टाटाले भारतको सबैभन्दा ठूलो आईफोन कारखाना स्थापना गर्ने

  • Technology Khabar | २६ मंसिर २०८०, मंगलवार
टाटाले भारतको सबैभन्दा ठूलो आईफोन कारखाना स्थापना गर्ने

काठमाडौं ।

एप्पलले आफ्नो आईफोन उत्पादनलाई विभिन्न कन्ट्र्याक्ट म्यानुफ्याक्चरर्स (टेकेदारी निर्माताहरू) मार्फत भारतमा विस्तार गरिसकेको छ। त्यसैगरी अब, आईफोन उत्पादनको लागि सबैभन्दा ठूलो फ्यासिलिटी टाटा समूहले स्थापना गर्ने तयारी गरेको छ।

एप्पल आईफोन अन्य आपूर्तिकर्ताहरू जस्तै फक्सकन र विस्ट्रोनबाट फ्यासिलिटीहरूमा निर्माण हुने गरेको छ। हालै, विस्ट्रोनले टाटासँग सम्झौता गरेर भारतीय जायन्टलाई पहिलो स्वदेशी आईफोन निर्माता बन्न मद्दत गरेको थियो।

यसका साथै टाटा समूहले तमिलनाडु (दक्षिण भारतीय राज्य) को होसुरमा छुट्टै विशाल आईफोन एसेम्बली प्लान्ट निर्माण गर्ने भएको छ। यो ठूलो फ्यासिलिटी क्युपर्टिनोमा आधारित जायन्टको भारतमा आईफोन निर्माण विस्तार गर्ने योजना अनुरूप रहेको उल्लेख गरिएको छ।

टाटाको नयाँ आईफोन कारखानामा २० वटा एसेम्बली लाइन हुने अपेक्षा गरिएको छ भने यसले ५०,००० कामदारहरू भित्र्याउने सम्भावना रहेकाले यसले आगामी दुई वर्षमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने जनाइएको छ।

साथै आगामी १२ देखि १८ महिनाभित्रमा नयाँ साइट सञ्चालनमा आउने अपेक्षा गरिएको छ। एप्पलले चीन बाहिर आफ्नो आपूर्ति श्रृंखला विविधीकरण गर्न आईफोनको लागि आफ्नो भारतीय उत्पादन विस्तार गर्न काम गरिरहेको छ।

कम्पनी र यसका आपूर्तिकर्ताहरूले आगामी दुई देखि तीन वर्षमा भारतमा वार्षिक ५० मिलियन आईफोनहरू बनाउने लक्ष्य राखेको उल्लेख छ। साथै यसका योजनाहरू स्थानीय सरकारको प्रोत्साहनबाट पनि थप बलियो हुने उल्लेख गरिएको छ।

प्रकाशित: २६ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...