
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को इन्टर्नेट (इ-मेल सहित)को दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र खारेज भएको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले सार्वजनिक सूचना मार्फत युटिएलसहित अन्य दुई सेवा प्रदायकहरुको अनुमति पत्र खारेज भएको जनाएको छ।
प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नबिकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नविकरणको लागि निवेदन पेश नगरेको भन्दै उनीहरुको लाइसेन्स खारेज गरेको हो।
उनीहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः खारेज भएको हो।
“साथै उक्त संस्थाहरुले नियमानुसार तिर्न/बुझाउन पर्ने रकम/ दस्तुर तथा विवरणहरु यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न / बुझाउन हुन अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने,” सूचनामा भनिएको छ।
सूचनाअनुसार म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको समेत अनुमति पत्र स्वत खारेज भएको छ।
युटिएलको इन्टर्नेट (इ-मेल सहित)को अनुमति पत्र स्वत खारेज भएपनि कम्पनीको लिमिटेड मोबिलिटीको अनुमति पत्र भने कार्यान्वयनमा नै रहेको छ।
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार