Technology Khabar ४ चैत्र २०८०, आईतवार
काठमाडौं ।
नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ। रञ्जना नेपालको मौलिक लिपी हो।
क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण भएको र सोही लिपी सार्वजनिक भएको हो ।
यो लिपीलाई इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ।
लिपी सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मौलिक लिपी विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको, जीवनमा हर्षविभोर भएका पलहरुमा स्मरण भइरहने खुशी प्राप्त भएको बताईन्।
सन् २०१९ मा विश्वभर फैलिएको कोविड १९ को महामारीका समयमा घर बाहिर निस्कन नपाउँदाका बखतको स्मरण गर्दै उपप्रमुख डंगोलले भनिन, ‘त्यस बेला प्रविधिमा लिपी रुपान्तरण गर्ने अभ्यास गर्यौँ। विश्वभरका लिपी विज्ञ र जिज्ञासुहरुसँग अन्तरक्रियात्मक छलफल गर्यौं। ती कठिन दिनहरुको नतिजा आज प्राप्त भएको छ।’
सन् २०१९ मा जापानमा भएको लिपी सम्मेलनमा रञ्जना लिपीको प्रस्तुतिकरण भएको थियो। सम्मेलनको अन्त्यमा, लिपीलाई सबैले हेर्न सक्ने, देख्न सक्ने र प्रयोग गर्न सक्ने बनाउन प्रतिवद्धता गरिएको थियो र त्यो प्रतिवद्धता पूरा भएको डंगोलको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफ्नै मौलिक लिपीमा भाव प्रकट गर्न सक्ने स्वरुपमा ल्याउनु ठूलो उपलब्धी भएको उल्लेख गरे। प्रविधिमा आधारित प्रयोगले लिपी संरक्षणमा योगदान पुग्ने उनको भनाइ थियो ।
लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले लिपीसँग राष्ट्रिय अन्तर\राष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत विषयमा छलफल तथा गोष्ठीबाट पृष्ठपोषण लिइएको थियो।
फाउन्डेशनका अध्यक्ष आनन्दकुमार महर्जनकाअनुसार रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी एक टाइपसँग सहकार्य गरेको हो। यसमा फन्ट विकासकर्ता तथागत बिश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये हुनुहुन्छ।
युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ। देवनागरिक युनिकोडका साथै नेबा युनिकोडमा पनि उपलब्ध हुनेछ। यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकुलित भएको बताईएको छ।
प्रकाशित: ४ चैत्र २०८०, आईतवार