Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
हामी अन्तरिक्ष अन्वेषणको एक स्वर्ण युगमा बाँचेका छौँ। वैज्ञानिकहरूले कीर्तिमानी गतिमा नयाँ जानकारी र वैज्ञानिक प्रमाणहरू सङ्कलन गरिरहेका छन्। तर, पुरानो प्रश्न अझै पनि अनुत्तरित छ: के हामी एक्लै छौँ?
नयाँ टेलिस्कोप प्रविधिहरू जस्तै अन्तरिक्षमा आधारित जेम्स वेब टेलिस्कोपजस्ता उपकरणहरूले पृथ्वी जस्तै जीवनको सम्भावना भएका हजारौँ बाह्यग्रहहरू पत्ता लगाउन सक्षम बनाएका छन्।
गुरुत्वाकर्षण तरङ्ग डिटेक्टरहरूले ब्ल्याक होल र लाखौँ प्रकाश वर्ष टाढाका सुपरनोभाका कारण भएका अन्तरिक्ष-समयका विकृतिहरू पत्ता लगाएर अन्तरिक्ष अन्वेषणका लागि नयाँ मार्ग खोलिदिएका छन्।
लाइभसाइन्सका अनुसार व्यावसायिक अन्तरिक्ष प्रयासहरूले यी प्रविधिहरूलाई थप तीव्र बनाउँदै अत्याधुनिक यानहरू र पुनः प्रयोग गर्न मिल्ने रकेटहरूको विकास गरेका छन्, जसले अन्तरिक्ष अन्वेषणको नयाँ युगको संकेत गर्छ।
नासाको ओसिरिस-रेक्स मिसनले २०७ मिलियन माइल टाढाको बेन्नु नामक क्षुद्रग्रहमा सफलतापूर्वक अवतरण गरी त्यहाँबाट ढुङ्गा र धूलोका नमूना पृथ्वीमा ल्याएको छ।
धेरै देशहरूले चन्द्रमा र मङ्गलमा रोबोट पठाउने क्षमता विकास गरेका छन् र भविष्यमा मानिसलाई पनि ती खगोलीय पिण्डहरूमा पठाउने योजना बनाएका छन्।

यी सबै महत्वाकांक्षी प्रयासहरूको केन्द्रमा रहेको प्रमुख प्रश्न भनेको हो: के ब्रह्माण्डमा जीवनको अस्तित्व छ — वा कहिल्यै थियो?
जीवनलाई परिभाषित गर्नु आश्चर्यजनक रूपमा चुनौतीपूर्ण छ। हामी सहज रूपमा जीवित प्राणीहरूलाई जीवनयुक्त मान्छौँ तर यसको स्पष्ट परिभाषा अझै अज्ञात छ।
शब्दकोशहरूले जीवनलाई वृद्धि गर्न, प्रजनन गर्न, र उत्तेजनाहरूमा प्रतिक्रिया जनाउने क्षमता जस्ता विविध व्याख्याहरू दिन्छन्। तर, यी परिभाषाहरू प्रायः अस्पष्ट हुन्छन्।
पृथ्वीमा जीवन अहिलेको बुझाइ अनुसार डीएनए, आरएनए र प्रोटिनहरूको अन्तरक्रियामा आधारित छ। डीएनएले जीवनको खाका रूपमा काम गर्छ, जसले जीवको विकास, जीवित रहने क्षमता, र प्रजननका लागि आवश्यक अनुवांशिक निर्देशनहरू समावेश गर्दछ।
यी निर्देशनहरू प्रोटिन उत्पादनको मार्गदर्शन गर्ने सन्देशमा रूपान्तरण गरिन्छ, जसले कोषको विशाल कार्यहरूको जिम्मेवारी लिन्छ।
तर ब्रह्माण्डमा जीवन अन्य सिद्धान्तहरू र जैव रसायनमा आधारित हुन सक्छ।
जीवन अन्य तत्वहरूलाई आधार मानेर निर्माण हुन सक्छ। कार्बनसँग रासायनिक समानता भएकाले सिलिकनलाई एक सम्भावित विकल्पका रूपमा प्रस्ताव गरिएको छ।
यदि सिलिकन-आधारित जीवन अस्तित्वमा छ भने, तिनीहरूले अनौठा विशेषताहरू र अनुकूलताहरू देखाउन सक्छन्।
उदाहरणका लागि, तिनीहरूले सिलिकन-आधारित संरचनाहरूलाई समर्थनका लागि प्रयोग गर्न सक्छन्, जसले कार्बन-आधारित प्राणीहरूको हड्डी वा खोलको काम गर्नेछ।
