नेपाल टेलिकमको बबरमहल एक्सचेञ्ज अब पूर्णरुपमा अप्टिकल फाइबरमा स्तरोन्नति

  • Technology Khabar | २ श्रावण २०८०, मंगलवार
नेपाल टेलिकमको बबरमहल एक्सचेञ्ज अब पूर्णरुपमा अप्टिकल फाइबरमा स्तरोन्नति

काठमाडौं ।

नेपाल टेलिकमले राजधानीको अर्को एउटा एक्सचेञ्जलाई पूर्णरुपले नवीन प्रविधिबाट सञ्चालनमा ल्याएको छ।

अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने सरकारको अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै कम्पनीले बागमती प्रादेशिक निर्देशनालय मातहत काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गतको बबरमहल एक्सचेञ्जलाई तामाको तारवाला पुरानो प्रविधिको ई१०बी स्वीच (E10B Switch) प्रणालीबाट अप्टिकल फाइबरमा स्तरोन्नति गरेको छ।

बबरमहल एक्सचेञ्ज पूर्णरुपमा फाइबरबाट सञ्चालन गरिएको घोषणा गर्न असार २५ गते दूरसञ्चार कार्यालय बबरमहलमा एक समारोह आयोजना गरिएको थियो।

कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले पुरानो प्रविधिलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गर्न संलग्न बबरमहल एक्सचेञ्जका सबै कर्मचारीका साथै बागमती प्रादेशिक निर्देशनालय र सुन्धारा कार्यालयलाई पनि धन्यवाद दिँदै कम्पनीको अबको योजना भनेको तीव्र रुपमा बजार विस्तार भएको उल्लेख गरे। उनले अत्याधुनिक प्रविधिका सेवाहरुका बारेमा सेवाग्राहीहरुलाई सूचित गराउँदै यसबाट उनीहरुलाई लाभान्वित गराउने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।

एउटै केबलबाट एचडी क्वालिटीको आवाज, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्राप्त गर्न सकिने एफटीटीएच ( FTTH-Fiber To The Home) प्रविधिको व्यापक प्रचार गरी अत्यधिक ग्राहक बनाउन पनि उनले निर्देशन दिए।

प्रबन्ध निर्देशक पौडेलले काठमाडौं उपत्यकाका सबै पुराना प्रविधिका एक्सचेञ्जलाई फाइवरबाट विस्थापित गरी निकट भविष्यमा नै सेवा र प्रविधिको कोणबाट नयाँ चरणमा प्रवेश गर्न लागेकोमा गर्व लागेको पनि जानकारी दिए।

कार्यक्रम प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, मोबाइल सेवा निर्देशनलायकी निर्देशक मिनु प्रधान, वायरलाइन सेवा तथा ग्राहक निर्देशनालयका निर्देशक राधाकृष्ण ढुंगेल, प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशकी निर्देशक सविना मास्के, व्याकबोन प्रसारण निर्देशनालयकी निर्देशक विनिता श्रेष्ठ, प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थितिमा रहेको थियो।

बागमती प्रदेश अन्तर्गत यसअघि नै दूरसञ्चार कार्यालय हात्तिगौंडा र भरतपुरमा तामाको तारवाला प्रविधिलाई फाइबरबाट विस्थापन गरिसकिएको टेलिकमले जनाएको छ।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...