Technology Khabar १८ मंसिर २०८१, मंगलवार
काठमाडौं ।
गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको ११औँ वार्षिक बैठक राजधानीमा सुरू भएको छ।
एशिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल (एन्टम)मा यस क्षेत्रका २३ देश सदस्य छन् । २३ सदस्य देशमध्ये बैठकमा १९ देशका ५५ जना प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने बैठकले एशिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानुनी व्यवस्था गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ।
बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्ता सामग्री गुणस्तरीय हुन आवश्यक रहेको बताए। नेपालमा गुणस्तरीय कृषि औजारको आयातका लागि मन्त्रालयले आवश्यक कानुनी प्रबन्ध गर्न लागेको जानकारी पनि उनले गराए।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल कृषि इञ्जिनीयरिङ अनुसन्धान केन्द्रका प्रमुख एवं आयोजक संस्था एन्टमका अध्यक्ष श्रीमद् श्रेष्ठले यो बैठकले २३ वटै देशले मान्ने गरी गुणस्तरीय कृषि औजारसम्बन्धी मापदण्ड निर्माण गर्ने बताए। एउटा देशमा परीक्षण भएका कृषि औजारलाई एशिया प्रशान्त क्षेत्रका २३ ओटै देशले मान्यता दिने मापदण्ड बन्ने उनको भनाइ थियो।
नेपालमा गुणस्तरहीन कृषि औजारको आयातले दुई दिनमा एक जना कृषि यन्त्रका चालकको निधन हुने गरेकाले यस विषयमा सरकारले पनि गम्भीर भएर ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइएको थियो। यो तथ्याङ्क नेपाल प्रहरीले उपलब्ध गराएको केन्द्रले जनाएको छ। रासस
प्रकाशित: १८ मंसिर २०८१, मंगलवार