पृथ्वीमा जीवन कसरी शुरू भयो भन्ने विषयमा विभिन्न सिद्धान्तहरू छन्। एउटा सिद्धान्तले जीवनका निर्माण खण्डहरू उल्का पिण्डमा पृथ्वीमा आइपुगेको बताउँछ। अर्को सिद्धान्तले ती निर्माण खण्डहरू हाम्रो ग्रहको प्रारम्भिक वातावरणमा स्वस्फूर्त रूपमा रासायनिक प्रक्रियाबाट बनेको बताउँछ।

उल्का पिण्डहरूमा जीवनका लागि आवश्यक कार्बनिक अणुहरू, जस्तै एमिनो एसिड, फेला परेका छन्। यी अणुहरू गहिरो अन्तरिक्षमा बनेर उल्का पिण्ड र क्षुद्रग्रहहरूसँग पृथ्वीमा ल्याइएका हुनसक्ने सम्भव छ।
अर्कोतर्फ पृथ्वीको प्रारम्भिक समयमा, जस्तै न्यानो पोखरीहरू वा महासागरको गहिराइमा रहेका हाइड्रोथर्मल भेन्टहरूमा भएका भू-रासायनिक प्रक्रियाहरूले पनि जीवनका लागि आवश्यक अवस्था र तत्वहरू प्रदान गर्न सक्थे।
तर, कुनै पनि प्रयोगशालाले पृथ्वीमा आरएनए, डीएनए र पहिलो कोषीय जीवन निर्माण हुने निश्चित प्रक्रिया देखाउन सकेको छैन।
धेरै जैविक अणुहरू चिराल (chiral) हुन्छन्, जसको अर्थ तिनीहरू दायाँ र बाँया हातजस्ता ऐनाको प्रतिबिम्बजस्ता दुई रूपमा पाइन्छन्। यद्यपि बाँया र दायाँ हातजस्ता अणुहरू सामान्यतया समान मात्रामा उत्पादन हुन्छन्, हालैको उल्का पिण्डहरूको विश्लेषणले बाँया-हातको रूप लगभग ६० प्रतिशतको अनुपातमा बढी भएको देखाएको छ।
यो अन्तरिक्षमा पाइएका कार्बनिक अणुहरूको असमानता पृथ्वीका सबै जैविक अणुहरू (प्रोटिन, चिनी, एमिनो एसिड, आरएनए, डीएनए) मा पनि देखिन्छ, जसले यो असमानता अन्तरिक्षबाट ल्याइएको सानो असन्तुलनका कारण भएको हुनसक्ने संकेत गर्दछ। यसले पृथ्वीको जीवनको मूल स्रोत बाह्य अन्तरिक्षमा रहेको भन्ने सिद्धान्तलाई समर्थन गर्छ।
धेरै जैविक अणुहरूमा देखिएको चिरालिटीको सानो असन्तुलनले पृथ्वीमा जीवन बाह्य अन्तरिक्षबाट ल्याइएका कार्बनिक अणुहरूद्वारा शुरू भएको संकेत दिन सक्छ। हामी सम्भवतः कुनै अर्को स्थानमा शुरू भएको जीवनका वंशज हौँ।
१९६१ मा खगोलशास्त्री फ्र्यांक ड्रेकले विकास गरेको ड्रेक समीकरणले हाम्रो ग्यालेक्सीभित्र पत्ता लगाउन मिल्ने सभ्यताहरूको संख्या अनुमान गर्ने ढाँचा दिन्छ। यस समीकरणले ताराहरूको निर्माण दर, ग्रह भएका ताराहरूको प्रतिशतजस्ता कारकलाई समावेश गर्छ र ती ग्रहहरूमा बौद्धिक जीवनको सम्भावना गणना गर्ने लाइभसाइन्सले उल्लेख गरेको छ।
यो समीकरणको सकारात्मक अनुमानले केवल मिल्की वे ग्यालेक्सीभित्र १२,५०० बौद्धिक सभ्यताहरू हुन सक्छ भन्ने देखाउँछ। हामीले भन्ने गरेका ‘एलियन’ यिनीहरु नै पनि हुन सक्छन्
बाह्य जीवनको प्राथमिक तर्क प्रायः सम्भाव्यता हो: ताराहरू र ग्रहहरूको ठूलो सङ्ख्या हेर्दा, अन्यत्र जीवन नबनेको असम्भाव्य देखिन्छ।
देखिने ब्रह्माण्डमा मानव जाति मात्र प्राविधिक सभ्यता भएको सम्भावना १० अर्ब खर्बमा एकभन्दा कम मानिन्छ। साथै, कुनै एक ग्रहमा सभ्यता विकास हुने सम्भावना ६० अर्बमा एक भन्दा राम्रो छ।
देखिने ब्रह्माण्डमा अनुमानित २०० अर्ब खर्ब ताराहरू भएकोले सम्भवतः हाम्रो मिल्की वे ग्यालेक्सीभित्रै पनि अन्य प्राविधिक सभ्यताहरूको अस्तित्व अत्यधिक सम्भावना छ।
प्रकाशित: २४ माघ २०८१, बिहीबार