Technology Khabar ४ चैत्र २०८१, सोमबार
काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले ९० वर्षमाथिका जेष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए पनि सेवा लिन बाधा नपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा उठेको विषयहरुका सम्बन्धमा बोल्दै यस्तो बताएका हुन्। उनले बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त, असहायका लागि पनि राष्ट्रिय परिचय पत्र बिना नै सेवा लिनसक्ने व्यवस्था मिलाइएको बताए।
नागरिकता, राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता सेवा प्रवाह सम्बन्धमा सिरहा, रौतहट लगायतका जिल्लाका सांसदहरूले उठाएका विषयमा कानून अनुसारको अनुसन्धान प्रक्रिया आगाडि बढिसकेको उनले जानकारी गराए।
जेष्ठ नागरिकको विवरण संकलन एवम कार्ड वितरणको सेवा दिँदा कार्यलयमा प्राथमिकता दिइएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अभियानको रूपमा छनौट भएका जिल्लाहरूमा वडा-वडाबाट कार्य वितरण एवमं वितरण दर्ताको व्यवस्था मिलाइएको समेत बताए।
‘व्यक्तिगत घटना दर्तामा एक पटक सच्याउन पाउने गरी व्यवस्था गर्न सुझाव प्राप्त भएको सम्बन्धमा यस विषयलाई सम्बोधन गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा संशोधन गर्न केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० समानित सदनमा विचाराधीन रहेको
छ’, गृहमन्त्री लेखकले भने।
प्रकाशित: ४ चैत्र २०८१, सोमबार