Technology Khabar २३ माघ २०८१, बुधबार
काठमाडौं ।
चन्द्रमा अझै भौगर्भिक रूपमा सक्रिय हुनसक्ने प्रमाणहरू फेला परेका छन्। चन्द्रमाको टाढाको भाग (फार साइड) संकुचित हुँदै जाँदा “चाउरी” परेको देखिँदा यस्तो सम्भावना व्यक्त गरिएको हो।
ग्रह वैज्ञानिकहरूले चन्द्रमाको टाढाको भागमा २६६ वटा ‘चाउरी परेका धर्का’ पत्ता लगाएका छन्, जसले पछिल्ला १६ करोड वर्षभित्र दुर्लभ ज्वालामुखी मैदानी क्षेत्रमा निर्माण भएको देखाउँछ।
“चन्द्रमा अझै भूगर्भीय रूपमा सक्रिय रहेको थाहा पाउनु महत्वपूर्ण छ। यसले चन्द्रमामा अन्तरिक्ष यात्रीहरू, उपकरणहरू र संरचना राख्न उपयुक्त स्थान छनोट गर्ने विषयमा ठूलो प्रभाव पार्छ,” भनी युनिभर्सिटी अफ मेरिल्याण्डकी वैज्ञानिक ज्याक्लिन क्लार्कले बताएकी छन्।
चाउरी परेका क्षेत्रहरु चन्द्रमाको नजिकको भाग (नियर साइड) मा धेरै अध्ययन गरिएको घटना हो — जुन भाग आकाशमा देखिन्छ। चन्द्रमाको नजिकको भागमा म्यान इन द मून भनिने आकृति रहेको छ, जुन ठूला अँध्यारा क्षेत्रहरू अर्थात् लुनर मारियाबाट बनेको हो।
यी क्षेत्रहरू करिब ३.२ अर्बदेखि ३.६ अर्ब वर्षअघिसम्मको ज्वालामुखी गतिविधिबाट बनेका विशाल जमेको लाभा मैदानी क्षेत्रहरू हुन्।
चन्द्रमाको आन्तरिक भाग चिसिँदै गएपछि ज्वालामुखी गतिविधि बन्द भयो, जसले गर्दा चन्द्रमाले संकुचित हुँदै बासाल्ट अर्थात् अँध्यारा ज्वालामुखीय चट्टानहरू — लाई पुरानो स्याउको छालाजस्तो चाउरी पारेको स्पेस डटकमले उल्लेख गरेको छ।
नजिकको भागमा यी चाउरिएका क्षेत्रहरु निकै ठूला छन्, जो केही दशौं देखि सयौं माइल लामा र सयौं गज अग्ला हुन्छन्। तर जहाँ नजिकको भागको ३१ प्रतिशत क्षेत्रफलमा मारिया पाइन्छ, टाढाको भागमा भने केवल १ प्रतिशत क्षेत्रमा लाभा मैदान पाइएको छ।
ग्रह वैज्ञानिकहरूलाई यस्तो असमानता किन भयो भन्ने पक्का थाहा छैन। एउटा सिद्धान्त अनुसार झण्डै ७०० किलोमिटर चौडाइ भएको ड्वार्फ प्लानेट अर्थात् ‘पुड्के’ ग्रहले कुनै समय नजिकको भागमा ठोक्किएर ठूलो मात्रामा फोहोर बाहिर निकालेको थियो। यसले चन्द्रमाको टाढाको भागको सतहलाई बाक्लो बनायो, जसले गर्दा ज्वालामुखीय गतिविधिलाई सतहमा आउन गाह्रो बनायो।
त्यसैगरी ‘पुड्के’ ग्रह ल्याएका रेडियोधर्मी आइसोटोपहरू नजिकको भागमा जम्मा भए। तिनीहरूबाट आएको रेडियोधर्मी क्षयको तापले चट्टान पगालेर चन्द्रमाको नजिकको भागमा बढी ज्वालामुखीय गतिविधि हुन सजिलो बनायो।
यसको नतिजा स्वरूप टाढाको भागमा कम मारिय छन् जसले गर्दा त्यहाँ नजिकको भागमा देखिने लामो चाउरी परेका क्षेत्रहरू छैनन्।
तर नासाकाको लुनर रिकोनेसाँ अर्बिटरको न्यारो एङ्गल क्यामराले प्रयोग गर्दै ज्याक्लिन क्लार्क, कोल नाइपाभेर र स्मिथसवनियन इन्सटिच्युशनका टमस वाटर्सले टाढाको भागका मारियामा २६६ वटा चाउरी परेका क्षेत्रहरू पहिचान गरेका छन्।
