मेचीनगर नगरपालिकाले ई-रिक्सालाई ‘रुट परमिट’ जारी गर्ने

  • Technology Khabar | २९ मंसिर २०८०, शुक्रबार
मेचीनगर नगरपालिकाले ई-रिक्सालाई ‘रुट परमिट’ जारी गर्ने
सांकेतिक तस्विर

काठमाडौं ।

झापाको मेचीनगर नगरपालिकाले तीनपाङ्ग्रे (ई रिक्सा) दर्तासहित ‘रुट परमिट’ जारी गर्ने भएको छ। मेचीनगर नगरपालिकाको तीनपाङ्ग्रे (ई रिक्सा) व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम नगर क्षेत्रभित्र रुट र सङ्ख्या तोकेर ई रिक्सा दर्ता गर्ने भएको हो।

नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरे अनुसार काँकडभिट्टा स्टेसन भई मेचीनगर नगरपालिका क्षेत्र भरी चल्ने गरी पाँच सय ओटा, इँटाभट्टा चोक स्टेसन भई मेचीनगर नगरपालिका क्षेत्रभरि चल्ने गरी एक सय ओटा, धुलाबारी चोक स्टेसन भई मेचीनगर नगरपालिका क्षेत्रभरि चल्ने गरी दुई सय ओटा ई रिक्सा दर्ता हुने भएका छन् ।

चारआली चोक स्टेसन भई मेचीनगर नगरपालिका क्षेत्रभरि चल्ने गरी एक सय ओटा तोकिएको छ ।

अधिकतम पाँच सयसहित न्यूनतम पाँच ओटासम्म विभिन्न चोक तथा सडक तोकेर रुट परमिट दिने भएको हो। जहाँ तोकिएर दर्ता भए पनि नगरपालिका भित्र ओहोरदोहोर गर्न रोक नलाग्ने बताइएको छ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार ई रिक्साका कारण दुर्घटनाको जोखिम नहोस् र सबैतिर सहज रूपमा सञ्चालन होस् भनेर रुट परमिट दिँदा सकेसम्म सबै चोक तथा बजार क्षेत्रलाई लक्षित गरेर दर्ता गरिन लागेको हो ।

दर्ता भएका ई रिक्साहरू जहाँ दर्ता भएका हुन्, त्यसलाई केन्द्र बनाएर सञ्चालन हुनुपर्ने छ।

मेचीनगर नगरपालिकाको सडक क्षेत्रमा सञ्चालित तीन पाङ्ग्रे (ई रिक्सा) लगायतका साना यातायात/सवारीसाधनको सञ्चालन अनुमति, रुट निर्धारण, भाडादर निर्धारण, सुरक्षित तथा गुणस्तरीय सेवा प्रवाह, पार्किङलगायतका कार्य व्यवस्थित तथा नियमन गर्न दुई वर्षअघि नै कार्यविधि बनाएको थियो।

एक वर्षअघि नै कार्यपालिका बैठकबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) ‘ट’, उपदफा (४) ‘ट’ बमोजिमको कार्य गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि स्वीकृत गरिएको नगरपालिकाले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार