
काठमाडौं ।
नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापना कायम गर्न सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्रदान गर्न नसकिएको प्रहरीको गुनासो छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित मङ्गलटारमा रहेको इलाका प्रहरी कार्यालयले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा कार्यालयका प्रमुख पञ्चलाल गोलेले रातिको समयमा कार्यालय भएको क्षेत्रमा मोबाइलको नेटवर्क नहुँदा नागरिकको समस्या र गुनासोलाई सम्बोधन गर्न कठिनाई भएको गुनासो गरे।
इलाका प्रहरी कार्यालय क्षेत्रमा नेपाल टेलिकम र एनसेलको सेवामा कमजोर भएका कारण नागरिकले दिनुपर्ने सूचना र प्रहरीबाट हुनुपर्ने शान्ति सुरक्षाको काममा प्रभावकारिता आउन नसकेको उनको भनाइ थियो ।
“दिउँसोको समयमा नेटवर्क आए पनि रातिको समयमा दबै सञ्चारमाध्यमका नेटवर्कले काम गर्दैनन् ।” उनले भने, “धेरै वर्ष अगाडिदेखिको यस क्षेत्रको समस्या भनेको सञ्चारको पहुँच प्रभावकारी नहुनु हो।”
पछिल्लो समयमा कार्यालय अनुगमनको क्रममा पुगेका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई सूचना र सञ्चारको क्षेत्रमा व्यहोर्नुपरेको समस्याबारे जानकारी गराउँदा उनीहरूले समाधान गर्न सम्बन्धित ठाउँमा पहल गर्ने आश्वासन दिएको प्रमुख गोलेले बताए।
विशेषगरी रातिको समयमा हुने आपाराधिक घटनाको सूचना बेलैमा प्राप्त हुन नसक्दा आपराधिक घटनामा संलग्न हुने व्यक्ति उम्कने गरेको उनको भनाइ थियो।
भौगोलिक विकटता, जनशक्ति अभब ठाउँ अनुसारको सवारीसाधन नहुनु र भएका सवारी साधन पनि थोरै हुँदा स्थानीय जनप्रतिनिधि, सङ्घ÷संस्था र नागरिककै सहयोग लिनुपरेको प्रमुख गोलेको भनाइ थियो।
पछिल्लो समय गाउँपालिकाको सहयोगमा मुख्य बजार क्षेत्रमा सिसिटिभि, जडान गरिएपछि घटनाको अनुसन्धानमा सहज भएको जनाइएको थियो।
कार्यालयबाट सो अवधिभित्र २८ ओटा स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र आठ ठाउँमा सिसिटिभि जडान गरिएको जानकारी दिइयो।
नागरिकले भने घटना भएको समयमा नै प्रहरीको उपस्थिति र सुरक्षाको व्यवस्था प्रभावकारी नभएको गुनासो गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश लामाले संवेदनशील स्थानमा सिसिटिभि जडान गरिएको र अन्य स्थानमा पनि क्रमशः थप्दै जाने जानकारी दिए ।
रोशी गाउँपालिकाका–११ को भिखोरी डाँडामा भएको नेपाल टेलिकमको टावरमा राष्ट्रिय विद्युतीकरणको लाइन विस्तार नभएका कारण सोलारमार्फत विद्युत सञ्चालन गरिएकाले रातिको समयमा नेटवर्कको समस्या हुने गरेको बताईएको थियो। राष्ट्रिय प्रसारण लाईन जोड्ने प्रक्रियामा रहेको र विद्युत उपलब्ध भएपछि नेपाल टेलिकमको नेटवर्कको समस्या समाधान हुने र बिपी राजमार्गमा पनि फ्रि वाइफाईको लागि इन्टरनेटको सुविधा पुर्याउन पहल भइरहेको बताइएको थियो। रासस
प्रकाशित: २६ मंसिर २०८०, मंगलवार