छ।

त्यस्तै एआई आपूर्ति शृङ्खला र प्रविधि निर्माणमा समेत पानीकै दोहन गर्नु पर्छ। एक अध्ययन अनुसार एआईका लागि उपयोग हुने एउटा माइक्रोचिप उत्पादन गर्न २२ सय ग्यालेन पानीको खपत हुन्छ।

च्याट जिपिटीको निर्माता कम्पनी ओपन एआईका सिईओ साम अल्टम्यानका अनुसार च्याट जिपिटीले हरेक १५ वटा प्रश्नको जवाफ दिन एक चम्चा पानी खर्च गर्छ।

जबकि च्याट जिपिटीको नयाँ अत्याधुनिक संस्करणले चाहिँ प्रत्येक प्रश्नको जवाफ दिँदा २ देखि १० चम्चासम्म पानी खर्च हुने अमेरिकी शोधकर्ताको एक अध्ययनले देखाएको छ। अनि जिपिटी थ्री जस्ता एआई मोडेललाई प्रशिक्षित गर्नका लागि थप १० औँ लाख लिटर पानी प्रयोग भइरहेको हुन्छ।

इन्टरनेसनल इनर्जी एजेन्सीको अनुमान अनुसार एआईमार्फत सोधिएको एउटा प्रश्नले गुगल सर्चको तुलनामा करिब १० गुणा बढी बिजुली र ऊर्जा खर्च गर्छ, जसले थप पानीको आवश्यकता बढाउँछ। ओपन एआईका अनुसार च्याट जिपिटीले हरेक दिन एक अर्ब प्रश्नको जवाफ दिन्छ। इन्टरनेट जगतमा च्याट जिपिटी जस्ता दर्जनौँ एआई प्लाटफर्म छन्। ती सबैले उपयोग गर्ने पानीको परिमाणलाई जोड्ने हो भने साँच्चिकै डरलाग्दो तथ्याङ्क आउँछ।

एक तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा हाल सञ्चालनमा रहेका डाटा सेन्टरहरूले एक वर्षमा पाँच खर्ब ६० अर्ब लिटर पानी खपत गर्दछन् भने आगामी २०२७ सम्ममा डाटा सेन्टरका लागि ६६ खर्ब लिटर पानीको खपत हुने छ। त्यस्तै प्रविधि कम्पनीहरूले अत्याधुनिक एआई कम्प्युटिङ चिपसहितका डाटा सेन्टरहरू निर्माण गर्ने क्रम बढिरहेको हुँदा एआईका लागि निर्मित डाटा सेन्टरले मात्रै सन् २०३० सम्ममा बर्सेनि १२ खर्ब लिटर पानी प्रयोग गर्ने छन्। एआई उद्योगले खर्च गर्ने पानी बर्सेनि छ गुणासम्मले बढ्दै जाने आकलन गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको एक रिपोर्ट अनुसार सन् २०१२ सम्म विश्वमा कम्प्युटर डेटा सेन्टरको सङ्ख्या पाँच लाख थियो, जुन अहिले बढेर ८० लाख पुगेको छ। इन्टरनेसनल इनर्जी एजेन्सीको अनुमान अनुसार सन् २०३० सम्ममा समग्र डाटा सेन्टरद्वारा प्रयोग हुने पानीको मात्रा हालको भन्दा लगभग दोब्बर हुनेछ।

त्यसै गरी सन् २०२८ सम्ममा अमेरिकामा खपत हुने कुल बिजुलीमध्ये १२ प्रतिशत त्यहाँका डटा सेन्टरमा खपत हुने प्रक्षेपण गरिएको छ। एक सय मेगावाटको एउटा डटा सेन्टरले ७५ हजार घरले खपत गर्नेभन्दा धेरै ऊर्जा र दैनिक २० लाख लिटर पानी खपत गर्छ।

गुगलका अनुसार, सन् २०२४ मा उसका डटा सेन्टरले ३७ अर्ब लिटर पानी खपत गरेका थिए, जसमा २९ अर्ब लिटर पानी वाफ बनेर उड्यो। संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त परिमाणको पानी १६ लाख मानिसलाई एक वर्षसम्म दैनिक ५० लिटर प्रयोगका लागि पर्याप्त हो।

