ह्वावेले फ्रान्सको अल्सासमा युरोपका लागि प्रति वर्ष १ अर्ब फाइभजी सामानहरू बनाउने

  • Technology Khabar | २६ मंसिर २०८०, मंगलवार
ह्वावेले फ्रान्सको अल्सासमा युरोपका लागि प्रति वर्ष १ अर्ब फाइभजी सामानहरू बनाउने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले फ्रान्समा आफ्नो पहिलो विदेशी कारखाना संचालनमा ल्याउने भएको छ। यहाँबाट प्रति वर्ष १ अर्ब फाइभजी सामानहरू उत्पादन गर्ने लक्ष्य राखिएको छ।

फ्रान्स इन्टर न्युज रेडियोमा एक विशेष अन्तर्वार्तामा, ह्वावे फ्रान्सका उपमहाप्रबन्धक मिङ्गगाङ झाङले ह्वावेको पहिलो विदेशी कारखाना फ्रान्सको उत्तरपूर्वी अल्सास क्षेत्र, बास-रिनको ब्रुमाथमा सम्पन्न हुने खुलासा गरेका हुन्।

“कारखाना निर्माण भइरहेको छ – दीर्घकालीन रूपमा ५०० रोजगारीहरू सिर्जना हुने र प्रति वर्ष १ अर्ब फाइभजी सामानहरू उत्पादन गर्ने महत्वाकांक्षा छ। र ह्वावेले सम्पूर्ण युरोपेली बजारमा आपूर्ति गर्न फ्रान्समा उत्पादन गरिरहेको छ,” झाङले भने।

उनले फ्रान्सको कारखानाले सौर्य ऊर्जा प्रयोग गरी दिगो सामग्री प्रयोग गर्ने र वातावरणीय प्रभावलाई ध्यानमा राखेर “अत्याधुनिक प्रविधिको अत्याधुनिक कारखाना” हुने दाबी गरेको डिजीटाइम्समा रिपोर्ट गरिएको छ।

रिपोर्टअनुसार, ह्वावेले यस परियोजनामा २०० मिलियन युरो लगानी गरिरहेको छ, जसले ३०० प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ र २०२५ मा फाइभजी उपकरण उत्पादन सुरु गर्ने प्रक्षेपण छ।

अन्तर्वार्तामा झाङले अमेरिकी प्रतिबन्धका चुनौती, नवप्रवर्तन, ५जी चुनौती र कम्पनीको विविध लगानीलगायतका विभिन्न पक्षलाई पनि सम्बोधन गरे।

अमेरिकी प्रतिबन्धका कारण ३० प्रतिशत राजस्व घाटा भए पनि ह्वावेले अनुसन्धान र विकासमा आफ्नो लगानी बढाएको छ।

ह्वावेले गत वर्ष सम्म २२ देखि २३ बिलियन युआना लगानी गरेको र, यसको कारोबारको २५ प्रतिशत अनुसन्धान तथा विकासमा लगाएको झाङले भनेका छन्। यस्तै ८० मिलियन युरो वा सो भन्दा बढी फ्रान्समा हरेक वर्ष अनुसन्धानमा खर्च गर्ने बताईएको छ।

प्रकाशित: २६ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...