Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
अमेरिका भर करिब ९० हजार टन आणविक फोहोर ३९ वटा राज्यका सयभन्दा बढी स्थानहरूमा विभिन्न प्रकारका संरचना र कन्टेनरहरूमा भण्डारण गरिएको छ।
दशकौंदेखि अमेरिका यस्ता सबै फोहोर एक सुरक्षित स्थानमा लैजाने प्रयास गर्दै आएको छ। सन् १९८७ मा बनेको संघीय कानुनले नेभाडाको युका माउन्टेनलाई स्थायी रूपमा आणविक फोहोर फाल्ने स्थानका रूपमा नाम दिएको थियो। तर राजनीतिक र कानुनी विवादका कारण निर्माणमा ढिलाइ भयो। काम सुरु हुन नपाउँदै सन् २०११ मा कांग्रेसले त्यस परियोजनाको लगानी नै बन्द गर्यो।
लाइभसाइन्सका अनुसार हाल अमेरिकामा रहेका ५४ वटा पावर प्लान्टमा ९४ वटा आणविक रिएक्टर सञ्चालनमा छन्, जसले अझै रेडियोधर्मी फोहोर उत्पादन गरिरहेका छन्।
जीवाश्म इन्धनबाट निस्कने उत्सर्जनप्रति चिन्ता बढ्दो रहेको र डाटा सेन्टर तथा उद्योगहरूलाई साना आणविक प्लान्टमार्फत ऊर्जा आपूर्ति गर्ने सम्भावनाले आणविक ऊर्जाप्रतिको चासो फेरि बढेको छ। यसले फोहोर व्यवस्थापनको आवश्यकतालाई झन् गम्भीर बनाएको छ।
मार्च २०२५ मा अमेरिकी सर्वोच्च अदालतले अस्थायी रूपमा आणविक फोहोर राख्ने स्थान खोज्ने प्रयाससम्बन्धी मुद्दाको सुनुवाई गरेको छ। त्यसबारे निर्णय जुनको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ। निर्णय जे आए पनि, स्थायी फोहोर व्यवस्थापनको खोजी अझै धेरै वर्षसम्म जारी रहने देखिन्छ।
क्षयसम्बन्धी विषयमा काम गर्ने एक अनुसन्धाताका अनुसार उनको कामको एउटा हिस्सा अस्थायी र स्थायी भण्डारणमा आणविक फोहोर सम्हाल्ने विषयमा केन्द्रित छ। अमेरिकामा मुख्यत: दुई प्रकारको गम्भीर रेडियोधर्मी फोहोर पाइन्छ: शीतयुद्धको समयमा आणविक हतियार बनाउँदा बनेको फोहोर र विद्युत उत्पादनका लागि आणविक प्लान्टमा बनेको फोहोर। त्यसबाहेक, उपचारमा प्रयोग हुने थोरै मात्रामा रेडियोधर्मी फोहोर पनि छन्।
आणविक हतियार निर्माणमा प्रयोग गरिएका रेडियोधर्मी रासायनिक पदार्थहरूको प्रक्रिया पछि बाँकी रहेका फोहोरलाई प्राय: ‘डिफेन्स वेस्ट’ भनिन्छ। यस्ता फोहोरलाई पछि गिलाससँग मिसाएर पगालिन्छ र त्यो मिश्रण स्टेनलेस स्टीलको कन्टेनरमा हालिन्छ। यस्ता कन्टेनरहरू करिब १० फिट अग्ला र २ फिट चौडा हुन्छन्, जसको तौल भरिएपछि ५,००० पाउन्डजति हुने लाइभसाइन्स उल्लेख गर्दछ।
हालका लागि, यस्ता धेरै फोहोरहरू ह्यानफोर्ड (वासिङ्टन) र साभाना रिभर (साउथ क्यारोलिना) मा रहेको भूमिगत स्टील ट्याङ्कीमा भण्डारण गरिएको बताइएको छ। यी दुवै स्थान अमेरिका भित्र आणविक हतियार विकासका मुख्य केन्द्र हुन्। साभाना रिभरमा केही फोहोरहरू गिलाससँग मिसाएर प्रशोधन गरिएको छ, तर धेरै जसो अझै जस्ताको तस्तै छन्।
यी दुवै स्थानमा केही रेडियोधर्मी फोहोरहरू ट्याङ्कीको तल माटोमा चुहिसकेको छ, यद्यपि अधिकारीहरूले यसले मानव स्वास्थ्यमा असर नगर्ने बताएका छन्। अझै चुहावट नहोस् भनेर हालको प्रयास ट्याङ्कीमा क्षय र चिरा पर्ने खतराबाट जोगाउन केन्द्रित छ।
विद्युत उत्पादनबाट निस्कने फोहोर
अमेरिकामा भएको सबैभन्दा ठूलो मात्रामा आणविक फोहोर भने व्यावसायिक आणविक पावर प्लान्टबाट निस्किएको स्पेन्ट न्यूक्लियर फ्यूल हो।
