एमडीएमएसमा ‘बन्द गर्ने’ सिस्टमनै नभएपछि अपरेटरलाई निर्देशन दिएर ‘फोन लक’ गराउँदै दूरसञ्चार प्राधिकरण

Technology Khabar २१ कार्तिक २०८०, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम अपरेटरहरुलाई निर्देशन दिँदै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका फोनहरुको नेटवर्क बन्द गराएको छ।

प्राधिकरणले आफूसँग भएको हालको एमडीएमएस सिस्टम फोन दर्ताको लागि मात्र संचालन भएपछि सेवा प्रदायकहरुलाई निर्देशन दिँदै फोनहरुको आईएमईआई लक वा बन्द गराएको हो।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एमडीएमएसबाट हाल ८०४ ओटा महंगा फोनहरु बन्द गराएको बताएका छन्। तर उनले यसको लागि नेटवर्क अपरेटरहरुलाई कुनै पत्र नपठाएको जिकिर गरे।

“पत्र पठाएको होईन्। हामीले सिस्टमबाटै ब्लक गरेको हो। अटोमेटिक नै हुन्छ, आईएमईआई नम्बरनै बन्द हुन्छ” प्रवक्ता पौडेलले भने।

तर उनले एमडीएमएसबाट नै सिधै फोनहरु बन्द गराएको हो भन्ने प्रश्नको उत्तर दिँदै भने, “म प्राविधिक होईन त्यसैले अरु कुरा थाहा छैन्। मैलेपनि सोध्नै पर्दछ।”

“हाम्रै सिस्टम हो तर अपरेटर थ्रु नै हुन्छ। अपरेटरसँग सम्पर्क हुन्छ,” उनले थप स्पष्ट पारे।

उता प्राधिकरण स्रोतले भने एमडीएमएसबाट फोन लक गर्ने सिस्टम र क्षमता नै नभएपछि टेलिकम अपरेटरहरुमार्फत बन्द गराईएको जानकारी दिएको छ। स्रोतकाअनुसार हालसम्म एमडीएमएसको सिस्टमका केहि उपकरणहरु नै भन्सारमा रहेका छन् वा कतिपय आएकै छैनन्। जसले गर्दा अहिलेको चलिरहेको एमडीएमएसको सिस्टमबाटै अवैध फोनहरुलाई ‘नेटवर्क लक’ गर्न सकिँदैन्।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणसँग हाल संचालनमा रहेका फोन बन्द गर्ने सिस्टम नै नभएको खुलासा

प्राधिकरण स्रोतले टेक्नोलोजीखबरलाई बताएअनुसार सोमबार दिउँसो नै दूरसञ्चार सेवा प्रदायकहरु नेपाल टेलिकम र एनसेल आजियाटालाई बोलाएर एमडीएमएसमा सहजीकरणको लागि पत्र दिएको थियो।

उक्त पत्रमा भनिएको छ, “एमडीएमएसअनुसार ग्रे लिष्टमा भएका फोनहरु बन्द गर्न सहजीकरण गरिदिनुहुन्” सोही पत्रको आधारमा हाल दर्ता नभएका भनिएका ८०४ फोनहरुको आईएमईआई सेवा प्रदायकहरुलाई उपलब्ध गराएर बन्द गर्न निर्देशन दिएको थियो।

“प्राधिकरणले आफूसँग एमडीएमएसबाट बन्द गर्ने सिस्टम नभएपछि सेवा प्रदायकहरुलाई निर्देशन दिएर फोन लक गराएको हो,” स्रोतले भन्यो, “सेवा प्रदायकहरुको नेटवर्कमा चलिरहेका फोनहरु दर्ता नभएको भन्दै बन्द गर्ने सूची पठाएको थियो।”

स्रोतकाअनुसार उक्त सूचीमा अधिकांश आईफोनहरु रहेका थिए। जसमध्ये सबैभन्दा धेरै एनसेलका प्रयोगकर्ताहरु रहेका छन्।

प्राधिकरणले दूरसञ्चार ऐन २०५३ अनुसार सेवा प्रदायकलाई निर्देशन दिनसक्ने अधिकार रहेको छ सोहीअनुसार आवश्यक निर्देशन समय समयमा दिँदै आएको छ। र हाल पनि निर्देशन दिएरै फोन लक गराईएको हो।

उता अपरेटरहरु सम्बद्ध स्रोतहरुले पनि निर्देशनसहितको पत्र आएको र नियामकको निर्देशन पालना गरिएको बताए।

“हिजै पत्र पठाएर आईएमइआई लक गरिदिन भनिएको थियो। नियामकको निर्देशन अपरेटरहरुले पालना गर्नैपर्दछ,” स्रोतले भन्यो।

अपरेटर स्रोतकाअनुसार अपरेटरहरुले दैनिकरुपमा नयाँ आईएमईआई नम्बरहरु नियामकलाई पठाउने गर्दछन् र त्यसको आधारमा नियामकले ती आईएमईआईहरु दर्ता भए-नभएको हेर्ने गर्दछ।

“तर यो सबै हालसम्म म्यानुअल हुँदै आएको छ। जबकी उहाँहरुले एमडीएमएसबाट सिधै सबै काम स्वचालितरुपमा गर्नुपर्ने हो,” स्रोतले भन्यो।

स्रोतकाअनुसार यसको लागि एमडीएमएसबाटै लक गरिने सिस्टम हुनुपर्नेमा अहिलेसम्म सिस्टमनै जडान नभएको भन्ने समाचारहरु बाहिर आएपछि नियामक निकायका उच्च अधिकारीहरु दबाबमा परेका थिए। यसबीचमा एमडीएमएसको भेन्डरलाई भुक्तानी गर्ने विवादमा लेखा प्रमुखले नै राजीनामा दिएपछि प्राधिकरण नेतृत्व थप समस्यामा परेको छ।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणले तोक्यो नयाँ लेखा प्रमुख, एमडीएमएसको विवादास्पद भुक्तानीको बाटो खोलिँदै

“एमडीएमएसको बारेमा निरन्तर समाचार आउनु र भुक्तानीमा पनि समस्या भएपछि ‘फोन लक’ गराउने नयाँ बाटो खोजिएको हो,” स्रोतले भन्यो, “तर अझैपनि एमडीएमएसको सिस्टम भने जडान भएको छैन्।”

“अर्बौंको सिस्टम किनेर जडान नगर्ने तर निर्देशनमार्फत नै फोन लक गर्ने भए एमडीएमएसको औचित्य के त ?” स्रोतले दाबी गर्यो, “यो सिधै दूरुपयोग हो।”

यसैगरी प्राधिकरणकै अर्को स्रोतले भने निर्देशन दिएर नै बन्द गराउने अवस्थामा एमडीएमएस प्रणालीनै नचाहिने बताएको छ।

“अपरेटरहरुलाई निर्देशन दिएरै बन्द गराउने भए अहिलेसम्म किन फोनहरुको नेटवर्क बन्द नगरिएको हो ? सँधै यसैगरी बन्द गराउनका लागि एमडीएमएसनै चाहिँदैन्। एमडीएमएस कस्को लागि ल्याईएको हो?”

यो पनि हेर्नुस्-

सामसङ मोबाइलका आयाकर्ताको दबाबले हतारमा एमडीएमएस लागु गर्ने घोषणा गरिएको आरोप

प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार

तपाइको प्रतिक्रिया