चन्द्रमाको टाढाको भागमा फेला परेका चाउरी परेका क्षेत्रहरू नजिकको भागका तुलनामा साना छन्। ती करिब १०० मिटर (३२८ फिट) चौडा र १,००० मिटर (३,२८० फिट) लामा छन्।
यी चाउरी परेका क्षेत्रहरू टाढाको भागका मारियामा १० देखि ४० को समूहमा देखिन्छन्, जुन आफैँमा पनि नजिकको भागका मारियाभन्दा साना छन्।
तर तिनीहरूको उमेर रोचक छ — जबकि मानिन्छ कि टाढाको भागका मारिया पनि नजिकको भागका मारियाजत्तिकै पुराना हुन्, टाढाका चाउरी परेका क्षेत्रहरू भने धेरै नयाँ देखिन्छन्।
तर चन्द्रमाका बनावटहरूको उमेर सोध्न सकिँदैन; भूगर्भशास्त्रीहरूले बुद्धिमानी तरिकाले जाँच गरेर उत्तर निकाल्छन्। उदाहरणका लागि, ग्रह वैज्ञानिकहरूले खाल्डाहरू (क्रेटर्स) गन्छन्।
पुराना बनावटहरूमा नयाँ बनावटभन्दा धेरै खाल्डाहरू हुने तर्क छ जबकि नयाँ बनावटहरूले पहिले नै भएका खाल्डाहरूलाई ओगट्ने वा काट्ने सम्भावना बढी हुन्छ।
खाल्डाहरूको गणनाअनुसार टाढाका चाउरी परेका क्षेत्रहरु ८४ देखि १६० मिलियन वर्ष पुराना छन्। यसको अर्थ टाढाको भागमा ज्वालामुखी गतिविधि पनि तुलनात्मक रूपमा नयाँ हुनुपर्छ, पक्कै पनि पछिल्लो एक अर्ब वर्षभित्र, नत्र भने चाउरी परेका क्षेत्रहरु धेरै पहिले बनेका हुने थिए।
“धेरै वैज्ञानिकहरूले चन्द्रमाको धेरैजसो भूगर्भीय गतिविधि करिब दुईदेखि तीन अर्ब वर्ष पहिले भएको विश्वास गर्छन्,” ज्याक्लिन क्लार्क भन्छिन्। “तर हामी यी भूगर्भीय बनावटहरू पछिल्लो एक अर्ब वर्षमा सक्रिय थिए र आज पनि सक्रिय हुन सक्छन् भन्ने देखिरहेका छौँ ।”
यस निष्कर्षलाई पुष्टि गर्ने प्रमाण पनि छ। सन् २०२० मा चिनियाँ चाङ’ए ५ मिसनले ओसियनस प्रोसेलारममा रहेको मन्स रुक्मेर ज्वालामुखी गुम्बज नजिकबाट चन्द्रमाको सामग्री पृथ्वीमा ल्याएको थियो। त्यस सामग्रीको विश्लेषण गर्दा, चन्द्रमाको सतहमा १२३ मिलियन वर्ष पुरानो (±१५ मिलियन वर्ष) ज्वालामुखीय काँचका कणहरू फेला परेका स्पेस डटकमले उल्लेख गरेको छ।
यदि यो सबै सत्य हो भने हालसालैको यो भूगर्भीय र ज्वालामुखी गतिविधिले चन्द्रमा अझै पनि आफ्नो आन्तरिक तापक्रम गुमाउँदै संकुचित भइरहेको देखाउँछ। ज्वालामुखी गतिविधि आज पनि भइरहेकै छ भन्ने पनि सम्भव छ। चन्द्रमाको संकुचनले चन्द्रकम्प अर्थात् (मूनक्वेक्स) निम्त्याउन सक्छ जुन एपोलो अन्तरिक्ष यात्रीहरूले चन्द्रमामा राखेको सिस्मोमिटर ले मापन गरेको थियो।
यदि चन्द्रकम्पहरू चन्द्रमाका केही भागहरूमा तीव्र भए भने ती स्थानहरूमा मानव गतिविधि जोखिमपूर्ण हुन सक्छ, जसले गर्दा अन्तरिक्ष यात्रीहरूले ती स्थानहरूबाट टाढा रहनुपर्ने हुन्छ।
यस अनुसन्धानको प्रतिवेदन जनवरी २१ मा द प्लानेटरी साइन्स जर्नलमा प्रकाशित भएको थियो।
प्रकाशित: २३ माघ २०८१, बुधबार