वास्तवमा एआईका लागि उपभोग हुने पानी पुनः प्रयोग गर्न नसकिने गरी क्षयीकरण नै हुने भएकाले त्यो गम्भीर चिन्ताको विषय बनेको हो। किनभने डटा सेन्टरमा चिस्याउनका लागि प्रयोग हुने पानीमध्ये ८० प्रतिशत हिस्सा वाफ बनेर उड्ने अनि केवल २० प्रतिशत मात्रै पुनः प्रयोगका लागि उपलब्ध हुने हुनाले पृथ्वीमा एआई प्रविधि पानीको मुख्य सत्रु बनेको छ।

किनकि यसले पानी प्रदूषित बनाउने मात्र नभई पानी नै रित्याइदिन्छ। प्रविधिले हाम्रो जीवन जति धेरै सहज बनाएको छ र एआईले जुन चमत्कार ल्याइरहेको छ त्यसका उत्ति नै धेरै नकारात्मक वातावरणीय असर हुन्छन्।

यद्यपि एआई प्रविधि जलवायु परिवर्तनको अध्ययन अनुसन्धान र व्यवस्थापनका साथै ऊर्जाको समुचित प्रयोग अनि जैविक विविधता संरक्षणमा निकै उपयोगी हुन सक्छ  तर एआई प्रविधिलाई वातावरणीय दिगोपनासँग जोड्ने गरी यसको प्रयोगमा विश्वव्यापी नियमन गर्नु पर्छ।

डाटा सेन्टरहरूमा पानी दोहन घटाउने आधुनिक प्रविधिको विकास, नवीकरणीय ऊर्जाको प्रयोग, उपकरणहरूको पुनः प्रयोगसँगै कार्बन र पानीको फुटप्रिन्ट घटाउनेतर्फ सबै जिम्मेवार हुनै पर्छ।

यसमा ठूला प्रविधि कम्पनी मात्र होइन आमसामान्य इन्टरनेट प्रयोगकर्ताको समेत जिम्मेवारी रहन्छ। एआईको अनावश्यक तथा अत्यधिक प्रयोग न्यून गरी ऊर्जा र पानीको विनाश रोक्नमा हामी सामान्य इन्टरनेट प्रयोगकर्ताको भूमिका पनि अहम् रहन्छ।

नेपालको प्रयास 

हरेक खालका नवीन प्रविधिको शीघ्र अवलम्बन दर नेपालमा साँच्चिकै लोभलाग्दो नै छ। सूचना प्रविधिको निर्यातबाटै देशले बर्सेनि अर्बौं रुपियाँ आर्जन गरिरहेको यथार्थका बिच एआई प्रविधिलाई समेत आत्मसात् गर्दै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत मानव केन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्ने दूरदृष्टि सहित एआई नीति २०८२ जारी भएको छ।

मूलतः एआई नीति यस प्रविधिको अधिकतम तथा सुरक्षित प्रयोगमार्फत देशको आर्थिक–सामाजिक विकासमा द्रुतता दिने उद्देश्यमै केन्द्रित छ। एआईका प्रारम्भिक लाभसमेत ग्रहण नगरिसकेको अवस्थामा यसका दीर्घकालीन पर्यावरणीय असरबारे पूर्वसावधानीको तहमा यो नीतिले सम्बोधन गर्न सकेको छैन।

एआईसँग सम्बन्धित उच्च क्षमताका अत्याधुनिक पूर्वाधार निर्माण गर्ने, डेटा सेन्टर र क्लाउड पूर्वाधारको निर्णमा र एआई हार्डवेयर निर्माणका लागि नेपालमै उद्योग स्थापना जस्ता विषय नीतिको प्राथमिकतामा छन्।

यद्यपि दिगो र भरपर्दो एआई इकोसिस्टम तयार पार्ने उद्देश्यसमेत राखेको यो नीतिमा नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हरित पूर्वाधारको प्रयोग गरी डेटा सेन्टरको स्थापना र सञ्चालन गर्ने विषय उल्लेख हुनुले एआई पूर्वाधारबाट हुन सक्ने पर्यावरणीय जोखिमतर्फ समेत केही हदसम्म ख्याल गरिएको प्रतित हुन्छ।

साथै पर्यावरण र प्राकृतिक स्रोतको संरक्षण, जल तथा मौसम पूर्वानुमान, विपत् व्यवस्थापन र प्रदूषण नियन्त्रणमा एआईको अधिकतम प्रयोग गर्नेलगायतका विषय एआई नीतिमा समावेश हुनु वास्तवमा एआई प्रविधिलाई पर्यावरणीय दिगोपनाका निम्ति उपयोग गर्नेतर्फको दूरगामी सोचका रूपमा लिन सकिन्छ।

आजको गोरखापत्रबाट

 

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार