एप्पल तथा गुगलले आफ्ना एपस्टोरबाट हटाए ‘हानिकारक एप्स’

  • Technology Khabar | ३० माघ २०८१, बुधबार
एप्पल तथा गुगलले आफ्ना एपस्टोरबाट हटाए ‘हानिकारक एप्स’

काठमाडौं ।

एप्पल  र गुगलले आफ्नो-आफ्नो एप स्टोरबाट २० वटा एप्स हटाएका छन्। सुरक्षा अनुसन्धानकर्ताहरूले ती एप्समा झन्डै एक वर्षदेखि डाटा चोरी गर्ने मालवेयर रहेको पत्ता लगाएपछि यो कदम चालिएको हो।

क्यास्परस्कीका सुरक्षा अनुसन्धानकर्ताहरूका अनुसार स्पार्कक्याट नाम दिइएकको उक्त मालवेयर मार्च २०२४ देखि सक्रिय छ। सुरुमा अनुसन्धानकर्ताहरूले संयुक्त अरब इमिरेट्स र इन्डोनेसियामा प्रयोग हुने एउटा फूड डेलिभरी एपभित्र यो मालवेयर भेटेका थिए।

पछि, उनीहरूले गुगल प्ले स्टोर मा रहेका १९ अन्य असम्बन्धित एप्समा पनि यो मालवेयर भएको पत्ता लगाए, जसलाई कूल २,४२,००० भन्दा धेरै पटक डाउनलोड गरिएको स्पेस डटकमले उल्लेख गरेको छ।

यो मालवेयरले प्रयोगकर्ताको स्क्रिनमा देखिने टेक्स्टलाई क्याप्चर गर्नको लागि बनाइएको कोड प्रयोग गरेको थियो, जसलाई अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) भनिन्छ। अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि यो मालवेयरले पीडितहरूको ग्यालरीमा रहेका तस्वीरहरू स्क्यान गरेर क्रिप्टोकरेन्सी वालेटका रिकभरी फ्रेजहरू खोज्थ्यो। यी फ्रेजहरू विभिन्न भाषाहरूमा, जस्तै अंग्रेजी, चाइनिज, जापानी, र कोरियनमा पनि खोज्न सकिन्थ्यो।

मालवेयरले पीडितको रिकभरी फ्रेज क्याप्चर गरेर आक्रमणकारीलाई वालेटमा पूर्ण नियन्त्रण दिन सक्थ्यो र फन्ड चोरी गर्न सकिन्थ्यो। अनुसन्धानकर्ताहरूका अनुसार मालवेयरले स्क्रिनसटहरूबाट व्यक्तिगत जानकारी, जस्तै सन्देश र पासवर्ड पनि निकाल्न सक्थ्यो।

अनुसन्धानकर्ताहरूको रिपोर्ट प्राप्त गरेपछि एप्पलले गएको हप्तामात्रै एपस्टोरबाट ती एप्स हटायो र त्यसपछि गुगलले पनि ती एप्सलाई हटायो। ‘सबै पहिचान गरिएका एपहरु गुगल प्लेबाट हटाइएको छ र डेभलपरहरुमाथि प्रतिबन्ध लगाइएको छ’, गुगलका प्रवक्ता एड फर्नान्डेजले बताएको टेकक्रञ्चले उल्लेख गरेको छ।

गुगलका प्रवक्ताले एण्ड्रोइड प्रयोगकर्ताहरूलाई गुगल प्ले प्रोटेक्ट सुरक्षा विशेषताबाट यस मालवेयरका ज्ञात भर्सनहरूबाट जोगाइने कुरा पनि पुष्टि गरे। एप्पलले भने यो मामिलामा कुनै प्रतिक्रिया दिएको छैन।

क्यास्परस्कीका प्रवक्ता रोजमेरी गोञ्जालेजले बताए अनुसार रिपोर्ट गरिएका एप्स आधिकारिक एप स्टोरबाट हटाइएको भए पनि कम्पनीको टेलिमेट्री डाटाले यो मालवेयर अन्य वेबसाइट र गैर-आधिकारिक एप स्टोरहरूबाट पनि उपलब्ध रहेको देखाएको छ।

प्रकाशित: ३० माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार