Technology Khabar १७ जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
क्यानडाका वैज्ञानिकहरूले यस्तो स्पिकर प्रणाली निर्माण गरेका छन् जसले थ्रीडी ध्वनि वातावरणलाई यति यथार्थरूपमा नक्कल गर्न सक्छ कि यो मानिसहरुको कानका लागि बिल्कुलै वास्तविक जस्तै लाग्छ।
११ फिट (३.४ मिटर) लामो अडियोडोम नामक यो स्पिकर प्रणाली अन्टारियोस्थित एक शान्त र सुरक्षित कोठामा जडान गरिएको छ। यसले उन्नत अडियो प्रविधिको प्रयोग गरेर ध्वनिको उत्पत्ति ठ्याक्कै जहाँ भएको थियो, त्यहीँबाट आएको जस्तो लाग्ने गरी ध्वनिको सम्पूर्ण वातावरण तयार गर्छ — जसले प्रयोगकर्तालाई संसारको जुनसुकै स्थानमा ध्वनिक रूपमा पुर्याउन सक्छ।
लाइभसाइन्सका अनुसार नयाँ अनुसन्धानमा वैज्ञानिकहरूले यो स्पिकर प्रणाली मानिसहरूमा परीक्षण गरेर यसको यथार्थता कति छ भन्ने मूल्याङ्कन गरे। नतिजाले अडियोडोमले यस्तो सूक्ष्मताका साथ ध्वनि वातावरण निर्माण गर्न सक्छ जुन मानव श्रवण क्षमताभन्दा पनि बढी विस्तारमा हुन्छ भन्ने देखायो।
वैज्ञानिकहरूले यो अध्ययनको निष्कर्ष अप्रिल १५ मा द जर्नल अफ द अकस्टिकल सोसाइटी अफ अमेरिकामा प्रकाशित गरेका छन्।
अनुसन्धानकर्ताहरूले लेखे अनुसार यो नतिजाले एम्बिसोनिक्स प्रविधिको प्रयोग मानव मस्तिष्कले ध्वनि कसरी प्रक्रिया गर्छ भन्ने गहिरो अनुसन्धानमा गर्न सकिने देखाउँछ।
अडियोडोमले वैज्ञानिकहरूलाई “कठोर प्रयोगात्मक नियन्त्रण कायम राख्दै मानव श्रवण प्रणालीले कसरी थ्री-डायमेन्सनल, जटिल र परिवर्तनशील ध्वनि वातावरण बुझ्छ भन्ने कुरा अध्ययन गर्न सक्ने अवसर दिन्छ,” अध्ययनका मुख्य लेखक तथा वेस्टर्न युनिभर्सिटी, अन्टारियोका स्नातक विद्यार्थी निमा जारगर्नेझादले एक वक्तव्यमा भने।
साउन्ड सिमुलेसनमा थ्रीडीको नयाँ क्षितिज खोलिँदै
सराउन्ड साउन्ड प्रविधि धेरै वर्षदेखि प्रचलनमा छ, जसले एकल च्यानल प्रस्तुति वा भेक्टर-आधारित एम्प्लिट्युड प्यानिङ (भीबीएपी) जस्ता प्रविधिको प्रयोग गरेर श्रोताहरूलाई गहिरो अनुभव दिन्छ।
एकल च्यानल प्रणालीमा ध्वनि स्रोत हरेक स्पिकरको स्थानमा सीमित हुन्छ भने भीबीएपीमा तीन स्पिकरको ध्वनि स्तर मिलाएर ती स्पिकरहरूको बीच कतै एकै खालको आभास हुने ध्वनि स्रोत बनाइन्छ।
तर अध्ययन अनुसार, यी कुनै पनि प्रविधिले एम्बिसोनिक प्यानिङले जस्तो ठूलो क्षेत्रभित्र यथार्थपरक ध्वनि वातावरण निर्माण गर्न सक्दैनन्।
