के२-१८बी नामक बाहिरी ग्रहमा एलियन हुन सक्ने सम्भावनामाथि वैज्ञानिकहरुले तेर्स्याए प्रश्न

Technology Khabar १४ जेष्ठ २०८२, बुधबार

के२-१८बी नामक बाहिरी ग्रहमा एलियन हुन सक्ने सम्भावनामाथि वैज्ञानिकहरुले तेर्स्याए प्रश्न
एलियनहरुको सांकेतिक तस्विर। बिङमा डालए ३ को सहयोगमा तयार पारिएको।

काठमाडौं ।

सन् २०२३ मा क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले निकै रोमाञ्चक खबर सार्वजनिक गरेका थिए। उनीहरूले भनेअनुसार, नासाको जेम्स वेब अन्तरिक्ष टेलिस्कोपले पृथ्वीबाट करिब १२४ प्रकाश वर्ष टाढा रहेको के२-१८बी नामक ग्रहमा तरल पानीको महासागर — र सायद जीवनसमेत — को संकेत पत्ता लगाएको थियो। यो ग्रह “टेम्परेट सब-नेप्च्यून” श्रेणीमा पर्ने ग्रह हो।

त्यसपछि, यसै वर्षको सुरुमा, सोही वैज्ञानिक टोलीले जीवनका सम्भावित संकेतहरूको झनै बलियो प्रमाण भेटिएको दावी गरे।

उनीहरूको दावी डाइमिथाइल सल्फाइड (डीएमएस) को अस्थायी रूपमा पत्ता लागेको आधारमा थियो — यो त्यस्तो अणु हो जुन पृथ्वीमा केवल समुद्री जीवद्वारा वा यससँग मिल्दोजुल्दो रसायन डीएमडीएसमार्फत् उत्पादन हुन्छ। यो पदार्थ बाहिरी ग्रहमा जीवनको सम्भावित संकेतक (बायोसिग्नेचर) पनि हुन सक्ने सम्भावना छ।

यो पत्ता लाग्नुका साथै के२-१८बी मा तरल पानी भएको “हाइसियन वर्ल्ड” हुनसक्ने सम्भावनाले जीवनको सम्भावनाबारे चासो झनै बढाएको थियो।
तर, यी नतिजाहरूले खगोलविद्हरूबीच गहिरो बहस जन्माएको छ। यदी यी दाबीहरू सही भए भने यसले जेम्स वेब टेलिस्कोपको क्षमताको ठूलो प्रमाण दिनेछ भन्ने कुरा स्वीकार गरिए पनि, धेरै वैज्ञानिकहरू अझै सन्देहमा छन्।

उनीहरूले डीएमएसको पत्ता लागेको प्रमाण कत्तिको भरपर्दो हो भन्नेमा प्रश्न उठाएका छन्, साथै डीएमएस आफैँ कत्तिको विश्वसनीय जीवनको संकेत हो भन्ने विषयमा पनि शंका गरेका छन्। त्यसैले, धेरै स्वतन्त्र वैज्ञानिक समूहहरूले यी प्रारम्भिक दावीहरूको पुनः परीक्षण गरिरहेका छन् — र हालै प्रकाशित एक अनुसन्धानले क्याम्ब्रिज वैज्ञानिकहरूको डीएमएस पत्ता लागेको दाबी पर्याप्त बलियो नभएको सुझाव दिएको छ।

“भौतिक विज्ञानमध्ये खगोलशास्त्रलाई विशेष स्थान प्राप्त छ,” शिकागो विश्वविद्यालयका पोस्टडोक्टोरल अनुसन्धानकर्ता राफाएल लुकले बताए। “यसले दृश्यात्मक आकर्षण र ठूलो दार्शनिक तथा ब्रह्माण्डीय प्रश्नहरू उठाउने भएकाले यसलाई सञ्चारमाध्यमहरूले बढी प्राथमिकता दिने गर्छन्। त्यसैले कुनै ग्रहको वायुमण्डलमा जीवनको संकेत हुनसक्ने अणु पत्ता लागेपछि — चाहे त्यो अस्थायी नै किन नहोस् — त्यसले व्यापक सञ्चार कभरेज पाउनु स्वाभाविक हो।”

