Technology Khabar २ पुष २०८१, मंगलवार
काठमाडौं ।
अमेरिकी राष्ट्रपतिको रूपमा निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनले साइबर आक्रमण गर्ने निजी र राष्ट्रिय दुश्मनहरूमाथि उच्च लागत र परिणाम थोपर्ने उपायहरू अनुसन्धान गर्ने भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि ट्रम्पको छनोट, प्रतिनिधि माइक वाल्ट्जले आइतबार यस्तो बताएका हुन्।
रोयटर्सका अनुसार यो टिप्पणी अमेरिकी आरोपपछि आएको हो, जसअनुसार “सल्ट टाइफुन” नामक चिनियाँ साइबर जासुसी अभियानले वरिष्ठ अमेरिकी राजनीतिक व्यक्तिहरूका टेलिफोन कलहरू लक्षित गरी रेकर्ड गरेको थियो।
ह्वाइट हाउसले जनाएको छ कि कम्तीमा आठ अमेरिकी दूरसञ्चार र पूर्वाधार कम्पनीहरू प्रभावित भएका छन् र ठूलो मात्रामा अमेरिकीहरूको मेटाडेटा यस अभियानमा चोरी भएको छ।
वाल्ट्जले “साल्ट टाइफुन” सम्बन्धमा ट्रम्प प्रशासनले के गर्नेछ भन्नेबारे स्पष्ट कुरा भनेनन्। तर, उनले आउने प्रशासनको सामान्य दृष्टिकोणबारे बोले। उनका अनुसार वासिङ्टनले हालसम्म मुख्य रूपमा साइबर सुरक्षालाई बलियो बनाउन ध्यान दिएको छ।
“हामीले आक्रमण गर्ने र डाटा चोरी गर्ने, जासुसी गर्ने निजी तथा राष्ट्र-स्तरीय पक्षहरूलाई उच्च लागत र कडा परिणाम थोपर्न थाल्नुपर्छ,” वाल्ट्जले सीबीएस न्युजको फेस अफ द नेशन कार्यक्रममा भने।
उनले अमेरिकी निजी प्रविधि उद्योगले पनि अमेरिकाको प्रतिरक्षामा सहयोग गर्न र विपक्षीहरूलाई कमजोर बनाउन मद्दत गर्नसक्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।
चिनियाँ अधिकारीहरूले यसअघि यी आरोपहरूलाई मिथ्या सूचना अर्थात् डिस्इन्फर्मेशन भनेका छन्। उनले भनेका छन्, “बेइजिङ साइबर आक्रमण र साइबर चोरीको सबै प्रकारलाई दृढतापूर्वक विरोध र नियन्त्रण गर्दछ।”
प्रकाशित: २ पुष २०८१, मंगलवार