Technology Khabar २ पुष २०८१, मंगलवार
काठमाडौं ।
बेलायतको अनलाइन सुरक्षा प्रणाली सोमबारदेखि लागू भएको छ। यसले मेटाको फेसबुक र बाइटडान्सको टिकटकजस्ता सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र प्रयोगकर्ताहरूलाई सुरक्षित बनाउन कदम चाल्न आवश्यक बनाएको छ।
मिडिया नियामक अफकमले गैरकानुनी गतिविधिहरू नियन्त्रण गर्न पहिलो निर्देशिका (कोड्ज अफ प्राक्टिश) सार्वजनिक गरेको छ। यसमा बाल यौन दुर्व्यवहार र आत्महत्या प्रोत्साहनजस्ता अवैध कार्यहरू रोक्नका लागि उपायहरू समावेश छन्।
वेबसाइट र एपहरूले मार्च १६, २०२५ सम्ममा बालबालिका र वयस्कहरूलाई गैरकानुनी सामग्रीले पार्ने जोखिमहरूको मूल्यांकन गर्नुपर्नेछ। त्यसपछि, ती जोखिमहरू कम गर्न, जस्तै राम्रो सामग्री निगरानी, सजिलो रिपोर्टिङ प्रणाली, र सुरक्षा परीक्षण जस्ता उपायहरू लागू गर्नुपर्ने रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।
अफकमका प्रमुख कार्यकारी मेलानी डजले भनिन्, “अब टेक कम्पनीहरूमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी छ। उनीहरूले हाम्रो पहिलो निर्देशिका र मार्गदर्शनमा तोकिएका उच्च सुरक्षा मापदण्डहरू पालना गरेको सुनिश्चित गर्न हामी उद्योगलाई नजिकबाट हेर्नेछौं, ।”
गत वर्ष कानून बनेको अनलाइन सुरक्षा ऐनले फेसबुक, युट्युब र टिकटोकजस्ता प्लेटफर्महरूलाई बच्चाहरूको संरक्षण र गैरकानुनी सामग्री हटाउनेमा जोड दिएको छ।
नयाँ निर्देशिकाअनुसार, रिपोर्टिङ र गुनासो प्रक्रियाहरूलाई सजिलो र प्रयोगमैत्री बनाउनुपर्नेछ। उच्च जोखिम भएका प्लेटफर्महरूले बाल यौन दुर्व्यवहार सामग्री पत्ता लगाउन ह्यास-म्याचिङ र यूआरएल पहिचानजस्ता स्वचालित उपकरण प्रयोग गर्नुपर्नेछ।
ओफकमले नियम उल्लङ्घन गरेमा १.८ करोड पाउन्ड वा कम्पनीको वार्षिक विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना लगाउन सक्नेछ।
बेलायतका प्रविधि सचिव पिटर काइलले नयाँ निर्देशिकालाई अनलाइन सुरक्षामा “महत्वपूर्ण परिवर्तन” भनेका छन्।
“यदि प्लेटफर्महरूले आफ्नो जिम्मेवारी पूरा गरेनन् भने, नियामकले जरिवाना लगाउने र साइटहरूलाई अवरुद्ध गर्ने अधिकार प्रयोग गर्न मेरो पूर्ण समर्थन छ,” उनले थपे।
प्रकाशित: २ पुष २०८१, मंगलवार