Technology Khabar ३ चैत्र २०८१, आईतवार
काठमाडौं ।
स्पेसएक्सले शनिबार मार्च १५ को बिहान ७:३५ बजे इस्टर्न टाइम (११:३५ जीएमटी) मा फ्लोरिडाको केप कानेभेरल स्पेस फोर्स स्टेसनबाट २३ वटा स्टारलिंक इन्टरनेट उपग्रहहरू बोकेको फाल्कन ९ रकेट प्रक्षेपण गरेको छ। उक्त रकेटमा १३ वटा सीधै मोबाइलमा जडान हुने क्षमता भएका स्याटेलाइटहरू छन्।
यो स्पेसएक्स को १३ घण्टाको अन्तरालमा तेस्रो प्रक्षेपण हो, जुन कम्पनीले शनिबार बिहान एक्समार्फत जानकारी दिएको थियो।
स्पेस डटकमका अनुसार रकेट प्रक्षेपणको यो शृङ्खला फाल्कन ९ ले नासाको केनेडी स्पेस सेन्टरबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ क्रू-१० अन्तरिक्षयात्री मिसन प्रक्षेपण गरेपछि शुक्रबार (मार्च १४) साँझ ७:०३ बजे ईटी (२३:०३ जीएमटी) मा सुरु भएको थियो।
चार जना अन्तरिक्षयात्रीहरू सवार क्रू-१० शनिबार राति करिब ११:३० बजे ईटी (०३:३० जीएमटी, मार्च १६) मा अन्तरिक्ष स्टेशनमा पुगेको क्रममा छ। त्यसको प्रत्यक्ष प्रसारण स्पेस डटकममा गरिएको थियो।
यसपछि शनिबार बिहानै कम्पनीले क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट ट्रान्सपोर्टर १३ नामक राइडशेयर मिसन अन्तर्गत ७४ वटा पेलोडहरू कक्षमा पुर्याएको थियो। यो उडानले स्पेसएक्स को लागि एउटा महत्वपूर्ण उपलब्धि पनि हात पार्यो जुन अहिलेसम्मको ४००औं पटक फाल्कन ९ पहिलो चरणको सफल अवतरण रहेको थियो।
त्यस्तै शनिबारको स्टारलिंक प्रक्षेपणमा पनि फाल्कन ९ बुस्टरको सफल अवतरण भयो, जुन स्पेसएक्स को मिसन विवरण अनुसार उक्त बुस्टरको अहिलेसम्मको १८ औं उडान हो।
स्पेसएक्सले २०२५ मा हालसम्म ३१ वटा फाल्कन ९ मिसन प्रक्षेपण गरिसकेको छ। तीमध्ये करिब दुई तिहाइ स्टारलिंक नेटवर्क निर्माण गर्न समर्पित छन्, जुन अहिलेसम्मको सबैभन्दा ठूलो स्याटेलाइट कन्स्टेलेशन हो।
अहिलेसम्म स्पेसएक्स ले करिब ८,१०० स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरिसकेको छ, जसमा ७,०६१ उपग्रहहरू हाल सञ्चालनमा रहेको खगोलभौतिकविद् र उपग्रह ट्र्याकर जोनाथन म्याकडोवेलले जनाएका छन्।
प्रकाशित: ३ चैत्र २०८१, आईतवार