Technology Khabar २७ मंसिर २०८०, बुधबार
काठमाडौं ।
अमरगढी नगरपालिकाका किसानले आलु बालीको डिजिटल बीमा गर्ने भएका छन्।
एन्ड्रोइड फोनमा प्लान्टसेट कृषि बीमा एप डाउनलोड गरेर कृषक आफैँले आलु बालीको बीमा गर्नसक्ने भएका हुन्। बारीको चारैतिरबाट तस्बिर खिचेर एपमा अपलोड गर्न सकिने छ।
तस्बिरको आधारमा आलु बालीमा भएको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति प्रदान गरिने डिजिटल बीमाको विकास गरिएको अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश भण्डारीले जानकारी दिए।
उनकाअनुसार अमरगढी नगरपालिकाभित्र एक याममा छ सयदेखि सात सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको छ। वर्षमा दुई याममा हुने आलु खेतीको दुईवटै याम हेर्दा एक हजार दुई सय बढी हेक्टर क्षेत्रफलमा हुँदै आएको उनले बताए।
हिमालयन बीमा कम्पनीसँगको सम्झौतामा आलुको डिजिटल बीमा गर्न थालिएको उनले बताए। डिजिटल बीना गर्न किसान आफैँले तस्बिर अपलोड गर्न मिल्ने र तस्बिरकै आधारमा क्षतिपूर्ति दिन मिल्ने भएकाले छिटोछरितो काम हुने उनको भनाइ छ।
अमरगढी नगरपालिकाले पकेट क्षेत्रको विकास गर्न बिउमा ५० प्रतिशत अनुदान, सिंचाइमा अनुदान, भण्डारण र बोरामा किसानलाई अनुदान दिने गरेको छ। चालू आर्थिक वर्षमा बडा नम्बर २, ३, ६ र ७ का गरेर दुई वटा पकेट क्षेत्रमा अनुदानका ग्रिप नाम गैरसरकारी संस्थाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएका छन्। गोरखापत्रबाट
प्रकाशित: २७ मंसिर २०८०, बुधबार