Technology Khabar २८ असार २०८१, शुक्रबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुनुका साथै रूपान्तरणको आधार तयार भएको दाबी गरेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उनले कानूनी, नीतिगत र संरचनागत सुधार तथा सुशासनको पक्षमा चालिएका कदमबाट सूचना प्रविधिका क्षेत्रमा समृद्धि हासिल हुने विश्वास व्यक्त गरिन्।
“मन्त्रालयमा कैयौँ नीतिगत सुधार गरिएको छ भने कतिपय प्राप्त गुनासाहरूमा औपचारिक छानबिन गरेर आफ्नो कार्यक्षेत्रभित्र रहेका विषयलाई कार्यान्वयनमा लैजाने र अन्य विषयलाई सम्बन्धित निकायले गर्ने अनुसन्धानमा सहयोग पुग्ने गरी मन्त्रालयको धारणा स्पष्ट गर्ने कार्य गरिएको छ”, मन्त्री शर्माले भनिन्। आफूले थालनी गरेका कानुनी, नीतिगत र संरचनात्मक सुधार तथा सुशासनको पक्षमा चालेका कदम अनि सूचना प्रविधिको क्षेत्रबाट समृद्धिको जग बसाल्ने सपना सहितका रुपान्तरणकारी योजनाले आगामी दिनमा पनि निरन्तरता पाउने उनको विश्वास छ।
मन्त्री शर्माले आमसञ्चार, दूरसञ्चार, सूचना–प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण क्षेत्रको सुधारबाट समग्रमा मन्त्रालयको प्रगति मापन हुने भएकाले सबै क्षेत्रको रुपान्तरणका लागि पर्याप्त काम भएका बताईन्। उनले आफ्ना लागि सञ्चार तथा सूचना प्रविधिको क्षेत्र नया भए पनि सबैको साथ र सहयोगले कार्यकाल सफल भएको महसुस गरेको बताईन्। “मन्त्रालयको नेतृत्व सम्हालेपछि भनेको थिएँ, म आफ्नो क्षमताले सकेसम्म राम्रो गर्ने छु तर नराम्रो गर्ने छैन, मैले के कति राम्रो काम गरें, यसको समीक्षा र मूल्याङ्कन आम जनताले गर्ने छन् तर यो कुरा म गर्वका साथ भन्नसक्ने अवस्थामा छु कि मैले आफ्नो तर्फबाट कुनै नराम्रो काम गरिनँ र गर्न दिइनँ,” उनले भनिन्।
मन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नभएको र बदमासी गर्ने कोही बच्दैन भन्ने तथ्य स्थापित भएको स्पष्ट पारिन्। दूरसञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै सेवा प्रवाहलाई सहज बनाउन र राज्यकोष वृद्धि गर्ने, लागत न्यूनिकरण गर्ने हेतुले अन्य धेरै कामको थालनी गरिएको उनको भनाइ छ । “फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजश्व नतिर्ने र सेवा संचालन नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पुरानो नीति परिमार्जन गरी फ्रिक्वेन्सी नीति २०८० जारी गरिएको छ”, मन्त्री शर्माले भनिन, “यसबाट २०८१ साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागु भई अनुमतिपत्र लिई फ्रिक्वेन्सी बापत शून्य वा अत्यन्त कम राजश्व तिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ।”
उनले दुर्गमका नागरिकसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न दार्चुला, रुकुमपूर्व, मुस्ताङ, हुम्लालगायतका थप विकट स्थानमा सेवा सञ्चालनमा ल्याइएको जानकारी दिईन्। भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमुना जिल्ला घोषणा गरी सूचना प्रविधिको गुणस्तर सुधार र पहुँच अभिवृद्धिको नयाँ कार्यक्रम अघि बढाइएको उनको भनाइ छ । “यसलाई नमूना परियोजनाको रुपमा अघि बढाउँदै बाँकी सबै जिल्लामा प्रभावकारी दूरसञ्चार सेवा विस्तार गर्ने नीति अघि सारिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “मुलुकका सबै राजमार्ग क्षेत्रमा मोबाइल र इन्टरनेटको पहुँच विस्तार गर्न ‘हाइवे कभरेज’को काम सुरू गरिएको छ ।”
सूचना प्रविधिलाई आर्थिक रुपान्तरणको प्रमुख आधारका रुपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै मन्त्री शर्माले मुलुककै रुपान्तरणका लागि यो ठूलो विषय भएको बताइन्। नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्दै आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने र आगामी आर्थिक वर्षलाई त्यसको प्रारम्भ वर्षको रूपमा लिई तदअनुरूपको तयारी गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।
विसं २०७९ पुस १० गते वर्तमान सरकार गठन भएपछि सोही वर्षको माघ ३ गतेदेखि उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेकि थिईन्। रासस
प्रकाशित: २८ असार २०८१, शुक्रबार