युट्युबबाट सीप सिकेर उद्यम

Technology Khabar १ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन। केक, पेष्ट्री र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी छिन्। उनले महिनामै ६० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्छिन्।

खर्च कटाएर रु ३० हजारसम्म आम्दानी हुने गरेको छ। विगतमा गाउँकै विद्यालयमा पढाउने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो। बेरोजगार भएपछि खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो, त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन्।

के का लागि ऋण लिने भन्नेबारे दुविधा हुँदै गर्दा प्रविधिले गरिखाने बाटो देखाउन सघायो। “इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें। केक, पेष्ट्री र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्योल गरी व्यवसाय सुरु गरेँ”, चन्दले सुनाइन्।

एक लाख रुपैयाँबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाख रुपैयाँको सामान थपेकी छिन्। युट्युबाटै सिकेर हाल केक, पेष्ट्री र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन्।

ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन्।-रासस

प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया