
काठमाडौं ।
नोइजले भर्खरै आफ्नो नयाँ स्मार्टवाच घोषणा गरेको छ। ब्रान्डले यस स्मार्टवाचलाई विशेषगरी भारतीय बजारमा प्रिमियम मोडलको रूपमा ल्याएको छ।
हालसालै मात्र केही मुख्य फिचर्सहरूको खुलासा भएको यस नोइजफिट ओरिजिन अब आधिकारिक रूपमा लन्च गरिएको छ।
नोइजफिट ओरिजिनको स्पेक्स
ब्रान्डको पछिल्लो स्मार्टवाचमा १.४६ इन्चको एपेक्सभिजन एमोलेड प्यानल रहेको र यसले ४६६x४६६ रिजोल्युसन, ६०० निट्स पीक ब्राइटनेस, १०० प्लस वाच फेसेसका साथै अलवेज–अन डिस्प्ले प्रदान गर्नेछ। यो स्क्रिनले सहज डिजाइन र युजर–फ्रेण्डलीनेस प्रदान गर्ने वाचा गर्दै ब्रान्डको अल–न्यू नेबुला यूआई प्रदर्शन गर्ने जनाइएको छ।
साथै यो स्मार्टवाच नयाँ ईएन १ प्रोसेसरद्वारा संचालित रहेको छ, जसले कार्यहरूलाई सहज र निर्बाध रूपमा संचालन गर्न मद्दत गर्दै ३० प्रतिशत छिटो रेसपोन्स रेट प्रदान गर्ने थप उल्लेख छ। यसबाहेक यो स्मार्टवाच ब्रस्ड फिनिश र ३ एटीएम पानी प्रतिरोधका साथ स्टेनलेस स्टिल डिजाइन प्रयोग गरी बनाइएको उल्लेख छ।
नोइजफिट ओरिजिन २४/७ हार्ट रेट (हृदय गति) ट्र्याकिङ, स्लिप मनिटरिङ्ग (निद्राको निगरानी), रगत अक्सिजन स्तर मापन, स्ट्रेस (तनाव) ट्र्याकिङ र फिमेल साइकल ट्र्याकर जस्ता विभिन्न स्वास्थ्य सम्बन्धित सुविधाहरूको समर्थनको साथ आएको छ।
त्यसैगरी यस स्मार्टवाचमा जेस्चर कन्ट्रोल (इशारा नियन्त्रणहरू) र स्मार्ट विजेट्स पनि रहेको र क्विक ग्लान्समा महत्त्वपूर्ण डाटा देखाउने जनाइएको छ। एक पटकको पूर्ण चार्जमा यो मोडल ७ दिनसम्म संचालन हुन सक्ने र फास्ट चार्जिङ पनि समर्थन गर्ने उल्लेख छ। यस स्मार्टवाचलाई ब्लुटुथ ५.३ प्रयोग गरेर फोनसंग कनेक्ट गर्न सकिने छ।
मूल्य निर्धारण र उपलब्धता
नोइजले नोइजफिट ओरिजिन प्रिमियम स्मार्टवाचलाई जेट ब्ल्याक, सिल्भर ग्रे, मिडनाइट ब्ल्याक, मोजाइक ब्लू, क्लासिक ब्ल्याक र क्लासिक ब्राउन गरी ६ ओटा रङ भेरियन्टमा रिलिज गरेको छ। साथै यसको मूल्य ट्याग ६,४९९ भारतीय रुपैयाँ (लगभग ७८ अमेरिकी डलर) रहेको छ।
यो स्मार्टवाच ब्रान्डको आधिकारिक वेबसाइट र क्रोमा स्टोरहरूमा ५ जूनदेखि खरिद गर्न सकिने छ। साथै यो स्मार्टवाचलाई जून ७ तारिखदेखि अमेजन र फ्लिपकार्ट जस्ता अनलाइन ई–रिटेलरहरूमार्फत पनि बिक्रीमा जाने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार