खाद्य उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत

  • Technology Khabar | २३ जेष्ठ २०८१, बुधबार
खाद्य उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत

काठमाडौं ।

खाद्य तथा दाना उद्योग दर्ता सिफारिसका लागि अब खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग धाउनु पर्दैन। घर बसी बसी अनलाइनमार्फत सिफारिस प्राप्त गर्न सकिन्छ । त्यसका लागि विभागले सोमबार नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली सार्वजनिक गरेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहबाट सार्वजनिक गरेको सो अनलाइन प्रणालीबाट उद्योगीले जहाँबाट पनि उद्योग सञ्चालन तथा दर्ताका लागि सिफारिस लिन सक्छन्। सो प्रणालीबाट नयाँ उद्योगका लागि सिफारिस मात्र होइन, नवीकरण, खाद्य वस्तु तथा दाना उद्योगको अनुज्ञापत्र तथा उद्योगको अध्यावधिकसमेत गरिने विभागले जनाएको छ।

सो अनलाइन प्रणालीलाई उद्घाटन गर्दै कृषिमन्त्री साहले यो प्रणाली कार्यान्वनयमा आएपछि टाढा टाढाबाट उद्योग दर्ता सिफारिस लिनका लागि राजधानी आउनै पर्ने झन्झटको अन्त्य भएको बताईन। यसले काम छिटो र परदर्शी हुनुका साथै खाद्य, गुणस्तर तथा स्वच्छतामा पनि सहयोग पुर्याउने बताउँदै उनले सरकारी कार्यालयहरू कागजविहीन बनाउने नीति अन्तर्गत नै यो कार्य भएको बताईन्।

यसरी अनलाइन प्रविधिबाट सेवाग्राहीले सेवा प्राप्त गर्यो काम छिटो छिटो हुने, समयको बचत हुने, आर्थिक भार हुने र सबैभन्दा ठुलो कुरा काम पारदर्शी हुने भएकाले बिस्तारै सबै कार्यहरू अनलाइन प्रविधिमार्फत हुनुपर्ने कुरामा जोड दिईन्।

कृषि सचिव दीपक खरालले यो अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन हतार गर्न नहुने बताए। उनले भने, “आज यसको उद्घाटन भयो कम्तीमा असारमसान्तसम्म यसको परीक्षणकाल राख्नूस् र आगामी आर्थिक वर्षको साउनदेखि कार्यान्वयनमा ल्याउनूस्।”

प्रविधिमा कहिले पनि पूर्ण विश्वस्त हुनुहुँदैन, राम्रोसँग विकसित भएको छैन भने जुनसुकै बेला धोका दिन सक्छ, त्यसले यसको पूर्ण जाँचबुझ तथा कानुनी प्रावधानहरू हेरेर मात्र सञ्चालन गर्न उनले सुझाव दिए।

विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले यो अनलाइन प्रणालीले काम गर्न सजिलो हुने बताईन्।

अनुमति दिनुका साथै नवीकरणलगायतका काम यो प्रणालीबाट हुने भएकाले सबैका लागि सहज बताउँदै उनले यो प्रणाली खाद्य स्वच्छता तथा गुणस्तरमा पनि सहयोग पुर्याउने बताईन। आयातका अनुमति दिनका लागि अनलाइन प्रणाली यसअघिदेखि नै कार्यान्वयनमा आइसकेको बताउँदै उनले आउने दिनमा अरू अरू क्षेत्रमा पनि अनलाइन प्रविधिलाई विस्तार गर्ने बताईन्।

प्रकाशित: २३ जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...