आणविक इन्धन प्रयोग हुनुअघि युरेनियम अक्साइडका साना गोलीको रूपमा रहन्छ, जसलाई जिरकोनियम ट्युबहरूमा सिल गरेर राखिन्छ। यस्ता ट्युबहरू थुप्र्याएर एउटा बन्डल बनाइन्छ। इन्धनको एउटा बन्डल करिब १२ देखि १६ फिट लामो र ५ देखि ८ इन्च व्यासको हुन्छ।
आणविक रिएक्टरभित्र युरेनियमले गर्दा हुने विभाजन प्रतिक्रियाबाट उत्पन्न हुने तापले तातोपानी वा बाफ बनाइन्छ, जसबाट टर्बाइन घुमाएर विद्युत उत्पादन गरिन्छ।
करिब तीनदेखि पाँच वर्षसम्म प्रयोग गरेपछि एउटै इन्धन बन्डलमा फिसन प्रतिक्रिया निकै घट्छ, यद्यपि त्यसमा अझै पनि धेरै मात्रामा रेडियोधर्मी शक्ति बाँकी रहन्छ। त्यसपछि स्पेन्ट फ्युल बन्डललाई रिएक्टरबाट निकालेर पावर प्लान्टकै अर्को स्थानमा लैजाने गरिन्छ, जहाँ ठूला पानीका पोखरीमा राखेर चिस्याइन्छ।
करिब पाँच वर्षपछि ती बन्डलहरू पानीबाट निकालिन्छन्, सुकाइन्छन् र स्टेनलेस स्टीलको वेल्ड गरिएको कन्टेनरमा सिल गरिन्छ। यी कन्टेनर अझै पनि रेडियोधर्मी र तातो हुने भएकाले प्लान्टकै परिसरमा कङ्क्रिटको बाक्लो वाल्टमा राखिन्छन्। यस्ता वाल्टहरू कङ्क्रिटको प्याडमा राखिन्छन् र कन्टेनर चिसिँदै जाओस् भन्नका लागि वायुप्रवाहका लागि भेन्ट राखिएका हुन्छन्।
डिसेम्बर २०२४ सम्म अमेरिकामा ३,१५,००० भन्दा बढी स्पेन्ट फ्युल बन्डलहरू र ३,८०० भन्दा बढी ड्राइ स्टोरेज कन्टेनरहरू जमीनमाथिको कङ्क्रिट वाल्टमा भण्डारण गरिएको थियो, जुन हाल र अघिल्लो पावर प्लान्टहरूमा छन्।
केही रिएक्टरहरू पूर्ण रूपमा बन्द भइसकेका र भत्काइसके पनि ती स्थानमा अझै कङ्क्रिट वाल्टभित्र रेडियोधर्मी फोहोर भण्डारण गरिएको छ, जसको सुरक्षा र संरक्षण सम्बन्धित पावर कम्पनीले गर्नुपर्छ।
पानीको खतरा
यस्ता फोहोर भण्डारण तरिकाका लागि एउटा खतरा भनेको क्षय हो। किनभने आणविक पावर प्लान्टलाई विद्युत उत्पादनका लागि पानी आवश्यक पर्छ, ती प्राय: नदी, ताल वा समुद्र नजिकै बनाइएका हुन्छन्।
अमेरिकामा ९ वटा प्लान्टहरू समुन्द्रबाट दुई माइलभित्र छन्, जसले फोहोर कन्टेनरहरूमा विशेष खतरा उत्पन्न गर्न सक्छ। किनारमा छाल आउँदा नुनिलो पानीका साना कणहरू हावामा मिसिएर फलाम/स्टीलमा बस्छन्, जसले क्षय गराउँछ। यही कारणले समुद्रकिनार नजिकका संरचनाहरू छिट्टै बिग्रिने देखिन्छ।
समुद्र नजिक रहेका आणविक फोहोर भण्डारण स्थलहरूमा यस्ता नुनिलो पानीका छिटाहरू स्टेनलेस स्टीलका कन्टेनरमा जम्न सक्छन्। सामान्यतया स्टेनलेस स्टील क्षयप्रति प्रतिरोधी हुन्छ, जुन कुरा धेरै अमेरिकेली भान्साको चम्किला भाँडाकुँडाबाट देख्न सकिन्छ। तर विशेष अवस्थामा स्टीलमा साना प्वाल वा चिरा पर्न सक्छ।
हालका वर्षहरूमा अमेरिकी ऊर्जा मन्त्रालयले यस्तो क्षयबाट हुनसक्ने सम्भावित खतरामाथि अनुसन्धानको लागि (मसमेत संलग्न) परियोजनाहरूमा लगानी गरेको छ। अनुसन्धानका सामान्य निष्कर्षहरू अनुसार, यदि कन्टेनर समुद्रकिनार नजिक भण्डारण गरिएमा स्टेनलेस स्टीलमा प्वाल वा चिरा पर्न सक्छ।
तर रेडियोधर्मी चुहावट हुनका लागि कन्टेनर मात्र होइन, त्यसभित्रका जिरकोनियम ट्युबहरू र त्यसमा रहेको इन्धनसमेत बिग्रिनुपर्ने हुन्छ। त्यसैले यस्ता क्षयका कारण रेडियोधर्मी चुहावट हुने सम्भावना अत्यन्तै कम छ।
प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार