Technology Khabar ३ पुष २०८१, बुधबार
काठमाडौं ।
अल्फाबेट स्वामित्वको वेमोले सोमबार सन् २०२५ को सुरुमा टोकियोमा आफ्ना स्वचालित गाडीहरू परीक्षण गर्ने घोषणा गरेको छ। यो कम्पनीको अन्तर्राष्ट्रिय विस्तारतर्फको पहिलो कदम हो।
वेमोले टोकियोमा व्यावसायिक सेवा सुरु गर्ने प्रतिवद्धता भने जनाएको छैन। तर यस रोबोट्याक्सी विकासकर्ताले जापानको सबैभन्दा ठूलो ट्याक्सी सेवा प्रदायक निहोन कोट्सु र ट्याक्सी एप गो सँग साझेदारी गर्दै टोकियोका सडकमा आफ्नो ज्यागुअर-आई-पेस गाडी परीक्षण गर्नेछ।
शुरुवातमा निहोन कोट्सुका चालकहरूले वेमोका गाडीहरू म्यानुअल रूपमा सञ्चालन गर्दै जापानको राजधानी टोकियोका प्रमुख क्षेत्रहरू जस्तै मिनाटो, शिन्जुकु, शिबुया, चियोदा, चुओ, शिनागावा र कोतोका नक्सांकन गर्नेछन्।
मानवद्वारा गरिएको परीक्षणबाट सङ्कलन भएको डाटा वेमोका एआई प्रणालीलाई तालिम दिन मद्दत गर्नेछ। साथै वेमोले अमेरिकामा जापानी सडक जस्तै परिस्थितिहरू नक्कल गरेर निर्माण गरिएको बन्द मार्गमा आफ्ना रोबोट्याक्सीहरूको परीक्षण गर्नेछ।
वेमोले सीएनबीसीलाई भने अनुसार यो साझेदारीको पहिलो चरण केही महिनासम्म रहनेछ, र वेमो लामो समयसम्म जापानमा रहने अपेक्षा गरिएको रोयटर्सले उल्लेख गरेको छ।
“टोकियोमा हाम्रो यात्रा नयाँ परिवेश बुझ्न, स्थानीय साझेदार, सरकारी अधिकारी र सामुदायिक समूहहरूसँग सहकार्य गर्ने अवसर हो,” वेमोले विज्ञप्तिमा उल्लेख गरेको छ। “हामी वेमोले टोकियोका बासिन्दाहरूलाई कसरी सेवा दिन सक्छ र यो शहरको यातायात प्रणालीको उपयोगी भाग बन्न सक्छ भनेर सिक्नेछौँ।”
निहोन कोट्सुले जापानमा वेमोका गाडीहरूको व्यवस्थापन र मर्मतसम्भार हेर्नेछ।
वेमोले २०२४ मा अमेरिकाभरि विस्तारका योजना घोषणा गरेको थियो। यस महिनाको सुरुमा कम्पनीले २०२५ मा मियामीमा परीक्षण सुरु गर्ने घोषणा गर्यो। यसअघि नोभेम्बरमा, कम्पनीले लस एन्जलसमा ड्राइभरविहीन राइड-हेल सेवा उपलब्ध गराएको थियो। सेप्टेम्बरमा वेमोले उबरसँग साझेदारी गर्दै अस्टिन र एटलान्टा मा पनि विस्तार गर्ने योजना बताएको थियो।
जापानमा यस प्रवेशले कम्पनीलाई पहिलो पटक बायाँतर्फको ट्राफिक बजारमा काम गर्ने अवसर प्रदान गर्नेछ।
विश्व आर्थिक मञ्चको अनुसन्धानअनुसार जापानको राष्ट्रिय सरकार र टोकियो महानगरीय सरकार दुबै ड्राइभरविहीन प्रविधिलाई बृद्ध जनसंख्याको लागि लाभदायक मान्छन्।
टोकियोले सुरक्षित स्वचालित यातायात प्रणाली छिटो सञ्चालनका लागि केही क्षेत्रलाई “परीक्षण क्षेत्र” घोषणा गरेको छ।
जापानमा स्वचालित गाडी विकास गर्ने अन्य कम्पनीहरूमा स्थानीय स्टार्टअप टियर ईभी र रोबोटिक्स कम्पनी जेडएमपी पनि छन्, जसले टोकियोमा डेलिभरी गाडी र बसहरूको परीक्षण गरिरहेका छन्।
यसै वर्ष टोयोटाको आंशिक स्वामित्वमा रहेको मोनेट टेक्नोलोजिजले टोकियोको ओडाइबा क्षेत्रमा स्वचालित ट्याक्सी सेवा परीक्षण गर्ने योजना घोषणा गरेको थियो।
वेमोको जापान विस्तारको घोषणा एक हप्तापछि आएको हो जब जेनेरल मोटर्सले आफ्नो क्रुज रोबोट्याक्सी डिभिजन बन्द गर्ने घोषणा गर्यो। क्रुजमा बाह्य लगानीकर्ता होण्डाले सन् २०२६ को सुरुमा जापानमा ड्राइभरविहीन राइड-हेल सेवा सुरु गर्ने योजना बनाएको बताएकव थियो। तर जीएमको पछिल्लो निर्णयपछि यस योजनामा पुन: मूल्याङ्कन गर्ने बताएको छ।
जीएमको पछिल्लो रोबोट्याक्सी हटाएपछि क्रुज, वेमोको प्रमुख घरेलु प्रतिस्पर्धीमध्ये एक थियो।
प्रकाशित: ३ पुष २०८१, बुधबार