Technology Khabar २२ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
कस्मिक किरणहरू बरफले ढाकिएका चन्द्रमा, मङ्गल, वा ताराहरूको बीचमा एक्लै बगिरहेका घुमन्ते ग्रहहरूमा जीवनको लागि ऊर्जा स्रोत बन्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार, यस्तो वातावरणमा “रेडियोलाइटिक ह्याबिटेबल जोन” अर्थात् रेडियोलाइसिसद्वारा सम्भावित बासयोग्य क्षेत्र बन्न सक्छ, जुन अहिले सम्म चिनिएका सबैभन्दा चिसो र अँध्यारा संसारहरूमा पनि सम्भव हुन सक्छ।
“यो प्रक्रिया काम गर्नका लागि, ग्रहको सतह पातलो वा नभएको वायुमण्डल भएको हुनुपर्छ, सूर्यबाटको दूरीको कुनै महत्व छैन,” न्यूयोर्क युनिभर्सिटी अबु धाबीका डिमित्रा एट्रीले भने। “यसले टाढा रहेका वा घुमन्ते ग्रहहरूमा जीवनको सम्भावनालाई फराकिलो पार्छ।”
पृथ्वीमा अधिकांश जीवहरूले जैविक ऊर्जा सूर्यको प्रकाशबाट पाउँछन्। यद्यपि, केही अपवाद छन्। जस्तै, समुद्रको तल्लो भागमा जहाँ सूर्यको प्रकाश पुग्दैन, त्यहाँ जीवन सम्भव छ। त्यहाँ हाइड्रोथर्मल भेन्टहरूले तातो र रासायनिक ऊर्जा समुद्रमा प्रवाह गर्छन्। उहीँ, पृथ्वीको सतह मुनि केहि किलोमिटर गहिराइमा रहेका सूक्ष्म जीवहरू हाइड्रोजन, मिथेन, सल्फर र अमोनियाबाट ऊर्जा प्राप्त गर्दै बाँचिरहेका छन्।
यी अपवादहरूले मङ्गल ग्रह वा यूरोपा र एन्सेलाडस जस्ता बरफीला चन्द्रमाहरूमा हाम्रो पृथ्वीजस्तो नभएका परिस्थितिमा पनि जीवन सम्भव हुन सक्छ भन्ने देखाउँछन्। अहिले, डिमित्रा एट्रीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले जीवनले अँध्यारोमा बाँच्न सक्ने कस्मकि रे अर्थात् कस्मिक किरण नामको नयाँ ऊर्जा स्रोत फेला पारेको छ।
कस्मिक किरण के हो?
स्पेस डटकमका अनुसार कस्मिक किरणहरू सौर्यमण्डलभन्दा बाहिरबाट आउने उच्च-ऊर्जावान कणहरू हुन्। ती कणहरू इलेक्ट्रोन, प्रोटोन वा अल्फा कण (हेलियमको नाभिक) जस्ता चार्ज गरिएको कणहरू हुन्। यी प्रायः आयनाइजिङ रेडियसन हुन्छन्, जसले जीवको कोष र डिएनएमा हानि पुर्याउन सक्छ।
तर सबै जीवनका लागि यी हानिकारक नहुन सक्छन्। एट्रीका अनुसार, केही विशेष वातावरणमा त यिनै कणहरू जीवनको लागि अत्यावश्यक हुन सक्छन्।
प्रकाशको गतिसँग मिल्दोजुल्दो गतिमा चल्ने यी किरणहरू कुनै ग्रहमा पुग्दा यदि त्यस ग्रहसँग चुम्बकीय क्षेत्र वा बाक्लो वायुमण्डल छैन भने, सतहबाट भित्र गहिराइसम्म पुग्न सक्छन्।
