आजियाटा समूहले किनेदेखि एनसेलको आम्दानी घट्दो क्रममा, ७ वर्षमा ३२ प्रतिशतले घढ्यो आम्दानी

  • Technology Khabar | १३ मंसिर २०८०, बुधबार
आजियाटा समूहले किनेदेखि एनसेलको आम्दानी घट्दो क्रममा, ७ वर्षमा ३२ प्रतिशतले घढ्यो आम्दानी
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

-निर्दोष घोरसाइने

मलेसियन कम्पनी आजियाटा समूह नेपाली टेलिकम अपरेटर एनसेलबाट बाहिरिने भएको छ। २०७२ चैतमा स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत सेयर किनेर आजियाटा एनसेलमा भित्रिएको थियो।

आजियाटा बोर्डले नेपालको एनसेलका कारण समूहले घाटा व्यहोरेको भन्दै सेयर बेच्ने निर्णय गरेको हो।

“नेपालको दृष्टिकोण बढ्दो चुनौतीपूर्ण छ, त्यसैले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ र तदनुसार एनसेललाई बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरेको छ। हामी विश्वास गर्छौं कि यो कदमले आजियाटालाई हाम्रा रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउनेछ र यो हाम्रा सबै शेयरधनीहरूको उत्कृष्ट दीर्घकालीन हितमा छ,” बुधबार बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

आजियाटा समूह टेलिया सोनेराको सेयर किनेर नेपालमा प्रवेश गरेदेखि नै एनसेलको आम्दानी निरन्तर रुपमा घट्दै गएको आजियाटाको वित्तीय विवरणमा देख्न सकिन्छ।

आजियाटा समूह एनसेलमा प्रवेश गरेका वर्ष सन् २०१६ मा एनसेलले कुल ५८ अर्ब ६५ करोड १० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो। आजियाटा नेपाल प्रवेश गरेको वर्षको तुलनामा गत वर्ष सन् २०२२ मा आइपुग्दासम्म एनसेलको राजश्व ३२.१ प्रतिशतले घटेको देखिन्छ।

आजियाटाको वित्तीय विवरणअनुसार नेपालमा प्रवेश गरेको वर्षदेखि निरन्तर रुपमा कम्पनीको राजश्व घटेको देखिन्छ।

सन् २०१७ मा एनसेलले ५८ अर्ब ५ करोड ४० लाख राजश्व संकलन गरेको थियो। सन् २०१८ मा एनसेलको राजश्व ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ थियो। सन् २०१९ मा एनसेलले ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

सुरुवाती तीन वर्षमा थोरै रकमले मात्र एनसेलको राजश्व घट्न सुरु भएको थियो। तर २०२० मा आईपुग्दा एनसेलको राजश्व आजियाटा नेपाल भित्रिएको वर्षको तुलनामा करिब १७ अर्ब रुपैयाँले राजश्व घटेको थियो। सन् २०२० मा एनसेलको राजश्व ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ थियो।

२०२१ मा थोरैले घटेर एनसेलको राजश्व ४१ अर्ब ४५ करोड रुपैयाँ आएको थियो। गत वर्ष सन् २०२२ मा एनसेलको राजश्व ३९ अर्ब ८१ करोड रुपैयाँमा सिमित भएको थियो।

सन् २०२३ को तेस्रो त्रैमासिकसम्म एनसेलले २८ अर्ब २७ करोड राजश्व संकलन गरेको छ।

निरन्तर घट्दो राजश्व र २५ वर्षपछि सकिने लाइसेन्स नवीकरणको अन्यौलताकाबीच आजियाटा एनसेल नेपालबाट बाहिरिने अवस्थामा पुगेको देखिन्छ। जसलाई एनसेलको मलेशियाली लगानी समूह आजियाटा ग्रुप बर्हादलेसमेत उल्लेख गरेको छ। जसमा नेपाली बजारमा चुनौतीहरु बढ्दोक्रममा रहेको उल्लेख छ।

सम्बन्धित समाचार-

मलेसियन आजियाटा ग्रुपले एनसेल आजियाटा बेच्ने निर्णय, नेपाली बजार चुनौतीपूर्ण भएको ठहर

प्रकाशित: १३ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार