चाक्लीघाटमा पुग्यो नेपाल टेलिकमको सेवा, अब फोन गर्न अग्लो ठाउँमा जानु पर्दैन!

Technology Khabar ४ पुष २०८१, बिहीबार

चाक्लीघाटमा पुग्यो नेपाल टेलिकमको सेवा, अब फोन गर्न अग्लो ठाउँमा जानु पर्दैन!
नेपाल टेलिकमको टावरको सांकेतिक तस्बिर।

काठमाडौं ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको विकट बस्तीका रूपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ। घोराही उपमहानगरपालिका २ स्थित बाक्लोघाट क्षेत्रमा मोबाइल सेवा (टावर) सञ्चालनमा आएको छ।

नेपाल टेलिकम र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा बडा नम्बर २ को झूलेडाँडामा टावर स्थापना गरेपछि चाक्लीघाट क्षेत्रमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा सुरु भएको हो।

घोराही लमही सडकखण्डको बेलदमारदेखि उत्तरपूर्वमा पर्ने चाक्लीघाट क्षेत्रमा फोन सेवा भरपर्दो नहुँदा नागरिकले सञ्चार सेवा उपभोग गर्न निकै समस्या हुने गरेको थियो।

नेपाल टेलिकमको ५० लाख र घोराही उपमहानगरपालिकाको १५ लाख रुपैयाँ लगानी गरेर कुलेडाँडामा टावर स्थापना गरेपछि सञ्चारको सहजता भएको घोराही उपमहानगरपालिका २ बाक्लोघाटका स्थानीय वीरबहादुर वलीले स्थानीय सरकार घोराही उपमहानगरपालिका र नेपाल टेलिकमले फोन सेवा सञ्चालन गरेर स्थानीयलाई सहज भएको बताए।

पहिले फोन गर्नका लागि जङ्गलमा अग्लो स्थानमा उक्लनुपर्ने रहेकोमा टावर सञ्चालनसँगै त्यो बाध्यता हटेको बताए। कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले भूगोलका कारण अनेक समस्या भए पनि त्यसलाई पार लगाउँदै सञ्चार सेवा प्रयोगमा नागरिकलाई जोइन सफल भएको बताए।

चाक्लीघाटबाट भुलेडाँडामा विद्युत् विस्तारका लागि घोराही उपमहानगरपालिकाले १५ लाख रुपैयाँ खर्च गरेको बताए। विकट चाक्लीघाटलाई सुगमसँग जोड्न स्थानीय सरकारले अब बाटो तथा पुललाई प्राथमिकतामा राखेको बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया