कसको अधिनमा छ टेरामोसका उपकरणहरु ? दूरसञ्चार प्राधिकरण भित्रै उब्जियो प्रश्न

  • Technology Khabar | २३ आश्विन २०८०, मंगलवार
कसको अधिनमा छ टेरामोसका उपकरणहरु ? दूरसञ्चार प्राधिकरण भित्रै उब्जियो प्रश्न
लेबनानी कम्पनी भ्यानराइज सलुसन्स एसएएलका प्राविधिक परामर्शदाता मोहम्मद हर्ब्स टेरामोसको उपकरण देखाउँदै। फाइल तस्विरः टेक्नोलोजीखबर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार बेलुका टेरामोस वा टेरामोक्स समेत भनिने प्रणालीको सम्बन्धमा सत्य तथ्य तथा प्राविधिक जानकारी दिने भन्दै आयोजना गरेको कार्यक्रममा आपूर्तिकर्ता लेबनानी कम्पनी भ्यानराइज सलुसन्स एसएएलका प्राविधिक परामर्शदाता मोहम्मद हर्ब्सले उक्त प्रणालीको प्रदर्शनका साथसाथै विभिन्न दाबीसहितको जानकारी समेत दिएका थिए।

उक्त पत्रकार छलफल वा भेटघाटमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा सुरेन्द्रलाल हाडा, निर्देशक विजयकुमार रोय, निर्देशक सन्तोष पौडेललगायतका प्राधिकरणका अधिकारीहरु सहभागी थिए।

सो कार्यक्रम विशेषरुपमा भ्यानराइजको दबाबमा र प्राधिकरण नेतृत्वको पहलमा आयोजना गरिएको स्रोतले बताएको छ। शुरुवातदेखि नै विवादमा पर्दै आएको टेरामोसबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भष्ट्राचारको आशंकामा छानबिन र अनुसन्धान गरिरहेको समयमा सरकार र अख्तियारलाई काउन्टर दिने योजनासहित कम्पनीलाई नै बोलाएर सो कार्यक्रम आयोजना गरिएको स्रोतको दाबी छ।

प्राधिकरणको आमन्त्रणमा गरिएको कार्यक्रममा टेरामोस सिस्टमको एउटा डिभाइस भ्यानराइजका प्राविधिकले प्रदर्शन गर्दै त्यसको कार्यको बारेमा जानकारी दिएका थिए।

सम्बन्धित समाचार-

टेरामोस प्रणालीले कल ट्यापिङ नगर्ने आपूर्तिकर्ता भ्यानराइजको दाबी

यसले, कम्पनीले प्रदर्शन गरेको उपकरण वा विशेष ल्यापटपसहितका टेरामोसका उपकरणहरु हाल कस्को अधिनमा रहेको छ भन्ने प्रश्न उब्जाएको छ। यस्तै प्राधिकरणको अधिनमा रहेको भनिँदै आएको टेरामोसको डिभाइस आपूर्तिकर्ता भ्यानराइजका प्राविधिकको हातमा कसरी पुग्यो भन्ने आशंका प्राधिकरण भित्रै गरिएको छ।

प्राधिकरणकै अधिकारीहरुले यसले गंभिर प्रश्न उब्जाएको र प्राधिकरणले खरिद गरेको भनिएको उक्त डिभाइस कस्को अधिनमा र मातहतमा रहेको छ भन्ने प्रश्न उठाएका छन्।

उनीहरुले दूरसञ्चार प्राधिकरणले टेरामोसको लागि भन्सार शुल्क तिरेर भन्सारबाट छुटाएर ल्याएको भनिएको उक्त डिभाइस प्राधिकरणको अधिनमा हुनुपर्नेमा कसरी प्राविधिकको पहुँचमा पुर्याइयो भन्ने प्रश्न गरेका छन्।

“दूरसञ्चार प्राधिकरणको अधिनमा रहेको भनिएको डिभाइस कसरी भ्यानराइजका प्राविधिकको हातमा पुग्यो ? उनले के आधारमा सो डिभाइस प्रदर्शन गर्ने अधिकार पाए ? यसले प्राधिकरण भित्रै आश्चार्य बनाएको छ,” एक अधिकारीले टेक्नोलोजीखबरसँग भने, “यस्तै हो भने त्यो डिभाइसका पार्टपुर्जाका साथसाथै टेरामोसका अन्य उपकरणहरुको पनि दूरुपयोग र हेरफेर गरिएको हुनसक्छ।अन्य देशहरुमा भए नियामकको उपकरणहरु छुन पनि पाईँदैन्। तर यहाँ भेन्डरकै सिधा पहुँचमा छ।”

