चिप डिजाइन स्टार्टअप एम्पियर साढे ६ अर्ब डलरमा किन्ने सफ्टब्याङ्कको घोषणा

Technology Khabar ७ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

सफ्टब्याङ्क ग्रुपले आर्म-आधारित सर्भर चिप डिजाइन गर्ने स्टार्टअप एम्पियर कम्प्युटिङलाई ६.५ अर्ब डलरमा किन्ने बुधबार घोषणा गरेको छ। जापानी कम्पनीका अनुसार यो सम्झौता २०२५ को दोस्रो आधामा पूरा हुने अपेक्षा गरिएको छ।

सफ्टब्याङ्कका अनुसार क्यार्लाइल ग्रुप र ओरेकल दुवैले एम्पियरमा रहेका आफ्नो-आफ्नो हिस्साहरू बेच्न प्रतिबद्ध भएका छन्। एम्पियर स्वतन्त्र सहायक कम्पनीको रूपमा सञ्चालन हुनेछ र यसको मुख्यालय सांता क्लारा, क्यालिफोर्नियामै रहनेछ।

“सेमिकन्डक्टर र उच्च-प्रदर्शन कम्प्युटिङमा एम्पियरको विशेषज्ञताले हाम्रो यो दृष्टिकोणलाई तिव्र बनाउनेछ, र अमेरिकामा एआई नवप्रवर्तनप्रति हाम्रो प्रतिबद्धता अझै गहिरो बनाउनेछ,” सफ्टब्याङ्क ग्रुपका अध्यक्ष र सीईओ मासायोशी सोनको छुट्टै विज्ञप्तिमा भनिएको छ।

सफ्टब्याङ्कका अनुसार एम्पियरसँग १,००० सेमिकन्डक्टर इन्जिनियरहरू छन्।

टेकक्रञ्चका अनुसार सफ्टब्याङ्कले एआई पूर्वाधारमा आफ्नो लगानी फराकिलो बनाइरहेको छ। गत महिना ओपनएआईसँग साझेदारी गरी उद्यम स्तरको एआई सिर्जना गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५०० अर्ब डलरको निजी एआई लगानी परियोजना ‘स्टारगेट’ मा सहभागी भएर उसले यस क्षेत्रमा थप लगानी गरेको हो।

“एआई प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित, हामी सफ्टब्यांक ग्रुपसँग आवद्ध हुन र यसको प्रमुख प्रविधि कम्पनीहरूको पोर्टफोलियोसँग सहकार्य गर्न उत्साहित छौं,” एम्पियरका संस्थापक र सीईओ रेने जेम्सले भनिन्। “यो हाम्रो टोलीका लागि उत्कृष्ट उपलब्धि हो, र हामी उच्च प्रदर्शन गर्ने आर्म प्रोसेसर र एआईका लागि हाम्रो AmpereOne® रोडम्यापलाई अघि बढाउन उत्साहित छौं।”

सफ्टब्याङ्कले २०१६ मा बेलायती चिप डिजाइनर आर्मलाई ३२ अर्ब डलरमा खरिद गरेको थियो, जसले २०२३ मा आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) ल्याएको थियो।

एम्पियर कम्प्युटिङ एलएलसीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत रेने जेम्सले २०२४ नोभेम्बर ७ मा पेरिसमा आयोजित एआई-पल्स सम्मेलनमा सम्बोधन गरिन्। एकदिने यो सम्मेलनले कृत्रिम बुद्धिमत्ता र सञ्चार प्रविधिका प्रमुख व्यक्तित्वहरूलाई भेला पारेको थियो।

आर्मको निर्देशन सेट प्रयोग गर्ने चिपहरूले इन्टेल र एएमडीले बेच्ने x86 आर्किटेक्चरमा आधारित चिपहरूको विकल्प प्रस्तुत गर्छन्। आर्म-आधारित चिपहरूले प्राय: कम ऊर्जा खपत गर्छन्।

एम्पियरका संस्थापक र सीईओ रेने जेम्सले इन्टेलमा २८ वर्ष बिताएपछि २०१७ मा यो स्टार्टअप स्थापना गरेकी थिइन्, जहाँ उनले अध्यक्षको पदसम्म पुगिन्।

प्रमुख क्लाउड पूर्वाधार प्रदायक अमेजन वेब सर्भिसेजले भाडामा लिन मिल्ने ग्राभिटोन आर्म चिप प्रदान गर्छ, जुन ठूला ग्राहकहरूबीच लोकप्रिय बनेको छ। अक्टोबरमा, माइक्रोसफ्टले आफ्नै कोबाल्ट १०० आर्म-आधारित क्लाउड कम्प्युटिङ इन्स्ट्यान्सहरू बिक्री गर्न सुरु गर्‍यो।

सफ्टब्याङ्कका सेयरहरू बिहीबार झण्डै २ प्रतिशतले घटेको देखिएको छ।

प्रकाशित: ७ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया