Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रुसी आपूर्तिजनक यानमार्फत नयाँ खाना, इन्धन र आवश्यक सामग्रीको डेलिभरी पुगेको छ।
रोस्कोस्मोसको प्रोग्रेस एमएस-३० (नासाको सन्दर्भमा प्रोग्रेस ९१) कार्गो अन्तरिक्षयान शनिबार (मार्च १) स्वतः अन्तरिक्ष स्टेशनको ज्वेज्दा सेवा मोड्युलको पछाडिको पोर्टमा डक भएको छ।
डक हुने क्रममा यी दुई यानहरू दक्षिण एटलान्टिक महासागर माथि २६० माइल (४१८ किलोमिटर) उचाइमा परिक्रमा गरिरहेका थिए। यो यान बेलुका ६:०२ ईएसटी (२३:०२ जीएमटी) मा स्टेशनसँग जोडिएको हो जुन काजाकिस्तानको बाइकोनुर कस्मोड्रोमबाट प्रक्षेपण भएको दुई दिनपछि हो।
स्पेस डटकमका अनुसार मानवबिहीन यो अन्तरिक्षयान स्टेशनको एक्सपेडिशन ७२ चालक दलका लागि करिब तीन टन (५,७३० पाउन्ड वा २,५९९ किलोग्राम) आवश्यक सामग्री बोकेको छ। डेलिभरीमा लुगाफाटा, खाना, औषधि र सरसफाइ सामग्रीसहित रुसी अन्तरिक्षयात्रीहरूका लागि नयाँ ओर्लन-एमकेएस स्पेससूट पनि समावेश छ, जुन रूसी स्पेसवाकमा प्रयोग गरिनेछ।
स्टेशनमा रहेका अन्तरिक्षयात्रीहरू— एलेस्की ओभ्चिनिन, इभान भ्याग्नर र अलेक्जेण्डर ग्रेबेन्किनका लागि सूक्ष्म गुरुत्वाकर्षणको असर रक्तसञ्चार र रोग प्रतिरोधी क्षमतामा कस्तो हुन्छ भन्ने अध्ययन गर्न आवश्यक जैविक परीक्षण उपकरणहरू पनि पठाइएको छ।
प्रोग्रेस यानले अन्तरिक्ष स्टेशनलाई २,०९४ पाउन्ड (९५० किलोग्राम) इन्धन, ९२६ पाउन्ड (४२० किलोग्राम) पिउने पानी र ११० पाउन्ड (५० किलोग्राम) नाइट्रोजन पनि आपूर्ति गर्नेछ, जसले स्टेशनको वातावरणलाई कायम राख्न मद्दत गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।
रुसी अन्तरिक्षयान स्टेशनमा करिब ६ महिना जडान रहन्छ, जहाँ आईएसएस चालक दलले फोहोर तथा अनावश्यक सामग्रीहरू भर्न प्रयोग गर्नेछन्। त्यसपछि प्रोग्रेस स्टेशनबाट अलग भई पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा जलाइनेछ, जसले फोहोर समेत नष्ट गर्नेछ।
प्रोग्रेस एमएस-३० अन्तरिक्ष स्टेशन कार्यक्रमको समर्थनमा १९९८ यता प्रक्षेपण गरिएको ९१औं रुसी आपूर्तिजनक यान हो, भने १९७८ मा सुरु भएको यो श्रृंखलाको १८३औं प्रोग्रेस उडान हो।
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार