Technology Khabar ५ पुष २०८०, बिहीबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ। मन्त्रालयका प्रवक्ताले उक्त विद्येयक आइतबार सार्वजनिक गर्ने योजना रहेको जानकारी दिएका छन्।
सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका बेला सरकारले नियमनका लागि सङ्घीय संसद्मा विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो।
मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले उक्त मस्यौदा विद्येयक छिटै सार्वजनिक गरिने बताए।
“हामीले अहिले सरोकारबालासँग छलफल गरिरहेका छौं। ती सबै सुझाबलाई समेटेर आइतवार सार्वजनिक गर्छौं,” उनले टेक्नोलोजीखबरसँग भने।
यसैबीच विज्ञापन बोर्डले आज आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले सामाजिक सञ्जालको नियमन र व्यवस्थापन चुनौतीको विषय बनेका सन्दर्भमा आमनागरिक र सरोकारवालाको आग्रहका आधारमा विधेयक बनाइएको तथा मस्यौदालाई चाँडै सुझावका लागि सार्वजनिक गरिने जानकारी दिएको राससले उल्लेख गरेको छ।
सो विधेयक मस्यौदा समितिका संयोजक सहसचिव सुवेदीले पहिलो पटक यसप्रकारको कानुन बन्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जालमा हुनसक्ने दुरुपयोग र गलत सूचनाको प्रयोग तथा त्यसबाट हुनसक्ने हानि नोक्सानी रोक्न विज्ञापन नियमनका विषय पनि उक्त कानुनले सम्बोधन गर्ने बताए।
नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी गरिसकेको छ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले प्रस्तावित विधेयकमा विज्ञापनदाता, एजेन्सी र सरोकारवालासँगको राय लिएर सुझाव दिइने बताए। उनले प्रविधिको विकास र विस्तारलाई रोक्न नसकिने भएकाले यसको नियमन तथा व्यवस्थापन आवश्यक भएकाले बोर्डले सरोकारवालासँगको परामर्शमा विद्युतीय माध्यम र सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि नियमनका मापदण्ड तयार गरेको बताए।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम धितालले नियमन गरिँदा विज्ञापन एजेन्सीका १५ प्रतिशत सेवा शुल्क कटौती हुन नहुने र विज्ञापन बजारमा भइरहेको रोजगारीमा निरुत्साहन हुन नहुनेमा जोड दिए। रासस
प्रकाशित: ५ पुष २०८०, बिहीबार