एम्बिसोनिक प्यानिङ एउटा ध्वनि पुनः उत्पादन प्रविधि हो जसले थ्रीडी ध्वनि वातावरणलाई गणितीय कार्यमा विभाजित गर्छ र ध्वनिको दिशा, दबाब र गतिको वर्णन गर्छ।
वैज्ञानिकहरूले लेखे अनुसार एम्बिसोनिक प्यानिङको सैद्धान्तिक रूपमा एकल च्यानल र भीबीएपी दुवैभन्दा उच्च स्थानिक स्पष्टता हुन्छ, तर यसको पनि सीमा छन्। कम स्तरका अम्बिसोनिक प्रणाली (कम च्यानल भएका) ले ध्वनि स्रोतहरूलाई “धमिलो” बनाउने समस्या देखाएका छन्।
अडियोडोमले वैज्ञानिकहरूलाई उच्च स्तरको अम्बिसोनिक प्रणालीले मानव श्रवण र धारणा अध्ययनका लागि पर्याप्त स्पष्टता दिन सक्छ कि सक्दैन भन्ने जाँच गर्ने मौका दिएको लाइभसाइन्सले उल्लेख गरेको छ।
“हामीले पहिल्यै केही त्रुटिहरूको सैद्धान्तिक पूर्वानुमान गरेका थियौं र तिनलाई सिमुलेसनमार्फत पुष्टि पनि गरेका थियौं, तर तिनले मानिसले ध्वनि कहाँबाट आयो र के हो भन्ने बुझाइमा कत्तिको असर गर्छ भन्ने थाहा थिएन,” जारगर्नेझादले भने।
चार डुअल च्यानल सबवुफर र ९१ वटा लाउडस्पिकरहरू गुम्बज आकारमा जडान गरिएको यो संरचना ध्वनि सोसिने, प्रतिध्वनि नहुने कोठामा राखिएको छ जसले ध्वनिक वातावरणमा अधिकतम नियन्त्रण दिन्छ।
अडियोडोमको स्पिकर प्रणाली नवौँ-स्तरको अम्बिसोनिक प्यानिङ प्रणाली हो (अर्थात् यसमा १०० च्यानल छन्)। अनुसन्धानकर्ताहरूले पत्ता लगाए अनुसार यसले बोलीजस्ता सामान्य ध्वनिसमेत यति स्पष्ट स्थानिक स्तरमा पुनः उत्पादन गर्न सक्छ कि त्यो मानव श्रवण क्षमताको स्तरमा, वा अझ राम्रो हुन्छ।
यसको अर्थ अडियोडोमले तयार पारेका ध्वनि वातावरणहरू यथार्थ संसारसँग मेल खाने गरी यथार्थरूपमा नक्कल गर्न पर्याप्त छन् भन्ने निष्कर्षमा अनुसन्धानकर्ताहरू पुगेका छन्।
तर अध्ययनले अम्बिसोनिक प्यानिङको एउटा कमजोरी पनि देखायो। ४ किलोहर्जभन्दा माथिको ध्वनि आवृत्तिमा, जस्तै मानिसको बोलीको दायरा, ध्वनि स्थान निर्धारण गर्ने संकेतहरू बिग्रिन थाले।
नतिजा स्वरूप, बोली यथार्थ रूपमा पुनः उत्पादन भए पनि केही हदसम्म बिग्रिएको सुनिन्थ्यो — फोनबाट बोलिरहेजस्तो। त्यसैले, अध्ययनले बोलीसम्बन्धी प्राकृतिक अध्ययनका लागि एकल च्यानल प्रविधिको प्रयोग सिफारिस गरेको छ।
यद्यपि, अनुसन्धानकर्ताहरूले लेखे अनुसार अडियोडोमले हाम्रो मस्तिष्कले ध्वनि कसरी प्रक्रिया गर्छ भन्ने अध्ययनमा ठूलो सम्भावना देखाएको छ र “मानव श्रवण बुझाइमा आधारित भविष्यका अनुसन्धानहरूका लागि आधार तयार पार्दछ।”
प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार