Technology Khabar २५ आश्विन २०८०, बिहीबार
काठमाडौं ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले टेरामोस प्रणाली जडान गरेपछि सरकारले कामाउने राजश्वको ग्यारेन्टी खोजेका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको छलफलमा टेरामोस प्रणाली जडान गरेपछि सरकारले कमाउने राजश्व कति हुने र यस खालको ग्यारेन्टी भए नभएको बारेमा पूर्वमन्त्री बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणसँग प्रश्न गरेका हुन्।
“दूरसञ्चार सेवा प्रदायकको राजश्व २०/२२ अर्ब रुपैयाँले घटेकोमा प्राधिकरणको अध्यक्ष (पुरुषोत्तम खनाल) एकदमै आत्मविश्वास देखिनु भएको छ। २/३ अर्बको टेरामोस ल्याउँदा चमत्कार हुन्छ ? अर्को वर्ष कतिले राजश्व घट्छ भन्नेमा तपाई सुनिश्चित हुनुहुन्छ?,” बास्कोटाले सोधे, “प्रणाली जडान गरिएको अर्को वर्ष २० अर्बले राजश्व बढ्नुपर्छ। त्यसबाट राज्यले कमाउने राजश्व कति हो ग्यारेन्टी छ ?”
यस प्रकारको ग्यारेन्टी सेवा खरिद गर्ने संस्था (नेपाल दूरसञ्चार प्राधिकरण)ले गर्न सक्छ कि सक्दैन भनेर उनले अर्को प्रश्नसमेत गरेका थिए।
समितिमा टेरामोस प्रणाली जडान सम्बन्धि प्रस्तुतिकरण गर्ने क्रममा प्राधिकरणका अध्यक्ष खनालले दूरसञ्चार सेवा प्रदायकले टेरामोस प्रणाली अपनाउन आनाकानी गरिरहेको जानकारी गराएका थिए।
“तपाई (अध्यक्ष खनाल)ले भनेको कुरालाई मान्दा एनसेलले विरोध गर्यो,” बास्कोटाले भने, “उनीहरुले आम्दानी छल्न, पैसा कमाउनका निम्ति सरकारलाई तिर्नु पर्ने नतिर्न र उपभोक्तालाई ठग्न उनीहरुले कोसिस गरे भन्ने मान्न म तयार छु।”
बैठकको क्रममा प्राधिकरणले २२ मिलियन डलर क्षमता भएको कम्पनीसँग २३ मिलियन डलरको खरिद सम्झौता कसरी गरिएको थियो भन्ने पनि उनको जिज्ञासा रहेको थियो। साथै उक्त प्रणालीमा लेबनान स्वयम् आवद्ध छ कि छैन भन्ने बारेमा पिन उनले चासो राखेका थिए।
प्रकाशित: २५ आश्विन २०८०, बिहीबार