Technology Khabar २ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
हालै मेटाको एआईले भारतको कर्नाटकाका मुख्यमन्त्री सिद्दारमैयालाई मृत घोषणा गरिदिएको छ। यसको मुख्य कारण उनले पोस्ट गरेको कन्नड भाषामा लेखिएको एउटा शोक सन्देश थियो।
अभिनेत्री बी सरोजा देवीको निधनमा कन्नड भाषामा लेखिएको श्रद्धाञ्जली व्यक्त गर्दा फेसबुक र इन्स्टाग्रामले त्यसलाई गलत रूपमा अनुवाद गर्दै ‘सिद्दारमैयाले आफ्नै मृत्युपछि अन्तिम श्रद्धाञ्जली दिएका’ भनेर देखाएको थियो।
हालै एक लेबनानी अष्ट्रेलियाली उद्यमी, ब्लकचेन विशेषज्ञ, सोशल मिडिया प्रभावकर्ता, र “सीटिजन पत्रकार” का रुपमा परिचित मारियो नावफलले यसबारे एक्समा एउटा पोस्ट गरेका छन्।
नावफल एक्समा “द राउण्डटेबल शो” आयोजना गर्छन्। यसबाहेक उनी आईबीसी ग्रुपका संस्थापक र एनएफटी टेक्नोलोजिजका सह संस्थापक र सीईओ पनि हुन्।
पोस्टमा सिद्दारमैया यो घटनाबाट दुःखी भएका र मेटामाथि तथ्य बङ्ग्याएको आरोप लगाउँदै जबसम्म यसले शीर्षक ‘ह्यालुसिनेट’ गर्न छाड्दैन तबसम्म कन्नडको अटो-अनुवाद प्रणालीलाई ‘लाइफ सपोर्ट’ मा राख्न माग गरेका उल्लेख गरिएको छ।
यसबाहेक नावफलले यति ठूलो गल्तीमा मेटाले भने एउटा झिनो ‘सरी’ मात्र भनेको तर प्रणाली सुधार्ने कुनै प्रतिबद्धता नगरेको गुनासो पनि गरेका छन्।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भने सामाजिक सञ्जाल कम्पनी मेटाले बिहीबार गम्भीर अटो-अनुवाद त्रुटिपछि माफी मागेको छ। कर्नाटका मुख्यमन्त्री सिद्दारमैयाद्वारा साझा गरिएको शोक सन्देशलाई मेटाको प्लेटफर्मले गलत रूपमा अनुवाद गर्दै उनी नै मृत भएको जनाएपछि कम्पनीले क्षमायाचना गरेको पीटीआईले उल्लेख गरेको एक रिपोर्टमा भनिएको छ।
मेटाले तुरुन्तै प्रतिक्रिया दिँदै गल्ती स्वीकार गरेको र समस्या समाधान भइसकेको पीटीआईले जनाएको छ। “हामीले यस्तो गलत कन्नड अनुवाद गर्ने त्रुटिलाई तुरुन्तै सच्याएका छौं। यस्तो भएकोमा हामी क्षमाप्रार्थी छौं,” मेटाका प्रवक्ताले बताए।
प्रकाशित: २ श्रावण २०८२, शुक्रबार