Technology Khabar १४ असार २०८२, शनिबार
काठमाडौं ।
भारतीय ड्रोन स्टार्टअप राफे एमफिब्रले सिरिज बी लगानी चरणमा १०० मिलियन डलर जुटाएको छ। यो सम्पूर्ण इक्विटी लगानी जेनेरल क्याटालिस्टको नेतृत्वमा गरिएको हो। स्टार्टअपले युद्धमैदान र सीमामा निगरानीका लागि बढ्दो ड्रोन मागका बीच अनुसन्धान तथा विकास र स्थानीय उत्पादन क्षमतामा वृद्धि गर्ने लक्ष्य लिएको छ।
विश्वभर सैनिक अभियानमा ड्रोनको प्रयोग बढ्दो क्रममा छ। हालैका द्वन्द्व र जारी संघर्षहरूमा मुलुकहरूले छिटो घुसपैठ र उच्च प्रभाव पार्ने आक्रमणका लागि ड्रोनहरू प्रयोग गरेका छन्।
हालैको भारत–पाकिस्तान युद्ध यसको उदाहरण हो, जहाँ दुवै देशले अत्याधुनिक लडाकु विमान र क्षेप्यास्त्र प्रणाली हुँदाहुँदै पनि ठूलो मात्रामा ड्रोन परिचालन गरेका थिए। ड्रोन फेडेरेसन अफ इन्डियाका अनुसारयो द्वन्द्वपछि भारत सरकारले ड्रोन बजेट तीनगुणा बढाएर आगामी १२ देखि १४ महिनामा ४७० मिलियन डलर पुर्याएको छ।
टेकक्रञ्चका अनुसार चीन अझै पनि विश्वकै सबैभन्दा ठूलो ड्रोन उत्पादक रहँदै आएको अवस्थामा राफे एमफिब्रले भारतको स्वदेशी ड्रोन क्षमतालाई बलियो बनाउने लक्ष्य लिएको छ।
विकाश मिश्र (अध्यक्ष) र विवेक मिश्र (सीईओ) दाजुभाइद्वारा २०१७ मा स्थापना गरिएको नोएडा-आधारित यो स्टार्टअपले हाल ९ प्रकारका ड्रोन उत्पादन गर्छ, जसले ४.४ पाउन्डदेखि ४४१ पाउन्डसम्मको पेलोड बोक्न सक्छन् र १२ देखि १२४ माइलसम्मको दुरी उडान गर्न सक्छन्।
तिनीहरूमा एमआर१० ड्रोन स्वार्म (थुप्रै ड्रोन मिलेर काम गर्ने प्रणाली), एमआर२० उच्च भूभागमा रासन आपूर्ति गर्ने ड्रोन, समुद्री निगरानी तथा जानकारीका लागि प्रयोग हुने एक्स८ कम्प्याक्ट ड्रोन, र जटिल भौगोलिक क्षेत्रका लागि हलुका भारत ड्रोन समावेश छन्।
स्टार्टअपका १० भन्दा बढी ग्राहकहरू छन्, जसमा भारतीय थलसेना, नौसेना, वायुसेनासहित सीमा सुरक्षा बल, केन्द्रीय रिजर्भ प्रहरी बल, र भारत-तिब्बत सीमा प्रहरी बलजस्ता सशस्त्र प्रहरी निकायहरू रहेका छन्।
राफे एमफिब्रको अवधारणा २०१६ मा विकाशले अमेरिका स्थित एमआईटी र विवेकले जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरिरहँदा तयार गरेका थिए। सुरुवाती तीनदेखि चार वर्ष उनीहरूले सुरक्षाकर्मीहरूको कार्यात्मक आवश्यकतासहित वातावरण र भू-आकृतिजन्य चुनौतीहरू बुझ्नमा केन्द्रित रहे।
त्यसपछि उनीहरूले भारतीय सैनिकहरूको आवश्यकता अनुरूप मल्टिकप्टर ड्रोन बनाउने काम सुरु गरे, र पछि फिक्स्ड-विङ तथा भीटीओएल (ठाडो उडान र अवतरण हुने) विमानमा पनि विस्तार गरे।
“यस प्रक्रियामा आवश्यकता नयाँ छ र क्षेत्र पनि विशेष प्रकारको भन्ने हामीले बुझ्यै त्यसैले हामीले अनुसन्धान र उत्पादन दुवैमा ध्यान केन्द्रित गर्यौं, किनभने पहिले नै भएको प्रविधिबाट बाँधिन चाहेनौं,” विवेकले एक अन्तर्वार्तामा भने।
प्रकाशित: १४ असार २०८२, शनिबार