यसका साथै, यदि सो उपकरणहरु भ्यानराइजको अधिनमा नै रहेको छ भने त्यसका लागि किन भन्सार राजस्व तिरियो भन्ने प्रश्न समेत आउने उनको भनाई छ।

“हालसम्म ती डिभाइसहरु भ्यानराइजकै अधिनमा राखेर ती प्राविधिकले प्रदर्शन गरिएको भए फरक नपर्ला, यदि त्यसो हो भने भन्सारमा के आधारमा रकम तिरियो भन्ने प्रश्न उठ्नेछ,” उनले दाबी गरे।

स्रोतकाअनुसार भ्यानराइजका ती प्राविधिकलाई बिना कुनै लिखित निर्णय वा बोर्ड बैठकको निर्णय बिना नै प्राधिकरण अध्यक्षले मौखिकरुपमा उक्त डिभाइसमा पहुँच दिएका र प्रस्तुती गर्ने अनुमति दिएका थिए।

प्राधिकरणकै अर्का एक अधिकारीले भने सो उपकरण भ्यानराइजको नभई दूरसञ्चार प्राधिकरणको अधिनमा रहेको जानकारी दिए। “प्राधिकरणले उक्त उपकरणको राजस्व र रकम भुक्तानी गरेर नै आफ्नो अधिनमा ल्याएर दाखिला गरेको हो,” ती अधिकारीले जिकिर गरे, “यो प्राधिकरणकै सम्पत्ति हो। यो प्राधिकरण भित्रै रहेको छ।”

उनकाअनुसार सो कार्यक्रम गर्न र ती प्राविधिकलाई डिभाइसमा पहुँच दिनका लागि अध्यक्ष र सम्बन्धित अधिकारीहरुको अनुमति रहेको थियो।

यस्तै, प्राधिकरण भित्रकै अर्को स्रोतले भने अख्तियारले अघिल्लो साता अनुगमन र छानबिन गरेर गएपछि, लगत्तै उक्त डिभाइस प्रदर्शन गर्नुले थप आशंकित बनाएको बताएको छ।

“शुक्रबार अख्तियारको छानबिन टोलीले बेलुका सो डिभाइस हेरेर जानु र त्यस लगत्तै उक्त डिभाइस नै भ्यानराइजले प्राधिकरण भित्रै प्रदर्शन गरेर बयानबाजी गर्नुले चलखेल भएको स्पष्टै छ। यसमा सबैको मिलेमतो रहेको देखिन्छ,” स्रोतले दाबी गरेको छ।

उक्त पत्रकार सम्मेलनले सञ्चार मन्त्री र सरकारलाई समेत सिधा काउन्टर दिएको स्रोतको भनाई छ।

“टेरामोसलाई हाल रोक्न र कानून बनाएर मात्र लागू गर्नका लागि सञ्चार मन्त्री र संचार मन्त्रालयको निर्देशन, प्राधिकरण बोर्डको निर्देशन, प्रधानमन्त्रीको निर्देशन हुँदा पनि त्यसको विरुद्धमा पत्रकार सम्मेलन गर्नुको उद्देश्य सिधै काउन्टर दिनु हो,” स्रोतले दाबी गर्यो, “यसले सरकार र मन्त्रालय कति निरिह छ भन्ने देखाउँछ।”

उता सञ्चार मन्त्रालय सम्बद्ध स्रोतले भने उक्त विषयलाई नजिकबाट हेरिएको र त्यसलाई गंभिररुपमा लिईएको बताएको छ।

” पत्रकार सम्मेलन गर्ने बारेमा मन्त्रालयका उच्च अधिकारीहरुका साथसाथै मन्त्रीलाई पनि जानकारी थिएन्, समाचार आएपछि मात्र थाहा भयो “स्रोतले भन्यो, ” यो अख्तियारले छानबिन गरिरहेको बेलामा त्यसलाई प्रभावित पार्ने योजना रहेको देखिन्छ।”

प्रकाशित: २३ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार