मोबाइल सेवाको गुणस्तर कमजोर देखिएपछि अपरेटरहरुलाई नियामकको कडा आदेश

  • Technology Khabar | ४ चैत्र २०८०, आईतवार
मोबाइल सेवाको गुणस्तर कमजोर देखिएपछि अपरेटरहरुलाई नियामकको कडा आदेश

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशका प्रमुख शहरहरु र राजमार्गहरुमा मोबाइल सेवाको गुणस्तर कमजोर देखिएको भन्दै सेवा प्रदायकहरुलाई कडा आदेश दिएको छ।

प्राधिकरणले गएको फागुन १६ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल आजियाटा लिमिटेड दुबैलाई पत्र पठाउँदै विभिन्न स्थानहरुमा मोबाइल सेवाको गुणस्तरको बारेमा व्यापक जनगुनासो रहेको भन्दै उक्त स्थानहरुमा गुणस्तर सुधार गर्न भनेको हो।

प्राधिकरणले स्थान तोकेरै काठमाडौं उपत्यका, पोखरा तथा भरतपुर महानगरपालिकाका बस्तिहरुमा गुणस्तर कमजोर भएको उल्लेख गरेको छ।

यसैगरी देशभरका राजमार्गहरुमा समेत गुणस्तर कमजोर भएको उल्लेख गरेको छ। जसमध्ये पृथ्वी राजमार्ग, मुग्लिन-नारायणघाट र महेन्द्र राजमार्गअन्तरगत भरतपुर-काकडभिट्टा सडक खण्ड रहेका छन्।

नियामकले उक्त स्थानहरुमा दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ को विनियम ७ बमोजिम प्राधिकरणबाट स्वीकृत भएको स्ट्याण्डर्ड अपरेटिङ्ग प्रोसिड्यूर फर क्यूओएस मेजरमेन्ट थ्रो ड्राइभ टेस्टअनुरुप मोबाइल भ्वाइस र डाटा सेवाको गुणस्तर मापन गरी ४५ दिनभित्र तोकिएको मापदण्डअनुसार प्रतिवेदन बुझाउन आदेश दिएको छ।

प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदिप पौडेलले मोबाइल सेवाको गुणस्तरको बारेमा निकै गुनासो आएको र सेवाको गुणस्तर समेत कमजोर देखिएको बताए।

“हामीले दुबै अपरेटरलाई समयभित्रै गुणस्तर परीक्षण प्रतिवेदन बुझाउन भनेका छौं। त्यसले पनि सुधार देखिएन भने कडा कारबाही गर्नेछौं,” सहायक प्रवक्ता पौड्यालले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार पछिल्लो समय दूरसञ्चार सेवाको गुणस्तर बढाउन प्राधिकरण प्रयासरत रहेको छ। यसका लागि विभिन्न कानूनहरु बनाउनुका साथै निर्देशन समेत जारी गर्दै आएको छ।

“हामी उपभोक्ताले गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने विश्वास गर्दछौं। यसमा अपरेटरले तोकिएको मापदण्डअनुसार सेवा दिनैपर्छ,” उनले भने।

प्रकाशित: ४ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...