
काठमाडौं ।
दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर खरिद बिक्री गरेको जानकारी नेपाल दूरसञ्चार प्राधिरणलाई बुझाएको छ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेल आजियाटाले शेयर खरिद बिक्री सम्बन्धमा प्राधिकरणलाई पत्र पठाउँदै जानकारी दिएको बताए।
“एनसेल आजियाटाले शेयर खरिद बिक्रीको जानकारी हिजो (बुधबार) दिएको छ। प्राधिकरणले यसमा अध्ययन गरिरहेको छ,” पौडेलले टेक्नोलोजीखबरसँग भने।
गत असोज १२ मा आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। यस विषयको जानकारी भने कम्पनीको मंसिर १३ गते प्रकाशित तेस्रो त्रैमासको वित्तीय विवरण मार्फत सार्वजनिक गरिएको थियो।
२०७२ चैतमा स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत सेयर किनेर आजियाटा ग्रुप एनसेलमा भित्रिएको थियो। आजियाटाले टेलिया सोनेराको सेयर खरिद गर्दा एनसेलको मूल्यांकन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी गरिएको थियो।
आजियाटा बोर्डले नेपालको एनसेलका कारण समूहले घाटा व्यहोरेको भन्दै स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरको मूल्यमा बिक्री गरेको बताएको छ।
प्रकाशित: ५ पुष २०८०, बिहीबार