लुक र उनका सहकर्मीहरू — पोस्टडक्टरल अनुसन्धानकर्ताहरू क्यारोलिन पियुले-घोरेयब र माइकल झाङ — यो विश्वास गर्न तयार छैनन् कि के२-१८बी मा देखिएको संकेत वास्तवमै जीवनको विश्वसनीय प्रमाण हो। हालै arXiv मा सार्वजनिक गरिएको — तर अझै समकक्ष समीक्षा नभएको — पूर्वप्रकाशनमा उनीहरूको टोलीले प्रारम्भिक प्रमाणहरूको विश्वसनीयता पुनः परीक्षण गरेको छ। “यही हो विज्ञानको प्रकृति — प्रमाण र प्रतिप्रमाण सँगसँगै अघि बढ्छन्,” लुकले भने।

भिन्न उपकरणहरूबाट प्राप्त डाटाहरू अलगअलग रूपमा विश्लेषण गर्दा फरक-फरक नतिजा आउन सक्छन् — जसरी एउटै विषयको बारेमा दुई विरोधाभासी “कथा” देखिन्छ। “यही कुरा मूल अनुसन्धान समूहको अध्ययनमा भएको हो,” झाङले भने।

“उनीहरूले एमआईआरआई (मिड-इन्फ्रारेड) डाटाबाट धेरै उच्च तापमान देखाए भने NIRISS र NIRSpec (नियर-इन्फ्रारेड) डाटाबाट भने कम तापमान देखियो। सबै डाटा एउटै मोडलमा फिट गर्दा ग्रहको बारेमा विरोधाभासी कथा नआओस् भन्ने सुनिश्चित हुन्छ।”

त्यसैले, टोलीले जेम्स वेब टेलिस्कोप जेडब्लूएसटीका तीन मुख्य उपकरणहरूको डाटा समेटेर के२-१८बी को संयुक्त विश्लेषण गरेका थिए। यसले ग्रहको स्पेक्ट्रमको स्थिर र समग्र व्याख्या सुनिश्चित गर्ने लक्ष्य राखेको थियो, जुन प्रारम्भिक अध्ययनहरूमा नदेखिएको टोलीको भनाइ छ।

“हामीले यसै वर्ष प्रकाशित अध्ययनमा प्रयोग गरिएका जेडब्लूएसटी डाटाहरूलाई दुई वर्षअघि सार्वजनिक गरिएका अन्य जेडब्लूएसटी अवलोकनहरूसँग संयोजन गरेर पुनः विश्लेषण गरेका हौँ,” पियुले-घोरेयबले भनिन्। “हामीले २०२५ को अवलोकनबाट दावी गरिएको ‘बलियो संकेत’ सबै डाटा मिलाउँदा निकै कमजोर देखिने पत्ता लगायौं।”

टोलीका अनुसार सबै डाटा समेट्दा संकेत कमजोर देखिनु सम्भव छ किनकि प्रारम्भिक रूपमा पत्ता लागेको “बलियो” संकेत सीमित डाटामा आधारित भएर अत्यधिक अनुमान गरिएको हुनसक्छ। विभिन्न स्रोतबाट डाटा संयोजन गर्दा वैज्ञानिकहरू कुनै संकेतको बलियोपन — र वैधता — परीक्षण गर्न र पुष्टि गर्न सक्छन्।

“विभिन्न डाटा प्रोसेसिङ विधि र विश्लेषण कोडहरूले सधैं अलिकति फरक नतिजा दिन्छन्, त्यसैले प्राप्त नतिजा कत्तिको भरपर्दो छ भन्ने बुझ्न धेरै विधि अपनाउनु आवश्यक हुन्छ,” पियुले-घोरेयबले बताइन्।

“हामीले डीएमएस वा डीएमडीएसको उल्लेखनीय संकेत कहिल्यै देखेनौं, र थोरै संकेत देखिएको अवस्थामा पनि ती सबै डाटा प्रोसेसिङमा देखिएका थिएनन्।”

“सबैभन्दा महत्वपूर्ण कुरा के भने जब हामी वायुमण्डलमा अजैविक तरिकाले उत्पन्न हुने विभिन्न अणुहरूको फराकिलो दायरा परीक्षण गर्छौं, त्यही स्पेक्ट्रल विशेषताहरू बिना डीएमएस वा डीएमडीएस प्रयोग गरेर पनि पुनः उत्पादन गर्न सकिन्छ भन्ने हामीले देखायौं,” उनले थपिन्।

प्रकाशित: १४ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया