मंसिरमा मोबाइल बैंकिङ मार्फत दुई खर्ब ६३ अर्बको भुक्तानी

Technology Khabar ३ माघ २०८०, बुधबार

काठमाडौं ।

नेपालमा मोबाइल बैंकिङ मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० मंसिरको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ मार्फत दुई खर्ब ६३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ।

गत वर्ष २०७९ मंसिरमा मोबाइल बैंकिङ मार्फत एक खर्ब ६० अर्ब ३ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। एक वर्षको अवधिमा मोबाइल बैंकिङ मार्फत हुने भुक्तानी एक खर्ब ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ अर्थात ६४.६३ प्रतिशतले बढेको छ।

यस्तै भुक्तानी रकम बढेसँगै मोबाइल बैंकिङको प्रयोगकर्ता पनि उल्लेखनीय रुपमा बढेको देखिएन्छ। गत वर्ष २०७९ मंसिरमा मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ९७ लाख ६६ हजार ४१५ रहेको हाल २ करोड २६ लाख २४ हजार ६०७ पुगेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

 

प्रकाशित: ३ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया