
काठमाडौं ।
अटोमोबाइलदेखि सफ्टवेयरसम्मको व्यवसायमा संलग्न भारतीय टाटा समूहले भारतीय राज्य असममा सेमीकन्डक्टर (अर्धचालक) प्रशोधन केन्द्र स्थापना गर्न आवेदन दिएको छ। यस आयोजनामा ४० हजार करोड भारतीय रुपैयाँ लगानी हुनेछ। पछिल्ला केही वर्षहरूमा, अटोमोबाइल जस्ता केही क्षेत्रहरूमा कम्पनीहरूले सेमीकन्डक्टरको अभावका कारण कठिनाइहरूको सामना गर्नुपरेको छ।
भारतको आसाम राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माले भने, “टाटा समूहले राज्यमा ४०,००० करोडको लगानीमा अर्धचालक प्रशोधन केन्द्र स्थापना गर्न आवेदन दिएको छ। यसले ठूलो परिवर्तन ल्याउनेछ।
उनले स्वरोजगारका अवसरहरू बढाउन र युवाहरूलाई आत्मनिर्भर बनाउन मुख्यमन्त्री आत्मनिर्भर आसाम अभियान सुरु गरिएको बताए। यसअन्तर्गत दुई लाख युवालाई उद्यमी बनाइने छ। केन्द्र सरकारले पनि भारतमा सेमीकन्डक्टर उत्पादनका लागि प्रोत्साहन घोषणा गरेको छ।
अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले पनि देशमै सेमीकन्डक्टरको उत्पादन सुरु गर्ने योजना बनाएको छ।
माइक्रोन टेक्नोलोजीले गुजरातको सानन्दमा एक उन्नत सेमीकन्डक्टर एसेम्बली प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ। टाटा प्रोजेक्टले यो प्लान्ट निर्माण गर्नेछ। यो प्लान्ट ९३ एकडमा हुनेछ।
भारतकै रिलायन्स इन्डस्ट्रिजले पनि सेमीकन्डक्टर उत्पादनमा प्रवेश गर्ने योजना बनाएको छ। यसका लागि रिलायन्स इन्डस्ट्रीजले विदेशी चिप निर्माताहरूसँग प्राविधिक साझेदारी सम्बन्धमा वार्ता गरिरहेको छ। तर, कम्पनीले यस क्षेत्रमा लगानी गर्ने वा नगर्ने निर्णय गरेको छैन।
प्रकाशित: २५ मंसिर २०८०, सोमबार