
काठमाडौं ।
गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा रु. तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरेका छन्।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका यातायात कार्यालयका प्रमुखहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ३० प्रतिशत बढी राजस्व सङ्कलन गरेको तथ्याङ्क प्रस्तुत गरेका हुन्।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेशको आन्तरिक आम्दानीमा ६६ प्रतिशत योगदान गर्ने यातायात कार्यालयलाई प्रविधिमैत्री, स्रोतसाधन सम्पन्न बनाएर छिटो, छरितो सेवा प्रवाह गर्ने वातावरण बनाउन प्राथमिकता दिएको बताए।
“नेपालमै पहिलोपटक यातायात कार्यालय पोखरामा सुरु भएको सवारी चालक अनुमतिपत्र नवीकरणको राजस्व अनलाइनबाट भुक्तानी गर्ने र सवारीसाधनको फाइललाई डिजिटलाइजेसन गर्ने कार्यलाई अन्य कार्यालयमा पनि विस्तार गर्न बजेट विनियोजन गरेका छौँ”, उनले भने, “प्रविधिको प्रयोग गरेर यातायात कार्यालयलाई स्मार्ट बनाउन जोड दिएका छौँ ।”
अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन रकम प्रदान गर्ने, रिक्त दरबन्दीको पदपूर्ति र तत्कालै करारका जनशक्ति व्यवस्थापन गर्ने जानकारी दिँदै मन्त्री जुग्जालीले मन्त्रालयको गतिलाई पक्रेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सफ्टवेयर र सर्भरको समस्याको विषयमा सङ्घीय र प्रदेशका भौतिक मन्त्रालयहरूको समन्वय बैठकको मुद्दा बनाउने बताए। उनले चार वर्षअघि बनेको यातायात नियमावली कार्यान्वयन गर्न कार्यविधिको मस्यौदा तयार पारेको जानकारी दिँदै आर्थिक ऐनको त्रुटिका कारण सवारीसाधन नवीकरण गर्न सिर्जना भएको समस्या समाधानका लागि अन्तरमन्त्रालय समन्वय गर्ने प्रतिबद्धता जनाए।
मन्त्रालयका महाशाखा प्रमुख टीकाराम पौडेलले प्रविधिको प्रयोग गरेर यातायात कार्यालयको सेवालाई सहज र सुधार गर्न प्राथमिकता दिएको जानकारी गराए। प्रविधिको प्रयोगबाट कम जनशक्ति परिचालन गरेर अधिकतम सेवा प्रवाहको प्रयासमा मन्त्रालय रहेको उनले बताए। रासस
प्रकाशित: ४ श्रावण २०८०, बिहीबार