पृथ्वीमा हामी कस्मिक किरणबाट तुलनात्मक रूपमा सुरक्षित छौं, तर मङ्गलसँग पातलो वायुमण्डल र चुम्बकीय क्षेत्र छैन। टाइटन बाहेकका ज्युपिटर र स्याटर्नका चन्द्रमाहरू पनि यस्ता किरणहरूका लागि खुला छन्।
यी किरणहरूले जब बरफ वा सतह मुनिको पानी–बरफमा ठोक्किन्छन्, तिनीहरूले पानीका अणुहरू भंग गराउँछन् र इलेक्ट्रोनहरू उत्पन्न गर्छन्। यी इलेक्ट्रोनहरूलाई सूक्ष्म जीवहरूले ऊर्जा स्रोतको रूपमा प्रयोग गर्न सक्छन् — यस प्रक्रियालाई रेडियोलाइसिस भनिन्छ।
एट्री र उनको टोलीले मङ्गल, यूरोपा र एन्सेलाडसमा कस्मिक किरणबाट कति अधिकतम जीव–जनसंख्या बाँच्न सक्छ भनेर गणना गरे।
संभावित स्थानहरू
शनिको चन्द्रमा एन्सेलाडस (५०४ किमी व्यास), जसको सतह मुनि समुद्र र सतहबाट पानीका फोहोराहरू निस्किन्छन्, सबैभन्दा आशाजनक देखियो। त्यहाँ प्रतिवर्ग सेन्टिमिटरमा ४०० मिलियन्थ ग्रामको अधिकतम जीवधारणा सम्भव देखिएको छ। एउटा सूक्ष्म जीवको तौल लगभग एक ट्रिलियन्थ ग्राम हुने हुँदा यो संख्या सानोतिनो होइन।
दोस्रो स्थानमा मङ्गल रह्यो, जहाँ रेडियोलाइसिसमार्फत प्रतिवर्ग सेन्टिमिटरमा ११० मिलियनथ ग्राम जीवधारणा सम्भव देखियो। यदि मङ्गलमा जीवन छ भने, त्यो सतहमुनिको पर्माफ्रस्टमा लुकेको हुनसक्छ, र मङ्गलको वातावरणमा पाइने अनौठो मिथेनको स्रोत पनि यही हुन सक्छ।
तेस्रोमा रहेको ज्युपिटर अर्थात् बृहस्पतिको चन्द्रमा यूरोपा हो। यसको सतहमुनि गहिरो बरफले ढाकिएको महासागर छ, जहाँ कस्मिक किरणहरू सामान्यतया पुग्न सक्दैनन्। तर एट्रीको टोलीले १ मिटर गहिराइसम्मको क्षेत्रमा प्रतिघन सेन्टिमिटरमा ४.५ बिलियनथ ग्राम जीवधारणा सम्भव हुने देखाएको छ।
“हामीलाई सतह वा सतह नजिकको वातावरणबारे धेरै जानकारी छैन, तर सौर्यमण्डलभरि पाइने नुनहरूको कारण पानी निकै चिसो तापक्रममा पनि तरल अवस्थामा रहन सक्छ,” एट्रीले बताए। उनले यूरोपाको सतह नजिकै नुनयुक्त ब्राइन (नुनिलोपनयुक्त पानी) का खाल्टा हुने कल्पना गर्छन्, जहाँ यस्तो वातावरणमा सूक्ष्म जीवहरू बाँच्न सक्ने सम्भावना रहन्छ।
यसले यूरोपामा जीवन हामीले सोचेभन्दा सतहको धेरै नजिकै पनि हुनसक्ने देखाउँछ र त्यहाँ पठाइएका अन्तरिक्ष मिसनहरू — नासाको यूरोपा क्लिपर र युरोपियन स्पेस एजेन्सीको जेयूआईसीई ले यूरोपाको पातलो बरफ भएको क्षेत्रमा ध्यान केन्द्रित गर्न सक्ने सम्भावना छ।
प्रकाशित: २२ श्रावण २०८२, बिहीबार