Technology Khabar १४ श्रावण २०८२, बुधबार
काठमाडौं ।
माइक्रोसफ्टले सोमबार आफ्नो एज ब्राउजरमा नयाँ “कोपाइलट मोड” सार्वजनिक गरेको छ, जसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ब्राउजिङ अनुभवलाई सुधार गर्ने कम्पनीले जनाएको छ। प्रतिस्पर्धी कम्पनीहरूले एआई आधारित ब्राउजर र वेब खोजी सुविधा सार्वजनिक गरिरहेका बेला माइक्रोसफ्टले नयाँ सुविधा ल्याएको हो।
माइक्रोसफ्ट का अनुसार, कोपाइलटमोड ले प्रयोगकर्तालाई विभिन्न काम गर्न, ब्राउजिङलाई विषयअनुसार व्यवस्थित गर्न र खुला ट्याबहरूमा नस्विचिकनै नतिजाहरू तुलना गर्न सहयोग गर्नेछ।
यो अपडेट त्यस्तो समयमा आएको हो जब विभिन्न प्रविधि कम्पनीहरूले एआई-समर्थित अनलाइन खोजी उपकरणहरू ल्याएका छन्। एनभिडिया -समर्थित स्टार्टअप पर्प्लेक्सिटी एआई ले यसै महिनाको सुरुतिर कमेट ब्राउजर सार्वजनिक गरेको थियो भने रोयटर्सका अनुसार ओपनएआई पनि एआई ब्राउजर ल्याउने तयारीमा छ।
प्रतिस्पर्धी अल्फाबेटले यसै वर्ष “एआई मोड” नामको एआई-आधारित खोजी सुविधा गुगलमा ल्याएको थियो र कम्पनीले गत साता प्रयोगकर्ता संलग्नता बढेको जनाएको थियो।
माइक्रोसफ्टले बताएको अनुसार नयाँ सुविधामा प्रयोगकर्ताले एकल इनपुट बक्स देख्नेछन्, जसमा च्याट, खोजी र वेब नेभिगेसन सुविधा समेटिएको हुनेछ। कम्पनीका अनुसार एज ब्राउजरमा कोपाइलटले आवाज प्रयोग गरेर ब्राउजिङ गर्न पनि सहयोग गर्नेछ।
प्रयोगकर्ताले कोपाइलटलाई थप ब्राउजर सन्दर्भहरू, जस्तै ब्राउजिङ इतिहास वा लगइन जानकारी प्रयोग गर्न अनुमति दिएमा यसले बुकिङ गर्नु वा काम व्यवस्थापन जस्ता ठोस कार्यहरू गर्न सक्नेछ।
माइक्रोसफ्टका अनुसार, कोपाइलटले प्रयोगकर्ताको ब्राउजिङ सामग्रीमा केवल प्रयोगकर्ताले अनुमति दिएपछि मात्र पहुँच पाउनेछ र पृष्ठभूमिमा सक्रिय हुँदा दृश्य संकेतमार्फत जानकारी दिनेछ।
यो सुविधा हाललाई सीमित समयका लागि विण्डोज र म्याक पीसीमा कोपाइलटसेवा उपलब्ध रहेका बजारहरूमा निःशुल्क रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले चाहेमा एज को सेटिङमार्फत यस सुविधाबाट बहिर्गमन गर्न सक्नेछन्।
प्रकाशित: १४ श्रावण २०८२, बुधबार