Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
सौर्य विस्फोटले पृथ्वीको कक्षमा रहेका विशेष गरी स्पेसएक्सको स्टारलिङ्क जस्ता ठूला नक्षत्रहरूका साथै अन्य भूउपग्रहहरूको जीवनमा असर गरिरहेको उल्लेख गरिएको छ।
न्यू साइन्टिस्टको रिपोर्ट अनुसार, सोलार म्याक्सिमम् भनिने सूर्यको ११ वर्षको गतिविधि चक्र २०२४ को उत्तरार्धमा शिखरमा पुगेको र जसले गर्दा जियोम्यागनेटिक स्टर्म (भू–चुम्बकीय आँधीबेहरी) बढेको उल्लेख गरिएको छ।
नासाका वैज्ञानिक डेनी ओलिभेराको नेतृत्वमा गरिएको अध्ययनले यी सोलार स्टर्म (सौर्य आँधीबेहरी) हरूले भूउपग्रहहरूलाई अपेक्षा गरिएको भन्दा छिटो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराउने र तिनीहरूको जीवन १० दिनसम्म घटाउने तथ्य पत्ता लगेको खुलासा गरिएको छ।
“हामीले जियोम्यागनेटिक स्टर्म (भू–चुम्बकीय आँधीबेहरी) का कारण भूउपग्रहहरू (सौर्य गतिविधि बिन) अपेक्षा गरिएको भन्दा छिटो पुनः प्रवेश गर्छन् भन्ने तथ्य पत्ता लगायौं” भनि डेनी ओलिभेराले उल्लेख गरे।
हाल कक्षमा ७,००० भन्दा बढी स्टारलिङ्क भूउपग्रहहरू रहेको छन् र हजारौं थप योजनाबद्ध भएकोले यसको प्रभाव ठूलो हुनेछ भनि उल्लेख गरिएको छ। स्पेसएक्सले भविष्यमा पृथ्वीको परिक्रमा गर्ने ३०,००० भन्दा बढी भूउपग्रहहरू राख्ने लक्ष्य राखेको छ। यो द्रुत विस्तारले स्याटेलाइट रि–इन्ट्रिज (भूउपग्रह पुनः प्रवेश) मा उल्लेखनीय वृद्धि भएको र जसमध्ये धेरै जसो प्रत्येक हप्ता हुने गरेको बताइएको छ।
ओलिभेराले यो एक ऐतिहासिक घटना भएको र धेरै भूउपग्रहहरू एकैसाथ पुनः प्रवेश गरेको बताएका छन्। “एकै समयमा यति धेरै भूउपग्रहहरू पुनः प्रवेश गरिरहेको यो इतिहासमा पहिलो पटक भएको हो। सन् २०२० र सन् २०२४ को बीचमा, ५२३ स्टारलिङ्क भूउपग्रहहरू हाम्रो वायुमण्डलमा पुनः प्रवेश गर्दै गर्दा ट्र्याक गरिएको थियो र जहाँ तिनीहरू पूर्ण रूपमा जल्नको लागि डिजाइन गरिएका हुन्छन्। केही वर्षमा, हरेक दिन भूउपग्रहहरू पुनः प्रवेश गर्नेछन्” उनले थप उल्लेख गरे।
स्टारलिङ्क भूउपग्रहहरू सामान्यतया आफ्नो जीवनको अन्त्यमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दछन्। तिनीहरू असफल भएपछि या त जानाजानी वा वायुमण्डलीय ड्र्यागको कारणले गर्दा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने बताइएको छ।
यद्यपि, हालैका जियोम्यागनेटिक इभेन्ट (भू–चुम्बकीय घटना) हरूले यो प्रक्रियालाई तीव्र बनाएका छन्। नासाका वैज्ञानिक डेनी ओलिभेराले ३७ वटा स्टारलिङ्क भूउपग्रहहरू केवल पाँच दिनमा वायुमण्डलमा पुनः प्रवेश गरेको बताएका छन् जुन १५ दिन भन्दा बढीको सामान्य अवधिबाट उल्लेखनीय कमी भएको उल्लेख गरिएको छ।
सम्भावित फाइदाहरूः
केही विज्ञहरूले पुनः प्रवेशहरू बढ्दै गर्दा मृत भूउपग्रहहरूलाई कक्षबाट हटाउन सहज हुने विश्वास व्यक्त गरेका छन् र जसले गर्दा ठक्करको जोखिम कम हुने उल्लेख गरिएको छ। यद्यपि, यसले तल्लो कक्षमा भूउपग्रहहरूको प्रयोगलाई सीमित गर्ने र वायुमण्डलीय पुनः प्रवेशपछि जम्मा हुने भूउपग्रहहरूको डेब्री (भग्नावशेष) को बारेमा पनि चिन्ता बढाउने उल्लेख गरिएको छ।
चिन्ता र प्रभावहरूः
ठक्करको जोखिमः हजारौं भूउपग्रहहरूको प्रक्षेपणको योजनासँगै ठक्करको जोखिम पनि बढ्ने छ। साथै स्टारलिङ्क भूउपग्रहहरू यस अघि धेरै नजिकको मुठभेडमा संलग्न भइसकेको उल्लेख गरिएको छ र एक पटक, युरोपियन स्पेस एजेन्सीलाई ठक्करबाट बच्न आफ्नो बाटो परिवर्तन गर्न बाध्य पारेको थियो।
वायुमण्डलीय प्रभावः वायुमण्डलमा भूउपग्रहहरू जलाउँदा यसको रसायन विज्ञान परिवर्तन हुन सक्छ, सम्भावित रूपमा जलिरहेको भूउपग्रहहरूबाट एल्युमिनियम अक्साइड जम्मा हुँदा अप्रत्याशित परिणामहरू निम्त्याउन सक्छ भनेर विज्ञहरूले चेतावनी दिएका छन्
खगोलीय प्रभावः स्टारलिङ्क भू–उपग्रहहरूको चमकले खगोलीय अवलोकनमा हस्तक्षेप गर्न सक्छ भनेर अन्तर्राष्ट्रिय खगोलीय संघ र अमेरिकी खगोलीय समाजले चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार