Technology Khabar २० जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
म्यानमार स्थित नेपाली राजदूतावासले मे ३१ तारिखमा आयोजना गरेको नेपाल म्यानमार ट्रेड रिलेसन्स प्रोमेटिङ सफ्टवेयर कार्यक्रममा उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गर्ने प्रयास गरिएको छ। यसले नेपाल र म्यान्मारका आइटी सेक्टरका सरोकारवालाहरूबीच सम्बन्ध स्थापना गर्न पहल गरेको बताईएको छ।
कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्धारा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकासबारे प्रकाश पार्दै, नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीहरूको संक्षिप्त परिचय तथा उक्त कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको विवरण प्रस्तुत गरिएको थियो।
कार्यक्रमको दोस्रो भागमा सहभागी आईटी कम्पनीहरूले आफ्नो स्टल/बुथहरुमा आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शन तथा बुथ भ्रमण गर्ने व्यक्तिहरुसँगको अन्तरक्रिया समावेश थियो।
म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए। नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमा विकसित तथा पूर्ण रुपमा भरपर्दो रहेको उल्लेख गरे।
राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात ५०० मिलियन अमेरिकी डलरबाट २५ बिलियन डलर पुर्याउनुका साथै १५ लाख रोजगारी सृजना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको बताए। साथै, नेपाल–म्यानमार व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एकअर्काको आईटी र फिनटेक उत्पादन तथा सेवाहरू, उद्यमीहरूको सञ्जाल बढाउन र अत्यावश्यक सेवाहरू प्रदान गरी यस क्षेत्रलाई अझ मजबुत बनाउन जरुरी रहेको बताए।
त्यस्तै, याङ्गुन क्षेत्रका मुख्यमन्त्री यू सोई थेईन यस आधुनिक डिजिटल संसारमा यस कार्यक्रमको सान्दर्भिकता माथि जोड दिँदै दूतावास टोलीलाई पहलका लागि बधाई दिए। सहभागी नेपाली आईटी कम्पनीहरुलाई म्यानमारमा स्वागत गर्दै उनले दुई देशका आईटी क्षेत्रहरु बीचको सहकार्यलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, यूएमएफसीसीआईका अध्यक्ष यू आए वीनले नेपाली आईटी क्षेत्र अन्तर्गत व्यवसाय, प्रक्रिया र आउटसोर्सिङमा गरेको प्रगतिको प्रशंसा गरे। उनले डिजिटल रूपान्तरण विकल्प नभई व्यवसायको अस्तित्वका लागि महत्वपूर्ण भएको बताए। उनले यस कार्यक्रमले सेवा व्यापारका चुनौतीहरू पहिचान गर्न, सफ्टवेयरको मागलाई आपूर्तिसँग मिलाउन र म्यानमारको बैंकिङ, लघुवित्त र रेमिट्यान्स क्षेत्रमा सान्दर्भिक सफ्टवेयरको सम्भावित प्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत नेपाली प्रवासी भेषराज खतिवडाले आफ्नो अनुभव साट्दै नेपाली कम्पनीहरूलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गरे।
त्यसैगरी, यूएमआईएफसीसीआईका संयुक्त महासचिव र म्यानमार डिजिटल इकोनोमी एसोसिएसनका अध्यक्ष आउङ्ग जायर वीन कार्यक्रमको उद्देश्य म्यानमारको व्यापार चक्र, आईटी कम्पनीहरू, बैंकहरू, लघुवित्त र वित्तीय संस्थालाई नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीहरुबारे सूचना प्रवाह गर्नुरहेको बताए।
कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिहरूद्धारा नेपालबाट हाल निर्यात भैहरको आईटी उद्योगको विकासबारे प्रकाश पार्दै, नेपाली आईटी कम्पनीहरूले प्रदान गर्ने विभिन्न सेवाहरूको संक्षिप्त जानकारी दिइएको तथा कार्यक्रममा सहभागी भएका नेपाली आईटी कम्पनीहरूबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै म्यानमारमा डिजिटल वृद्धिलाई सहज बनाउन उपयुक्त प्रविधिको विकास गर्न नेपाली आईटी कम्पनीहरुले सहकार्य गर्ने इच्छा बताएका थिए।
कार्यक्रमका प्रमुख वक्ता तथा प्रमुख अतिथि म्यानमार केन्द्रिय बैंकका उप गभर्नरले नेपाली आईटी कम्पनीहरुद्वारा प्रदर्शन गरिएको कोर बैंकिङ सफ्टवेयर, वालेट, कम्प्लायन्स सोलुसन, केवाईसी व्यवस्थापन, रेमिटेन्स एपीआई सफ्टवेयर, पेइङ रिसिभिङ सफ्टवेयर, माइक्रोफाइनान्स संस्था र सहकारीले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल बैंकिङ सफ्टवेयर बारेमा गहिरो चासो लिएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य म्यान्मारका आईटी कम्पनीहरु, बैंकहरु, म्यानमारका लघुवित्त तथा वित्तीय संस्थाहरुले गर्ने व्यापारको सूचना प्रवाह गर्नु थियो। नेपाली आईटी उत्पादन र सेवाहरूको विस्तारका लागि सम्भावित क्षेत्रहरु पहिचान गर्नुका साथै दुई देशका उक्त क्षेत्रहरुबीच सम्बन्ध स्थापना गर्ने उद्देश्य समेत कार्यक्रमको थियो। कार्यक्रमको दोस्रो चरणमा १३ ओटा नेपाली कम्पनीहरुले बुथहरूमा आफ्ना उत्पादनहरू प्रदर्शन गरेका थिए।
उक्त कार्यक्रममा म्यानमारको केन्द्रीय बैंक, म्यानमार बैंक एसोसिएसन, म्यानमार महिला उद्यमी नेटवर्क, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन, निजी बैंकहरुका प्रतिनिधिहरु, माइक्रोफाइनान्स संस्थाहरु, इन्स्योरेन्स र रेमिट्यान्स कम्पनीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: २० जेष्ठ २०८१, आईतवार